संस्थागत विद्यालयको आकर्षण र बसाइँसराइका कारण विद्यार्थी संख्या घट्दै गएपछि सल्यानका ३२ सामुदायिक विद्यालय मर्ज र ८३ को तह घटुवा गरिएको छ । धेरैजसोमा विद्यार्थी संख्या ५० भन्दा तल झरेको छ।
What you should know
सल्यान — कपुरकोट गाउँपालिका–४ मा स्थानीय बालिबालिकाको सहजताको लागि २०६८ मा सरस्वती प्राथमिक विद्यालय स्थापना गरियो । १–५ संचालन गर्ने गरी स्थापना गरिएको विद्यालयमा लगातार केही वर्षसम्म एक सय भन्दा विद्यार्थी भए । विस्तारै विद्यार्थी संख्या घट्दै गएको उक्त विद्यालयले गत वर्ष प्राथमिक तहमा विद्यार्थी पाउन सकेन । विद्यार्थी नपाएपछि गत वर्ष नै उक्त विद्यालय बालविकासमा सीमित रहयो ।
यो वर्ष विद्यालय पूर्णरुपमा विद्यार्थीविहीन बन्न पुगेको छ । विद्यार्थीविहीन भएपछि पालिकाले मर्ज (अर्कोमा गाभ्ने) गर्ने तयारी गरेको छ । यस्तै शारदा नगरपालिका–३ बडाखोलामा २०४८ सालमा द्वारिका प्रावि र सिरुवारमा २०५० पछि विपी स्मृति प्रावि स्थापना भयो । सुरुवातमा १–५ सम्म संचालित विद्यालयले सुरुमा सय भन्दा माथि विद्यार्थी पायो । शिक्षकले पठनपाठनमा बेवास्ता गरेको भन्दै असन्तुष्ट बनेका अभिभावकले बालबालिकालाई संस्थागत विद्यालयततिर लैजान थाले । २०७२ सालमा यी दुबै विद्यालय विद्यार्थीविहीन भए । विद्यार्थी नभएपछि दुबै विद्यालयलाई खड्गदेवी प्राथमिक विद्यालय पौवावारीमा गाभियो । अहिले खाली भएको विद्यालय भवन जीर्ण बन्दै गएका भने फर्निचर त्यत्तिकै खेर गएका छन् । अहिले विद्यालय भवनका कक्षाकोठा स्थानीयलाई घाँसपात राख्ने बस्तुभाउलाई बर्षातको समयमा ओत लाग्ने स्थानमा परिणत भएको छ । स्थानीय, प्रदेश र संघीय सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन प्रत्येक वर्ष भर्ना अभियान, दिवा खाजा, छात्रवृत्ति, अंग्रेजी माध्यममा पढाइ जस्ता व्यवस्था गर्दै आए पनि अन्य सामुदायिक विद्यालयमा पनि विद्यार्थी संख्या घट्दै गएको पाइएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई सल्यानको तथ्यांक अनुसार जिल्लामा ४ सय २६ सामुदायिक विद्यालय छन् । जसमा २०७९ मा ५९ हजार ९ सय ९७ थिए भने २०८३ मा ४० हजार मात्र छन् । चार वर्षको अवधिमा १९ हजार ९ सय ९७ विद्यार्थी घटेका छन् । २०७९ मा ५९ हजार ९ सय ९७ विद्यार्थी रहेकामा २०८० मा ५३ हजार ४ सय ९३, २०८१ मा ४९ हजार २१, २०८२ मा ४५ हजार ९ सय ३५ र २०८३ मा ४० हजार मात्र भर्ना भएका छन् ।
विद्यार्थी संख्या घट्दै गएपछि यो अवधिमा ३२ वटा विद्यालय मर्ज भएका छन् भने ८३ विद्यालयको कक्षा (तह) घटाइएको छ । आर्थिक वर्ष २०७२ देखि ०७४ सम्म ५ विदयालय मर्ज भएका थिए १ सय ७६ आधारभूत विद्यालय ४० भन्दा कम विद्यार्थीमा सीमित छन् । जिल्लाकै दुई विद्यालयमा संचालन गरिएको प्राविधिक विषयको कक्षा पनि विद्यार्थीको अभावमा बन्द भएको छ।
सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन अहिले विद्यालय तथा स्थानीय तहलाई ठूलो चुनौती थपिएको छ । गुणस्तरीय पढाइ नभएको भन्दै छोराछारीलाई संस्थागत विद्यालयमा पढाउनको संख्या बढेको र बसाइँसराइ बढ्दै गएकाले सल्यानका विद्यालयमा संख्या प्रत्येक वर्ष विद्यार्थी संख्या घट्दै गएको हो । जिल्लाभर संस्थागत (निजी) विद्यालयको संख्या ४९ पुगेको छ ।
विद्यार्थी संख्या नभएपछि विद्यालयलाई नजिकको अर्कोमा गाभिएको र केहीको तह घटाइएको छ । तह घटाइएकामा माध्यमिक तह संचालन भएका विद्यालयलाई आधारभूत र ८ कक्षासम्म पढाइ भइरहेकालाई ५ कक्षामा सीमित गरिएको छ । ५४ वटा सामुदाियक विद्यालय रहेको शारदा नगरपालिकाका ४ वर्षयता ४ विद्यालय मर्ज, १० वटाको तह घटुवा गरिएको छ । ६८ विद्यालय रहेकामा बाग्चौर नगरपालिकामा २ वटा मर्ज र १२ तह घटुवा गरिएको छ । बन्गाड कुपिण्डे नगरपालिकाका ५६ विद्यालयमध्ये १२ वटा मर्ज भएका छन् ।
यस्तै २४ विद्यालय रहेको कपुरकोटमा २ मर्ज, २ तह घटुवा तथा ३१ विद्यालय रहेको दार्मामा १ तह घटुवा र ४६ विद्यालय रहेको कुमाखमा २ मर्ज, १८ तह घटुवा गरिएको छ । २८ विद्यालय रहेको त्रिबेणीमा १ मर्ज ११ र तह घटुवा तथा ५१ विद्यालय रहेको कालिमाटीमा २ विद्यालय स्थानान्तरण, १८ तह घटुवा गरिएको छ । ४० विद्यालय रहेको छत्रेश्वरीमा २ मर्ज, ५ तह घटुवा र २८ विद्यालय रहेको सिद्धकुमाखमा ५ मर्ज गरिएको छ । मर्ज हुने र तह घटुवा गरिएका अधिकांश आधारभूत विद्यालय छन् ।
यो वर्ष पनि विद्यार्थी संख्या घट्दै गएपछि थप विद्यालय मर्ज तथा तह घटुवा गर्न पालिकाहरुले तयारी गरिरहेका छन् । भौगालिक विकटताका कारण साना बालबालिकालाई विद्यालय आउजाउ गर्न असहज हुने भएपछि विद्यार्थी संख्या कम भएका केही विद्यालयलाई पालिकाले मर्ज गर्न सकेको छैन । मर्ज र तह घटुवा गरेका विद्यालयका शिक्षकलाई पालिकाले अन्यत्र ब्यवस्थापन गरिरहेका छन् ।
स्थानीयको बसाइँसराइ बढेपछि आफू कार्यरत विद्यालय विद्यार्थीविहीन भएको सरस्वती आधारभूत विद्यालय चुनबाङ कपुरकोटकी बालविकास सहजकर्ता दीपा घर्तीले बताइन् । ‘गत वर्ष १ देखि ५ सम्म विद्यार्थी निल थिए । यो वर्ष बालविकासमा पनि कोही भर्ना भएनन्,’ उनले भनिन् । विद्यार्थीविहीन भएपछि पालिकाले उक्त विद्यालयमा कार्यरत दुई शिक्षकलाई अन्यत्र ब्यवस्थापन गरिसकेको छ । ‘कार्यालय सहयोगी र मलाई कतै पठाएको छैन । हामी दुई जना दैनिक विद्यालय गएर १ बजेसम्म बसेर फर्कने गरेका छौं,’ उनले भनिन् । विद्यालयमा भएका सामग्री खेर गइरहेको उनले बताइन् ।