सगरमाथामा फेरि एक नेपाली गाइड बेपत्ता 

यस वर्षको वसन्तकालीन हिमाल आरोहण सिजनमा सगरमाथा र मकालु क्षेत्रमा गरी हालसम्म ७ आरोही तथा गाइडको मृत्यु भइसकेको छ ।

जेष्ठ १९, २०८३

सुरज कुँवर

Another Nepali guide goes missing on Mount Everest

What you should know

काठमाडौं — यस वर्षको वसन्तकालीन आरोहण सिजनमा सगरमाथामा भएका मृत्यु र बेपत्ताको घटना सार्वजनिक हुने क्रममा रोकिएको छैन । यसैबीच सगरमाथा आरोहण गराएर फर्किने क्रममा एक नेपाली गाइड बेपत्ता भएको प्रारम्भिक विवरण मंगलबार सार्वजनिक भएको छ । 

प्राप्त विवरणअनुसार, बेपत्ता हुने गाइड ओखलढुंगाका दावा शेर्पा हुन् । उनी हिमालयन ट्राभर्स एडभेन्चर प्रालिसँग आबद्ध रहेर सगरमाथा अभियानमा खटिएका थिए । 

कम्पनीका अनुसार उनले एक पोलिस नागरिकलाई सगरमाथा आरोहण गराउन गएका थिए ।

दावा शेर्पा र ती विदेशी आरोहीले जेठ १४ गते सगरमाथाको चुचुरो नजिक पुगेका थिए । आरोहण सम्पन्न नगरी फर्किएको दोस्रो दिन शुक्रबार (१५ जेठ) तेस्रो शिविर (क्याम्प-३) क्षेत्र आसपासबाट शेर्पा बेपत्ता भएको जानकारी उक्त पोलिस आरोहीले हिमालयन ट्राभर्स एडभेन्चर प्रालिलाई दिएका छन् । यद्यपि, घटनाबारे विस्तृत विवरण आइसकेको छैन । 

बेपत्ताबारे जानकारी लिन खोज्दा हिमालयन ट्राभर्स एडभेन्चरका सञ्चालक दावा शेर्पाले गाइडको खोजीसम्बन्धी बैठकमै रहेको भन्दै थप विवरण दिन अस्वीकार गरे ।

पर्यटन विभागले पनि घटनाबारे हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरेको छैन । यस वर्षको वसन्तकालीन हिमाल आरोहण सिजनमा सगरमाथा र मकालु क्षेत्रमा गरी हालसम्म ७ आरोही तथा गाइडको मृत्यु भइसकेको छ । 

यस्तो अवस्थामा अर्को नेपाली गाइड बेपत्ता भएको खबरले पर्वतारोहण क्षेत्रलाई थप चिन्तित बनाएको व्यवसायीहरूले बताएका छन् । सरकारले यस सिजनमा ६ हजार ५०० मिटरभन्दा माथिका हिमालको अनुगमनका लागि करिब ६० जना सम्पर्क अधिकृत (निजामती कर्मचारी) खटाएको जनाएको थियो । 

तर, हिमाल आरोहण क्षेत्रमा संलग्न एक नेपाली कम्पनीका प्रवन्ध निर्देशकले घटनाबारे सरकारी संयन्त्र समयमै जानकारी नहुनु गम्भीर लापरवाही भएको बताए । उनले भने, 'सगरमाथामा आरोही वा गाइड बेपत्ता भएको एक सातासम्म पनि सरकारी संयन्त्रले स्पष्ट जानकारी नपाउनु दुःखद् हो । सम्पर्क अधिकृतहरूको प्रभावकारी उपस्थितिको अपेक्षा गरिए पनि त्यसअनुसारको नतिजा देखिएन ।'

उनका अनुसार यस सिजनमा सगरमाथाको चुचुरो नजिकै हिलारी स्टेपमा एक भारतीय आरोहीको शव समेत अड्किएको छ । ती भारतीयको शव यो सिजनमा अब ल्याउन नसकिने भएको छ ।

बेपत्ता दावा शेर्पाको पनि खोजी चुस्त रुपमा नभएको उनको आरोप छ । उनी कुन स्थानबाट र कस्तो परिस्थितिमा सम्पर्कविहीन भए भन्नेबारे आधिकारिक विवरण अझै सार्वजनिक भएको छैन । 

पर्वतारोहण व्यवसायीहरुले  यो घटनाको यथार्थ जानकारी र खोजी अभियानबारे सम्बन्धित निकायबाट स्पष्ट जानकारी परिवारजनलाई दिन माग गरेको छन् । 

सगरमाथा आरोहण सिजन सकिसके पनि हालसम्म कतिले सगरमाथा आरोहण गरे भन्ने जानकारी पनि विभागले सार्वजनिक गरिसकेके छैन । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउने सगरमाथा प्रदुषण नियन्त्रण समितिले जेठ १५ देखि सगरमाथा आरोहण रोकिसकेको छ ।

लुक्लामा रहेका समितिका बेसक्याम्पम म्यानेजर छिरिङ तेन्जिङ शेर्पाले सगरमाथा आरोहणका लागि डोरी र भर्याङ राखेर बनाइएका 'बाटो' झिकिसकेको मंगलबार  बताए ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully