मौरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो ।
What you should know
काठमाडौँ — रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किर्एलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँदिल्ली जाने भएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीनदिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ । यसअघि उनी मौरिससमा आयोजित नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएका थिए । त्यस क्रममा उनले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गरेका थिए । मौरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो । नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाडौंमा विस्तृत रूपमा छलफल गर्न सहमतिसमेत भएको थियो ।
जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिस्रीलाई काठमाडौं पठाउने प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रोटोकल’ कारण देखाउँदै भेट्न अस्वीकार गरेपछि मिस्रीको भ्रमण स्थगित भएको थियो । यहीबीचमा भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश–मानसरोवर यात्रा पुनः सुरु गर्ने निर्णय गरेपछि विवाद बल्झिएको छ । मिस्रीको काठमाडौं भ्रमण स्थगित भएपछि खनाललाई पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सहभागी हुन दिल्ली निमन्त्रणा गरिएको थियो । तर केही अफ्रिकी मुलुकमा इबोलाको प्रकोप देखिएपछि १ जुन (१८ जेठ) का लागि निर्धारित उक्त सम्मेलन स्थगित भयो ।
परराष्ट्रमन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अन्यसँग छलफल गर्नेछन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि भारतीय पक्षलाई अनुरोध पठाइएको छ । काठमाडौं र दिल्लीस्थित स्रोतका अनुसार खनालले विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल र अन्य उच्च अधिकारीसँग भेट गर्नेछन् । दिल्लीबाट बीबीसी नेपाली सेवासँग कुरा गर्दै रास्वपा सांसद दीपक बोहराले सभापति लामिछाने फर्किएलगत्तै मन्त्री खनाल भारत जाने पुष्टि गरे । खनालको भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरको काठमाडौं भ्रमणका साथै दुवै पक्षबाट हुन सक्ने उच्चस्तरीय भ्रमणको सम्भावनामाथि छलफल हुनेछ ।
परराष्ट्रमन्त्री खनालले मन्त्रीहरूसँग विभिन्न चरणमा छलफल गरी भारतीय सहयोगमा सञ्चालित आयोजनाहरूको अवस्था र नेपालका प्राथमिकताबारे छलफल गरिसकेका छन् । खनालको दिल्ली भ्रमणका क्रममा कनेक्टिभिटीदेखि सीमा विवाद समाधान गर्नेसम्मका विषयमा संवाद हुनेछ । दुई पक्षबीच पञ्चेश्वर, पूर्व–पश्चिम रेलवे, जनकपुर–अयोध्या रेलवे, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान तथा व्यापार र पारवहनसँग सम्बन्धित विषयमा छलफल गर्ने तयारीसमेत छ । पछिल्लो समय सीमा विवादका कारण द्विपक्षीय सम्बन्धमा देखिएको अविश्वास हटाउने विषयमा खनाल र जयशंकरबीच छलफल हुनेछ ।
परराष्ट्रमन्त्री खनालले वाणिज्यमन्त्री गोयलसँग पेट्रोलियम पाइपलाइन विस्तार, नेपालमा चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवा र भारतमा नेपालीलाई भुक्तानीका लागि ‘क्यूआर’ कार्यान्वयन गर्ने विषयमा छलफल गर्ने सम्भावना रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।
