नेपाली समयअनुसार धेरैजसो खेलहरू मुख्यतया मध्यरात १२:४५ बजेदेखि बिहान ६:४५ बजेसम्म र कतिपय अवस्थामा बिहान १:४५ बजेदेखि ८:४५ बजेसम्म चल्नेछन् ।
काठमाडौँ — फिफा विश्वकप २०२६ को लागि उत्साह बढ्दै जाँदा नेपालको हस्पिटालिटी (आतिथ्य) उद्योग भने उत्साहसँगै अन्यौलमा छ ।
विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतिस्पर्धा परम्परागत रूपमा रेस्टुरेन्ट, पब, स्पोटर्स बार र रात्रिकालीन व्यवसायहरूका लागि वरदान साबित हुँदै आएको छ, यस प्रतिस्पर्धाले खाना र पेय पदार्थका साथ साथीभाइसँग खेल हेर्न उत्सुक भीडलाई आकर्षित गर्ने गर्दछ ।
तर यस वर्ष, खेलतालिकाको चुनौतीपूर्ण समयले गर्दा व्यवसायीहरूको अपेक्षालाई केही कम नै छ । किनभने, अधिकांश खेलहरू मध्यरातपछि सुरु भएर बिहानपखसम्म चल्ने तालिका रहेको छ ।
फिफा विश्वकपको परिभाषा एउटा खेलकुद प्रतियोगिताका रुपमा मात्रै सिमित छैन । हस्पिटालिटी, मनोरञ्जन, यातायात र खुद्रा व्यापारसँग जोडिएका व्यवसायहरूका लागि यो एउटा प्रमुख आर्थिक अवसर पनि बन्दै आएको छ ।
महिना दिनसम्म चल्ने यस प्रतियोगिताको अवधिमा नेपालका फुटबल प्रशंसकहरू पनि रेस्टुरेन्ट र बारहरू जाने गर्छन् । यसले उत्सवमय वातावरण सिर्जना हुन्छ र यसको फाइदा जर्सी विक्रेता, पेय पदार्थ कम्पनीदेखि लिएर ट्याक्सी व्यवसायी र होटल व्यवसायीसम्म सबैलाई पुग्छ ।
तथापि, क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका (अमेरिका) द्वारा संयुक्त रूपमा आयोजना हुन लागेको २०२६ को प्रतियोगिताको समयले एउटा छुट्टै चुनौती खडा गरेको छ ।
प्रतियोगितामा सहभागी टोलीको संख्या ३२ बाट बढाएर पहिलोपटक ४८ पुर्याइएको छ । जुन ११ देखि जुलाई १९ सम्म खेलहरु चल्नेछ ।मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेल मेक्सिको सिटीको प्रतिष्ठित इस्टाडियो एज्टेका रङ्गशालामा खेलिनेछ ।
नेपाली समयअनुसार धेरैजसो खेलहरू मुख्यतया मध्यरात १२:४५ बजेदेखि बिहान ६:४५ बजेसम्म र कतिपय अवस्थामा बिहान १:४५ बजेदेखि ८:४५ बजेसम्म चल्नेछन् । 'आफ्नो निद्रा त्यागेर नेपाली समर्थकहरु विश्वकप हेर्न तयार होलान् त ?' धेरै होटल तथा रेस्टुरेन्ट व्यवसायी आफैंसँग सोधिरहेका छन् ।
काठमाडौं उपत्यकाभर थुप्रै रेस्टुरेन्ट, होटल र खाद्यान्न तथा पेय पदार्थका आउटलेटहरू सञ्चालन गर्ने लाभी हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत एवं संस्थापक सुदर्शन पौडेलले भने, ‘समय तालिकाका कारण यसपल्ट हामी ठूलो व्यापारको अपेक्षा गरिरहेका छैनौं ।’
‘विद्यार्थीहरूबाहेक, अधिकांश मानिसहरू भोलिपल्ट काममा जानुपर्ने हुन्छ । ढिलो रात्रिकालीन खेलहरू उनीहरूका लागि चुनौतीपूर्ण हुनेछन् ।’ प्रतियोगिताको पछिल्लो चरणहरूमा (नकआउट चरणहरूमा) खेलहरू अझ रोचक बन्दा प्रशंसकहरूको चासो उत्कर्षमा पुग्ने र दर्शकहरूको उपस्थितिमा सुधार आउन सक्ने पौडेलले बताए ।
