प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय स्वाभिमानमाथिको ठूलो कुठाराघात : नेपाल बार

बारले भनेको छ- ‘खेती कमाइ वा नदीको धार परिवर्तनले हुने प्राविधिक ‘क्रस होल्डिङ’ लाई राज्यस्तरबाट भएको रणनीतिक भूमि अतिक्रमणसँग तुलना गर्नै मिल्दैन ।’

जेष्ठ १९, २०८३

दुर्गा दुलाल

Prime Minister's statement a major blow to national pride: Nepal Bar

What you should know

काठमाडौँ — कानुन व्यवसायीहरुको संगठन नेपाल बार एसोसिएसनले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेकाे भनी दिएकाे अभिव्यक्ति राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाउने काम गरेको  टिप्पणी गरेको छ ।

बारका महासचिव केदार कोइरालाले एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताजस्ता अत्यन्त संवेदनशील विषयमा  प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभाको बैठक चलिरहँदा प्रश्नोत्तरका क्रममा व्यक्त गरेको धारणााप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । 

‘नेपालको भूमि, सीमा र राष्ट्रिय स्वाधीनतासम्बन्धी विषय सम्पूर्ण नेपाली जनताको साझा राष्ट्रिय विषय हो । यस्तो संवेदनशील राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट दिनुभएको गैरजिम्मेवार अभिव्यक्तिले देशको स्थापित अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाउने काम गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता महत्वपूर्ण विषयमा भावनात्मक वा हठात् निर्णयका आधारमा नभई ऐतिहासिक तथ्य, अकाट्य प्रमाण, नाप–नक्सा, सन्धि–सम्झौता, जलविज्ञानजस्ता विषयमा आधारित भई दुवै देशका प्राविधिकहरुले टुङ्ग्याउने विषय हो ।’ 

नेपालको ऐतिहासिक नक्सा, दस्तावेज, जलविज्ञान तथा भूगोलसम्बन्धी प्रमाणहरुका आधारमा सिमा विवादका समाधान गरिनु पर्ने बारको भनाइ छ । 

अन्तरदेशीय रुपमा उत्पन्न हुने सिमा विवादको समाधान ऐतिहासिक तथ्य, प्रमाण, कूटनीतिक संवाद र अन्तर्राष्ट्रिय मान्यताका आधारमा हुनपर्नेमा प्रधानमन्त्रीको 'नेपालले पनि सीमा मिचेको छ'’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति हलुका टिप्पणी र राष्ट्रिय हित र स्वाभिमान माथिको ठूलो कुठाराघात भएकाे भनेकाे छ । 

‘खेती कमाइ वा नदीको धार परिवर्तनले हुने प्राविधिक ‘क्रस होल्डिङ’ लाई राज्यस्तरबाट भएको रणनीतिक भूमि अतिक्रमणसँग तुलना गर्नै मिल्दैन । यस्ता विषयमा सामान्य कूटनीतिक ज्ञान समेत नराखी गरिएको अभिव्यक्ति खेदजनक छ,’ बारको विज्ञप्तिमा भनिएको छ ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully