नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको बलियो उपस्थिति छ : उपविदेशमन्त्री रोजर्स

अमेरिकी सारा बी. रोजर्स भन्छिन् : ७९ वर्षदेखि अमेरिका नेपालको भरपर्दो सहयात्री रहिआएको छ र आगामी दिनमा पनि यो साझेदारीले नयाँ उचाइ लिनेछ ।

जेष्ठ १७, २०८३

न्युज एजेन्सी नेपाल

US has strong presence in Nepal's tourism sector: Deputy Foreign Minister Rogers

What you should know

काठमाडौँ — अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधिको विकासमा संयुक्त राज्य अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । 

काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’ लाई सम्बोधन गर्दै उनले दुई देशबीचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्ध र पर्वतारोहणको विषय ऐतिहासिक कडी भएको  बताएकी हुन् । 

उपविदेशमन्त्री रोजर्सले अमेरिकाले आफ्नो स्वतन्त्रताको २ सय ५० औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भ उल्लेख गर्दै अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतुहलता रहेको  बताइन् । अमेरिकाको जग नै अन्वेषण र जोखिम मोल्ने साहसले बनेको बताउँदै उनले यही भावनाले अमेरिकीहरूलाई नेपालका हिमालहरूसम्म डोर्‍याउने गरेको उल्लेख गरिन् । 

सन् १९६३ मा जिम ह्विटाकरले शेर्पा नवाङ गोम्बूसँग मिलेर सगरमाथाको सफल आरोहण गरी प्रथम अमेरिकी आरोही बनेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै उनले यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताइन् । उपविदेशमन्त्री रोजर्सले नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको बलियो उपस्थिति रहेको बताइन् ।

‘हिमालय क्षेत्रको विषम परिस्थितिमा प्रविधिको परीक्षण हुन्छ । ड्रोन प्रविधि, सञ्चार उपकरण र उच्च गुणस्तरका सुरक्षा सामग्रीमा अमेरिकी कम्पनीहरूले नेतृत्व गरिरहेका छन् । सफलता शिखरमा पुग्नु मात्र होइन, यो कोसँग आरोहण गरिन्छ भन्नेमा पनि निर्भर हुन्छ । विगत ७९ वर्षदेखि अमेरिका नेपालको भरपर्दो सहयात्री रहिआएको छ र आगामी दिनमा पनि यो साझेदारीले नयाँ उचाइ लिनेछ,’ उनले भनिन् । 

सन् २०२३ मा नेपाल भ्रमण गर्ने ११ लाख ५० हजार अन्तर्राष्ट्रिय पर्यटकमध्ये १ लाख १२ हजार अमेरिकी नागरिक रहेका थिए । जसले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार बनाएको छ । अमेरिकी पर्यटकहरूको आगमनले नेपालका पथप्रदर्शक, होटल र स्थानीय समुदायको आर्थिक उत्थानमा प्रत्यक्ष सहयोग पुगेको उहाँको भनाइ छ । 

शिखर सम्मेलनमा रोजर्सले पर्वतारोहण अब केवल हिमाल चढ्ने कुरामा मात्र सीमित नरही यसमा प्रविधि र सुरक्षाको भूमिका महत्त्वपूर्ण भएको बताइन् । 

न्युज

Link copied successfully