जुनसुकै समयमा आयोजना भएपनि जुलाई ९ देखि ११ सम्म तय गरिएका क्वाटरफाइनल खेलहरूले ठूलो संख्यामा भीड आकर्षित गर्ने अपेक्षा गरिएको छ । यसका लागि व्यवसायीहरूले आफ्ना तयारीहरू गरिरहेका छन् ।प्रतियोगिता अवधिभर दरबारमार्ग, ठमेल, पक्नाजोल, ताहाचल, बानेश्वर, सानेपा, झम्सीखेल र जावलाखेलजस्ता क्षेत्रहरूमा फुटबल प्रेमीहरूको मुख्य जमघट हुने अपेक्षा गरिएको छ ।
धेरै व्यवसायीहरूले नेपालको दुई दिने साप्ताहिक बिदा (शनिबार र आइतबार) मा पनि आशा राखेका छन् । प्रशंसकहरू शुक्रबार र शनिबारको रात ढिलासम्म बाहिर बस्न बढी इच्छुक हुन सक्ने उनीहरुको बुझाई छ ।फुटबलको यो क्रेजमा बाजी लगाउने व्यवसायहरूमध्ये देशकै सबैभन्दा बढी चिनिएका रेस्टुरेन्ट चेनहरूमध्ये एक 'बर्गर हाउस' पनि रहेको छ।
यस कम्पनीले एयरपोर्ट, बालुवाटार र ठमेलका आफ्ना आउटलेटहरू प्रतियोगिता अवधिमा चौबीसै घण्टा (दिन–रात) सञ्चालन गर्ने योजना बनाएको छ।
'समय तालिका जस्तो भए तापनि हामी ग्राहकको संख्यामा ३० देखि ४० प्रतिशतले वृद्धि हुने अपेक्षा गरेका छौं' सञ्चालक वसन्त लामाले भने । 'फुटबललाई संसारभरि नै माया गरिन्छ, र नेपालीहरू फुटबलका कट्टर समर्थकहरु हुन् । च्याम्पियन्स लिगको समयमा समेत ग्राहकहरूको उपस्थिति निकै बलियो रहेको थियो ।'
खेल चल्ने रातहरूमा प्रशंसकहरूलाई आकर्षित गर्न बर्गर हाउसले पेय पदार्थहरूमा विभिन्न अफरहरु पनि ल्याउने तयारी गरिरहेको छ । त्रिसारा रेस्टुरेन्ट पनि यसरी नै आशावादी देखिएको छ ।
नेपालको बढ्दो खेलकुद संस्कृति र परिवर्तन हुँदै गइरहेको बाहिर खाने बानीलाई उल्लेख गर्दै सञ्चालक शोभन मालाकारले सामान्य समयको तुलनामा व्यापारमा करिब २० प्रतिशतले वृद्धि हुने अपेक्षा गरेका छन् ।
'हामीसँग फुटबललाई निकै उत्सुकताका साथ पछ्याउने युवाहरूको ठूलो संख्या छ,' मालाकारले भने ।
'यसका साथै, बाहिर गएर खाने चलन सबै उमेर समूहका मानिसहरूमाझ उत्तिकै लोकप्रिय बन्दै गएको छ । यो अब युवाहरूको मात्र गतिविधिमा सीमित रहेन,’ उनले थपे । मालाकारले विश्वकपको समयमा बियरको खपतमा ठूलो वृद्धि हुने अपेक्षा गरिएको बताए ।
विश्वव्यापी आपूर्तिमा आएको अवरोध र पश्चिम एसियाको तनावका कारण लागत बढे तापनि रेस्टुरेन्टहरूले धेरै रेस्टुरेन्टले मेनु बढाएका छैनन्, ग्राहकहरूलाई खर्च गर्न प्रोत्साहित गर्ने एउटा मुख्य कारक यही हुनसक्ने व्यवसायीहरु बताउँछन् ।
'मेनुको मूल्य बढाउने हाम्रो कुनै योजना छैन,' मालाकारले भने । ठमेलमा अवस्थित सहरकै लोकप्रिय क्लबहरूमध्ये एक 'लर्ड अफ ड्रिंक्स' (एलओडी) ले यस वर्षको विश्वकप प्रदर्शन (स्क्रिनिङ) लागि तयारी गरिसकेको छ ।
'गत विश्वकपको उत्साह र भीडभाड राम्रो थियो । हामीले यस वर्ष पनि खेलहरू स्क्रिनिङ गर्दैछौं,’ एलओडीका फ्रन्ट डेस्क अफिसर सहदेव सेढाईंले भने, 'हामी बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म खुल्ने गर्छौ र अधिकांश खेलहरू सोही समयमा हुने भएकाले गत पटकको तुलनामा व्यापार अझ बढ्ने अपेक्षा गरेका छौं ।’
