कर्णाली सरकारको नीति कार्यक्रम पारित, अधिकांश कार्यक्रम पुरानै भएको सांसदहरूको आरोप

नीति कार्यक्रममाथिको छलफलमा भाग लिएका प्रदेशसभा सांसदहरूले नीति कार्यक्रममा पुरानै कुरा आएको बताए ।

जेष्ठ २३, २०८३

तृप्ति शाही

Karnali government's policy and program passed, MPs allege that most of the programs are outdated

What you should know

वीरेन्द्रनगर — कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । सरकारले बुधबार ल्याएको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सभामुख नन्दा गुरुङले नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरिन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका प्रदेशसभा सांसदहरूले नीति तथा कार्यक्रममा पुरानै कुरा आएको बताए । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमहरू आएका प्रतिप्रक्षी देखी सत्तापक्षका सांसदहरूले बताए । यसलाई थप सुधार गर्नपर्ने धारणा उनीहरूको थियो ।

पूर्व अर्थमन्त्री समेत रहेका सांसद विन्दमान विष्ट र वेदराज सिंहले विगतका कार्यक्रम दोहोरिएको बताए । लोकप्रिय कार्यक्रमहरू हराएको उनीहरूको भनाइ थियो । सधैं नीति तथा कार्यक्रममा आउने कार्यक्रमहरू कार्यान्वयनमा भने नजाने गरेको विष्टले बताए । उनका अनुसार सुर्खेत विमानस्थल नीति कार्यक्रममा समेटिने तर कार्यान्वयमा नजाने कुरा फेरि दोहोरिएको छ । 

प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाहीले यो नीति तथा कार्यक्रम पूर्णरुपमा ‘कपीपेस्ट’ बताए । पूर्वमुख्यमन्त्री राजकुमार शर्मा, हिक्मत विष्ट, जानकी सिंह लगायतले कार्यक्रम आइरहने तर कार्यान्वयन नहुने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

लोकप्रिय ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमबारे अधिकांश सांसदहरूले प्रश्न उठाए । लोकप्रिय कार्यक्रम हरायकोमा चिन्ता व्यक्त गरे । महेन्द्रबहादुर शाही मुख्यमन्त्री भएका बेला आएको यो कार्यक्रम पछिल्लो समय अलपत्र परेको थियो । यो नीति तथा कार्यक्रममा समावेश नै भएन ।

सांसदले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री यामलाल कँडेलले दिए । जवाफ दँदै उनले भने,‘एउटै प्रस्तोता वा नेतृत्व भइसकेपछि त्यसले ल्याएको नीति तथा कार्यक्रमलाई अब कपीपेस्ट भन्नुस् वा अरू केही भन्नुस् मेरो कुनै टिप्पणी छैन ।’ आफू सत्तामा हुँदा त्यही ल्याउँदा क्रान्तिकारी हुने तर सत्ता बाहिर हुँदा धङधङी देखाइहाल्ने प्रवृत्ति रहेको बताए । 

बरू सांसद र नेताले बोल्ने कुरामा खासै परिवर्तन नभएको उनले बताए । विगतको भन्दा केही सच्याएर ल्याएको र अझ सच्चिएर जानैपर्ने उनको भनाइ छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully