जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’को दैनिक भत्ता दुई सय मात्र

नेपालमा गोताखोरको अभाव छ भने जोखिमपूर्ण उद्धार कार्यको जिम्मेवारी लिनेहरूलाई अझै न्यून भत्ता दिइँदै आएको छ ।

जेष्ठ १८, २०८३

रासस

The daily allowance of the 'divers' who risk their lives in rescue operations is only Rs.

चितवन — जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक दुई सय मात्र भत्ता पाउँछन् भन्दा विश्वास नलाग्न सक्छ । तर, गहिरा नदी, तलाउमा हामफालेर अरुको जीवन बचाउने जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी बल (एपीएफ) मा कार्यरत ‘गोताखोर’को भत्ता अहिले पनि दैनिक दुई सय रुपैयाँ मात्र रहेको छ ।  

सशस्त्र प्रहरी बलको गढीमाई बाहिनी मकवानपुरअन्तर्गत १७ नं गण चितवनले आजदेखि सुरु गरेको ‘गोताखोर’ अनुशिक्षण तालिमको उद्घाटन गर्दै बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) अन्जनीप्रसाद पोखरेलले आफ्नो ज्यानको जोखिम मोलेर संवेदनशील क्षेत्रमा काम गरिरहेका ‘गोताखोर’को मनोबल बढाउनुपर्ने समय आएको बताएका छन् ।

उद्घाटन सत्रमा गोताखोरहरुको पीडा सुनेपछि भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले तीन थान उच्चस्तरका उपकरण जडित ‘लाइफ ज्याकेट’ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले कार्यविधि बनाएर सहयोग गर्न मिल्ने भए ज्यानको बाजी राखी जुनसकै समय उद्धारमा खटिनुपर्ने जिम्मेवारीमा रहेका ‘गोताखोर’लाई प्रोत्साहन भत्ता दिन महानगरपालिका तयार रहेको बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदीजन्य विपद्मा गोताखोरहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै जोखिम बेहोरेर काम गर्ने पेसाकर्मीको मनोवल बढाउनुपर्नेमा जोड दिए ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल १७ नं गण हेडक्वाटर चितवनका प्रमुख प्रहरी उपरीक्षक धनबहादुर बानियाँले १० दिने अनुशिक्षण कार्यक्रममा सहभागीहरूलाई पौडी पोखरी र नारायणी नदीमा तालिम प्रदान गरिने जानकारी दिए ।

सशस्त्र बल नेपाल, गढीमाई बाहिनीअन्तर्गतका १० जना ‘गोताखोर’का लागि आजदेखि चितवनको कुरिनटारमा १० दिनको पुनर्ताजगी तालिम सुरु भएको हो । नेपालमा सबैभन्दा पहिला २०६८ सालमा २५ जना सशस्त्र प्रहरीलाई बङ्गलादेश पठाएर गोताखोरको तालिम दिएको थियो ।  

सशस्त्र प्रहरी बलले अहिले १६ जना गोताखोर रहेको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा नियमित तालिम दिँदै आएको छ । यही शिक्षालयबाट शिक्षित सशस्त्र प्रहरीले आवश्यकताअनुसार अन्य प्रदेशहरुमा ‘गोताखोर’को सेवा दिइरहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार नेपालमा गोताखोरको अभावमा झन्डै एक महिना लगाएर विदेशबाट ‘गोताखोर’ मगाएर शव खोज्नुपर्ने बाध्यता अझैसम्म रहेको छ ।

रासस

Link copied successfully