कालीगण्डकी करिडोर निर्माण सम्पन्न भएपछि त्रिदेशीय (चीन, भारत र नेपाल) जोड्ने सबैभन्दा छोटो दुरीको रुपमा विकास हुनेछ ।
What you should know
बागलुङ — भारतको सुनौली नाकादेखि चीनको सीमानाका कोरला जोडने गरी निर्माण भइरहेको ४१७ किलोमिटरको कालीगण्डकी करिडोरअर्न्तगत बागलुङ खण्डको १० किलोमिटर सडक कालोपत्र हुन सकेको छैन ।
कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको सडक ट्रयाक खोलेको १२ वर्ष हुँदासम्म कालोपत्र पुरा हुन नसकेको हो । नेपाली सेनाले आ.व. २०७१/७२ मा ट्रयाक खोली कालीगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण गरेपछि स्तरोन्नति र कालोपत्रको काम अगाडि बढेको थियो । कालोपत्रको लागि थप दोस्रो पटकको सम्झौता समय सकिँदासम्म कामले अन्तिम रुप पाउन सकेको छैन । यस खण्डको बागलुङस्थित बलेवा–मालढुङ्गा सडकको लागि पहिलो पटक २४ महिनाको लागि २०७९ मंसिर २९ गते र दोस्रो पटक २०८२ जेठ १७ गते १ वर्षको लागि म्याद थप गरिएको समय सकिँदा समेत कालोपत्रे पुरा भएको छैन ।
ट्रयाक खोलेको १२ वर्ष बितिसक्दा समेत कालोपत्र नहुँदा आवातजावतमा समस्या झेल्नुपरेको स्थानीय केशवप्रसाद सुवेदीले बताए । ‘कालोपत्रका लागि दुई पटकसम्म म्याद थप गरेको समय सकिएको छ,’ सुवेदीले भने, ‘सडकको कामले अन्तिम रुप पाउन नसक्दा हामी प्रत्यक्ष मर्कामा परेका छौँ ।’
सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलाम्मे हुने गरेको यात्रु मेघनाथ सुवेदीले बताए । ‘सदरमुकाम बागलुङ जान हिँडेर दुई घण्टामा पुगिन्छ,’ उनले भने, ‘सडक कालोपत्रे नहुँदा गाडीमा जाँदा त्योभन्दा बढी समय लाग्दछ ।’ 
४८ करोड १२ लाख ५६ हजार रुपैँयामा १ हजार ३०० मिटर ढलान र अन्य भाग कालोपत्रको जिम्मा खडक कृष्ण बिएण्ड जेभीले जिम्मा लिएको छ । बजेट अभाव र मौसमको कारणलगायतले समयमा काम पुरा गर्न नसकेको निमार्ण व्यवसायी दिनबन्धु काफले बताए । ‘विभिन्न कारणले काममा ढिला भएको हो,’ काफ्लले भने, ‘अबको एक महिनाभित्र कालोपत्रे पुरा गर्ने गरी लागेका छौँ ।’
नवलपरासीको गौँडाकोटदेखि बागलुङको मालढुङ्गासम्म २४० किलोमिटर सडक खण्ड भने कालिगण्डकी करिडोर सडक योजना पाल्पाले हेर्दै आएको छ । अन्य स्थानमा सडक कालोपत्रे भए पनि बलेवा–मालढुङ्गा सडक खण्ड बाँकी छ ।
ढिलासुस्ती र विभिन्न बाहनाका कारण तोकिएको समयभित्र निर्माण व्यवसायीले कालोपत्रेको काम पुरा नगरेको कालिगण्डकी करिडोर सडक योजना पाल्पाका ईन्जिनियर होमनाथ पौडेलले बताए । ‘अबको एक महिनाभित्र निर्माण व्यवसायीले कालोपत्र पुरा गरेर हस्तान्तरण गर्छु भनेको छ,’ पौडेलले भने, ‘एक महिनाभित्र पनि काम सकेन भने कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।’
यो सडक खण्डको अहिलेसम्म ९० प्रतिशत भौतिक र ७३ प्रतिशत वित्तीय प्रगति भएको उनले दाबी गरे । बागलुङ नगरपालिका र जैमिनी नगरपालिका छोएर जाने सडक कालोपत्रेको लागि स्थानीय तहले समेत पहल समेत गर्दै आएका छन् । सबै क्षेत्रलाई ताकेदा गरिए पनि काम पुरा हुन नसकेको जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए ।
राष्ट्रिय गौरवको आयोजना रुपमा रहेको कालीगण्डकी करिडोरमा भारतका साथै मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, गुल्मी, स्याङजा, पाल्पा, वुटवलका बासिन्दाहरू आवतजावत गर्ने गर्दछन् । कालीगण्डकी करिडोर समयमा सम्पन्न भएमा त्रिदेशीय जोड्ने सबैभन्दा छोटो दुरीको रुपमा विकास हुनेछ ।