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–९ का हेमन्त बुढाथोकीले घरनजिकैका विद्यालयमा पढाइ गतिलो नभएकाले धेरै खर्च गरेर पनि बालबालिकालाई निजी विद्यालय पढाउन बाध्य भएको बताए । ‘सबै अभिभावकको चाहना आफ्ना छोराछोरी अब्बल बनुन् भन्ने हुन्छ । सरकारी विद्यालयमा राम्रो पढाइ भएन । सरकारले दिएको सुविधाकै लागि आफ्ना बालबालिका बिग्रेको देख्न सकिनँ । त्यही भएर धेरै रकम खर्च गरी सहर आएर निजी विद्यालयमा छोराछारी पढाउन थाले,’ उनले भने ‘गाउँकै सामुदायिक विद्यालयमा राम्रो पढाइ हुने भए कलिलो उमेरका छोराछारीलाई टाढा राखेर पढाउने रहर थिएन ।’
लामो समय शिक्षण पेशामा कार्यरत रहेका वीरबहादुर सेजुवाल बसाइँसराइ, कम सन्तान जन्माउने जस्ता कारणले गाउँका सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गए पनि पढाइको गुणस्तर सुधार गर्न सके विद्यार्थी संख्या बढाउन सकिने बताउँछन् । संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्ने खालको पढाइमा सम्बन्धित निकायले ध्यान नदिँदासम्म सामुदायिकमा विद्यार्थी संख्या र विद्यार्थीको रुची नबढ्ने उनको तर्क छ ।
सबै पक्षले नैतिक जिम्मेवारी वहन गर्न नसक्दा र बाहिर तथा संस्थागतमा जानेलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा सक्रियताका साथ नलाग्दा पछिल्नो समयमा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटिरहेको
शिक्षा विकास तथा समन्वय एकाई सल्यानका प्रमुख शेरबहादुर रोका शिक्षक–अभिभावले सक्रियता देखाएको र शिक्षालाई सीपमूलक तथा उत्पादनसँग जोडेका केही विद्यालयमा विद्यार्थी भरिभराउ रहेको बताए ।
पालिकाले विद्यार्थी संख्या बढाउन विभिन्न किसिमको प्रयास गर्दै आए पनि बसाइँसराइले सामुदायिक विद्यालयमा प्रत्येक वर्ष ५ सय जना हाराहारी विद्यार्थी घटिरहेको बन्गाड कुपिण्डे नगरपालिकाका शिक्षा अधिकृत टीकाराम आचार्यले बताए । १–५ कक्षासम्म कम्तीमा ७० विद्यार्थी हुनुपर्नेमा १२/१५ जना बढी नहुँदा १२ मर्ज र तह घटुवा गरिएको उनले बताए । ‘यो वर्ष पुनः विद्यालय मर्ज र तह घटुवाको लागि समिति गठन गरिएको छ । समितिले अनुगमन गर्ने छ । कुन विद्यालयलाई कहाँ मर्ज गर्दा ठिक हुन्छ । त्यही अनुसार प्रक्रिया अगाडि बढाइन्छ,’ उनले भने ।
विद्यार्थी संख्या घट्दै गएपछि यो वर्ष छत्रेश्वरी गाउँपालिकाको जनकल्याण आवि चाख्ले विद्यार्थीविहीन भएपछि मर्ज गर्न थालिएको शिक्षा शाखा प्रमुख गणेश न्यैपानेले बताए । ४० सामुदायिक विद्यालय रहेको छत्रेश्वरीमा २० वटामा ५० भन्दा कम विद्यार्थी भएकाले आर्थिक भार कम गर्न पालिकाले विद्यालय मर्ज, तह घटुवा र दरबन्दी मिलानको सुरुवात गरेको उनले जानकारी दिए । उनी भन्छन्, ‘धेरैजसो पुरुष विदेश गएर कमाउने भएपछि श्रीमती बच्चा लिएर सहरतिर झर्छन् । गाउँमा बालबालिका कम छन् । गाउँघरमा बुढापाखा मात्रै भेटिन्छन् ।’
