कृष्णसारलाई चितवन ल्याउन रुख तगारो

बर्दिया र शुक्लाफाँटाबाट कृष्णसार ल्याउन रत्ननगर नगरपालिकाले तीन करोड खर्चेर पूर्वाधार तयार गरे पनि चितुवाको जोखिमका कारण घेरबार आसपासका रुख हटाएर मात्रै ल्याउन प्राविधिकले सुझाव दिएका छन् ।

जेष्ठ १९, २०८३

रमेशकुमार पौडेल

Tree trunks to bring black deer to Chitwan

What you should know

चितवन — पश्चिमका दुई संरक्षित क्षेत्र बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्रशस्त पाइने वन्यजन्तु कृष्णसार पूर्वतिर ल्याउने योजना बनेको वर्षौं भयो । वनमन्त्री गीता चौधरीले आफ्नो पहिलो चार निर्णयभित्र कृष्णसार स्थानान्तरणको विषय पनि समेटेकी छन् ।

यहाँको रत्ननगर नगरपालिकाले बर्दिया र शुक्लाफाँटा निकुञ्जबाट चितवनको टिकौली चौर छेउको बरण्डाभार जंगलमा कृष्णसार ल्याउने तयारी ७ वर्षअघि नै सुरु गरेको थियो । कृष्णसार राख्न वन क्षेत्रमा बलियो तारबार गर्ने, घाँस र पानीको प्रबन्ध मिलाउने जस्ता काम पूरा भएका छन् । मेयर प्रल्हाद सापकोटाका अनुसार रत्ननगर नगरपालिकाले करिब तीन करोड रुपैयाँ खर्च गरेर पूर्वाधारहरु तयार गरिसकेको छ । तर कृष्णसार ल्याउने साइत अझै जुरेको छैन । 

कृष्णसारलाई चितुवाले आहारा बनाउने गर्छ । कृष्णसार राख्ने क्षेत्रमा चितुवा पस्ने डर कायमै हुँदा कृष्णसार ल्याउनेबारे अलमल भएको पाइएको छ । ‘तारबारको आडमा रहेका रुखबाट चितुवा भित्र छिर्ने खतरा देखियो । ती रुख काटेर हटाएपछि ल्याउन उपयुक्त हुन्छ,’ डिभिजन वन कार्यालय चितवनका प्रमुख डिभिजनल वन अधिकृत (डिएफओ) विष्णुप्रसाद आचार्यले भने ।

वनमन्त्री चौधरीले कृष्णसार स्थानान्तरणको औपचारिक निर्णय गरेपछि सरकारले प्राविधिक समिति बनाएको थियो । डिएफओ आचार्य पनि समावेश भएको तीन सदस्यीय प्राविधिक समितिले अन्य कुरा सामान्य भए पनि खतरा हुने रुख हटाउनु पर्ने सुझाव दिएको छ । ‘घाँसे मैदान, पानी खाने ठाउँ, तारबार जस्ता विषयमा त्यस्तो समस्या देखिएन । रुखको बारेमा भने विश्वस्त हुने आधार भएन,’ उनले भने । 

इनक्लोजर (तारबार) भित्र र तारबारबाहिरका रुख नजिकनजिक भएको उनले बताए । चितुवा रुख चढ्न सिपालु र छलाङ पनि लगाउने जनावर भएका कारण रुख हटाउन आवश्यक देखेको उनले बताए । चितुवा कृष्णसारको मुख्य दुश्मन जस्तै भएको डिएफओ आचार्य बताउँछन् । बाहिरबाट ल्याएर राख्ने कृष्णसारको सुरक्षा हुनुपर्ने भएका कारण प्राविधिक भएका नाताले आफु रुख हटाउनु पर्ने पक्षमा उभिएको उनले बताए । कृष्णसार राख्न यहाँ झण्डै २० हेक्टर जमिनमा तारबार गरिएको छ । तारबार बाहिरका १०३ र तारबारभित्र रहेका २९ वटा रुख हटाउन आवश्यक देखेको उनले बताए । ती प्राय: सालका ठूला र पुराना रुख छन् । सालका रुख हटाउन कम्तीमा मन्त्रीस्तरीय निर्णय चाहिन्छ । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा सबै प्रक्रिया पूरा गरेर आउँदो असारभित्रै कृष्णसार टिकौली ल्याउने तयारी भएको बताउँछन् । 

डिएफओ आचार्यले बर्दिया र शुक्लाफाँटा निकुञ्जबाट १२ पोथी र ६ भाले गरेर १८ वटा कृष्णसार चितवन ल्याइने बताए । धेरै समयअघिदेखि ल्याउने तयारी भइरहेकाले अब चाँडोभन्दा चाँडो ल्याउन आवश्यक भएको मेयर सापकोटाले बताए । रत्ननगर नगरपालिकाले यसलाई पर्यटकीय क्षेत्रका रुपमा पनि विकास गर्ने योजना बनाएको छ । ‘सबै पूर्वाधार बनायौं । सुरक्षा र सञ्चालन पनि हामी गर्छाैं भनेका छौं । पर्यटनका लागि पनि यो क्षेत्र प्रयोग गर्न सकिन्छ,’ मेयर सापकोटाले भने । हावापानी, भूबनोटका हिसाबले कृष्णसारका लागि चितवन उपयुक्त छ । एक क्षेत्रका जीवहरु उपयुक्त अर्को बासस्थलमा स्थानान्तरण गर्न सकिने नीति छ ।

कहाँ गए बाह्रसिंगा र अर्ना 
चितवनमा १० वर्षअघि कोशी टप्पुबाट अर्ना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाह्रसिंगा ल्याएर तारबार (इनक्लोजर) गरेको वन क्षेत्रमा राखिएको थियो । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको पुरानो पदमपुर क्षेत्रमा इनक्लोजर थियो । तर उक्त इनक्लोजरमा अहिले न अर्ना छन् न बाह्रसिंगा । २०७३ को हिउँदमा अर्ना ल्याउन सुरु भएको थियो । २०७४ वैशाखमा बाह्रसिंगा पनि थपिए ।

कोशीबाट १२ र ललिततपुरस्थित चिडियाखानाबाट ३ गरेर १५ वटा अर्ना चितवन ल्याएर इनक्लोजरमा राखिएको थियो । त्यहाँ आएपछि अर्नाका ७ बच्चा पनि जन्मे । तर बाढी पस्ने, बाघ पनि इनक्लोजरमा छिरेर मार्ने गरेपछि ६ वर्षभित्रै २०७९ सालमा सबै अर्ना मरेका थिए । चितवनमा शुक्लाफाँटाबाट ७ वटा बाह्रसिंगा ल्याइएको थियो । दुई वटा बाह्रसिंगा ल्याउने बित्तिकै मरेका थिए । 

त्यसैगरी २०७४ को बाढीले थप बाह्रसिंगा मरेका थिए । त्यो बाढीमा सबै बाह्रसिंगा मरेको ठानिए पनि गत वर्ष जेठमा एउटा बाह्रसिंगा कुमरोज वन क्षेत्रमा देखा परेको थियो । अर्ना र बाह्रसिंगाको यस्तो दु:खद पक्षका कारणले पनि कृष्णसार स्थानान्तरणअघि सुरक्षाका बारेमा कुनै कमजोरी गर्न नहुनेमा प्राविधिकहरु एकमत छन् । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully