बिहारका राज्यपाल लेफ्नेन्ट जनरल सैय्यद अता हसनैनले शुक्रबार सिक्किमकी नेपालीभाषी मीनाक्षी मदन राईलाई पटना उच्च अदालतको ४८औं मुख्य न्यायाधीशको शपथ गराएका हुन् ।
What you should know
विराटनगर — भारतीय न्यायालयको इतिहासमा पहिलो पटक नेपालीभाषी महिला उच्च अदालतको मुख्य न्यायाधीश बनेकी छन् ।
बिहारका राज्यपाल लेफ्टिनेन्ट जनरल सैय्यद अता हसनैनले शुक्रबार सिक्किमकी नेपालीभाषी मीनाक्षी मदन राईलाई पटना उच्च अदालतको ४८औं मुख्य न्यायाधीशको शपथ गराएका हुन् । मुख्य न्यायाधीशको उच्च ओहदामा पुग्ने उनी पहिलो नेपालीभाषी हुन् ।
सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (पीएस गोले)ले सामाजिक सञ्जालमार्फत बधाई दिँदै उनको नियुक्ती सिक्किमका लागि मात्र नभई सम्पूर्ण नेपालीभाषी समुदायका लागि गौरवको क्षण भएको जनाएका छन् ।
राष्ट्रपति कार्यालयबाट २ जुन २०२६ मा उनलाई औपचारिक नियुक्ति गरेको थियो । उनी सिक्किम उच्च अदालतमा पनि न्यायाधीश बन्ने पहिलो महिला हुन् । १५ अप्रिल २०१५ मा सिक्किम उच्च अदालतको न्यायाधीश बनेकी थिइन् । उनीसँग सिक्किम उच्च अदालतमा पाँच पटक कार्यवहाक मुख्य न्यायाधीशको जिम्मेवारी सम्हालेको अनुभव छ ।
१२ जुलाई १९६४ मा गान्तोकमा जन्मिएकी राई सिक्किमका पूर्व गृहसचिव मदन मोहन रसाइली र शिक्षक रविमाला मोक्तानकी छोरी हुन् ।
प्रारम्भिक शिक्षा गान्तोकको ताथाङ्चेन स्कूलबाट सुरु गरी पछि दार्जिलिङको खरसाङ डाउनहिल स्कुलमा अध्ययन गरिन् । सन् १९८३ मा ताशी नाम्ग्याल एकेडेमी, गान्तोकबाट कक्षा १२ पूरा गरेपछि उनले दिल्ली विश्वविद्यालयको लेडी श्रीराम कलेजबाट राजनीति शास्त्र अध्ययन गरिन् । त्यसपछि क्याम्पस ल–सेन्टर, दिल्ली विश्वविद्यालयबाट एलएलबी पूरा गरिन् ।
सन् १९९० मा उनले दिल्ली बार एसोसिएसनमा अधिवक्ताका रूपमा नाम दर्ता गरी दिल्ली उच्च अदालत र सर्वोच्च अदालतमा अभ्यास सुरु गरेकी थिइन् ।
पछि उनी सिक्किम न्यायिक सेवामा प्रवेश गर्दै न्यायिक मजिस्ट्रेट (प्रथम श्रेणी) का रूपमा नियुक्त भइन् । त्यसपछि क्रमशः मुख्य न्यायिक मजिस्ट्रेट, न्यायाधीश हुँदै सिक्किम उच्च न्यायालयको पहिलो महिला न्यायाधीश बनेर इतिहास रचिन् ।
यसअघि भारतीय न्याय क्षेत्रमा दुई जना नेपालीभाषी मात्रै न्यायाधीश बनेका थिए । कालिम्पोङका रामकृष्ण शर्मा कोलकाता उच्च अदालतका न्यायाधीश बनेका थिए । सिक्किमका आनन्द पी सुब्बा सिक्किम र गुवाहाटी उच्च अदालतको न्यायाधीश भएका थिए । ‘उच्च अदालतको न्यायाधीश बन्ने पहिलो नेपालीभाषी मिनाक्षी मदन राई नै हो,’ दार्जिलिङका लेखक ज्ञानेन्द्र अर्यालले भने, ‘यसअघि मुख्य न्यायाधीश कोही पनि नेपालीभाषी भएका छैनन् ।’