लाभी हस्पिटालिटी ग्रुपका लागि फुटबल र खेलकुदको स्क्रिनिङ व्यवसायिक मोडेलको एउटा प्रमुख हिस्सा बन्दै आएको छ । पौडेलका अनुसार नेपाली खेलाडीहरू सहभागी हुने खेलकुद गतिविधिहरूले प्रायः असाधारण रूपमा दर्शकहरूको उपस्थिति (भीड) जुटाउने गर्दछ ।
‘अल्टिमेट फाइटिंग च्याम्पियनसिप’ (युएफसी) मा नेपाली फाइटर रबिन्द्र धन्तको लोकप्रियता र ‘नेपाल प्रिमियर लिग’ (एनपिएल) का खेलहरूले ठूलो संख्यामा भीड आकर्षित गरेको उदाहरण उनले प्रस्तुत गरे ।
‘माग यति धेरै हुन्छ कि हामीले अक्सर २० भन्दा बढी टेबलहरू थप्नुपर्ने हुन्छ,' उनले भने ।
खेलकुदप्रतिको लोकप्रियता बढ्दै गर्दा सामूहिक रूपमा खेल हेर्ने अनुभव लिन चाहने युवा उपभोक्ताहरुलाई लक्षित गरेर खेलकुदकै विषयवस्तुमा आधारित (स्पोटर्स–थिम) रेस्टुरेन्टहरू पनि उदय हुन थालेका छन् ।
'सामान्यतया बाहिर ननिस्कने मानिसहरू पनि ठूला खेलकुद प्रतियोगिताहरूका बेला साथीभाइसँग जम्मा हुन र त्यहाँको माहौलको आनन्द लिन चाहन्छन,' पौडेलले भने ।
यसपटकको विश्वकपको असामान्य खेलतालिकासँग अनुकूल हुनका लागि लाभी हस्पिटालिटी ग्रुपले आफ्ना केही छानिएका आउटलेटहरूमा प्रत्यक्ष खेल प्रदर्शन (लाइभ स्क्रिनिङ) का साथै ब्रेकफास्टको व्यवस्था ल्याउने योजना बनाएको छ ।
ठमेलमा रहेका 'लाभी गार्डन' र 'जिग्री सेकुवा' बिहानपख हुने खेलहरूका लागि खुला रहनेछन् भने झम्सीखेल, बालुवाटार र इमाडोलका आउटलेटहरूले चर्चित एवं उच्च–स्तरीय नकआउट खेलहरूमा ध्यान केन्द्रित गर्ने बताएका छन् । यसका बाबजुद सबै व्यवसायीले यसलाई व्यवहारिक वा फाइदाजनक देखिरहेका छैनन् ।
पारिवारिक वातावरण भएका (फेमिली) रेस्टुरेन्टहरूका लागि बिहान उज्यालो नहुन्जेलसम्म पसल खोल्नुको कुनै व्यावसायिक औचित्य देखिँदैन ।
'हामी बेलुका १०:३० बजे बन्द गर्छौं र हामी स्पोर्टस् बार भन्दा पनि पारिवारिक भोजन गराउने रेस्टुरेन्ट हौं,’ वालनट बिस्ट्रोका सञ्चालक आकाश पौडेलले भने ।
'धेरैजसो खेलहरू मध्यरातपछि सुरु हुने भएकाले हामीले यस वर्ष लाइभ स्क्रिनिङ आयोजना नगर्ने निर्णय गरेका छौं,’ उनले थपे । अन्य कतिपय व्यवसायीहरू भने ’पर्ख र हेर’ को रणनीति अपनाइरहेका छन् ।
झम्सीखेलस्थित 'मोक्ष' का प्रबन्धक सुवास रोकाका अनुसार अहिलेकै अवस्थामा हेर्ने हो भने विश्वकपका अधिकांशः खेल सुरु हुँदासम्म रेस्टुरेन्ट बन्द भइसकेको हुन्छ । 'यदि पर्याप्त माग आयो भने, हामी थप कर्मचारीहरूको व्यवस्था गरेर राति १ बजेका खेलहरूका लागि पनि खुला रहन सक्छौं', उनले भने, 'तर पर्याप्त ग्राहकहरू वास्तवमै आउनेछन् वा छैनन् भन्नेमा हामी अझै निश्चित छैनौं ।'
व्यावसायिक निर्णयहरूलाई प्रभाव पार्ने एउटा प्रमुख कारक सरकारी नीति पनि हो। ठमेलमा व्यवसायहरू चौबीसै घण्टा सञ्चालन गर्न अनुमति दिइएको छ । तर अन्य ठाउँहरूमा भने धेरै रेस्टुरेन्ट र बारहरू सामान्यतया बेलुका १० देखि ११ बजेको अवधिमा बन्द गर्नुपर्ने हुन्छ । हस्पिटालिटी व्यवसायीहरूलाई यस प्रतियोगिताको अवधिमा (रातभर खोल्नका लागि) सरकारबाट अस्थायी छुट पाइन्छ कि भन्ने आश पनि छ ।
