परराष्ट्र मन्त्री खनालले भने– हालको एनआरए कानुनको मस्यौदा व्यापक छलफलपछि अघि बढ्छ

एशोसिएशन अफ नेपाली ओरिजिन(एएनओ) केन्द्रीय समितिका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त नेतृत्वको एक प्रतिनिधि मण्डलसँगको भेटमा उनले हाल सार्वजनिक भएको मस्यौदा शून्य ड्राफ्ट (जिरो ड्राफ्ट) भएको बताएका थिए ।

जेष्ठ १४, २०८३

कान्तिपुर संवाददाता

Foreign Minister Khanal said – The current draft of the NRA law will move forward after extensive discussions.

What you should know

काठमाडौँ — परराष्ट्र मन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजानिक गरिएको गैरआवासीय नेपालीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे सबै सरोकारवालाहरुसँग छलफल गरेरमात्र अघि बढ्ने बताएका छन् ।

एशोसिएशन अफ नेपाली ओरिजिन(एएनओ) केन्द्रीय समितिका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त नेतृत्वको एक प्रतिनिधि मण्डलसँगको भेटमा उनले हाल सार्वजनिक भएको मस्यौदा शून्य ड्राफ्ट (जिरो ड्राफ्ट) भएको बताएका थिए ।

यसअघि नेपाल सरकारले संसदको यसै अधिवेशनमा पेस गर्ने तयारी गरेको कुरा सार्वजानिक भएको भए पनि मन्त्री खनालले व्यापक छलफल गर्ने बताएपछि तत्काल संसदमा पेस हुने सम्भावना टरेको हो । एएनओले ऐनको सार्वजानिक मस्यौदाका कतिपय बुँदाहरु अव्यवहारिक, असान्दर्भिक र विदेशिएका नेपालीलाई नेपालसंग जोड्न अपर्याप्त रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराएको थियो ।

‘यो कानुन आउँदा नेपाली पन र नेपाली मनलाई नेपालसँग दीर्घकालसम्म जोडिरहने सेतुका रुपमा आउनु पर्छ,’ उपाध्यक्ष पन्तले भने । उनले एनआरएनसम्बन्धी संसदमा पेस हुने कानुनको मस्यौदामा व्यापक छलफलको आवश्यकता रहेकोतर्फ परराष्ट्रमन्त्री खनालको ध्यानाकर्षण गराएका थिए । एएनओले यसबारे ध्यानाकर्षण पत्रसमेत मन्त्री खनाललाई बुझाएको थियो । जसमा नेपाली उत्पत्तिका व्यक्तिसम्बन्धी परिभाषामा संशोधनको आवश्यकता रहेको, तीनपुस्ता भित्र र त्यसवाहिरका पुस्ताका विदेशिएका नेपाली संबोधन गर्न मस्यौदामा व्यापक छलफल र परिमार्जनको आवश्यकता रहेको उल्लेख छ । 

पत्रमा भनिएको छ, ‘नेपाली मूलका व्यक्तिहरु जहाँ जन्मिए पनि र जहाँको नागरिक भए पनि उनीहरुको मनमा नेपाल सधैं जीवित रहन्छ । अब आउने कानुनले उनीहरुलाई विदेशीभन्दा पनि नेपालका अभिन्न अंग का रुपमा स्वीकार गर्नुपर्छ ।’

एएनओका महासचिव चूडामणि भट्टराई, बोर्ड अफ ट्रष्टी सदस्य बाबुकृष्ण कार्की, एएनओ नेपालका अध्यक्ष कृष्णप्रसाद सापकोटसहितको प्रतिनिधिमण्डलले बुझाएको एएनओको ध्यानाकर्षणपत्र ग्रहण गर्दै मन्त्री खनालले यो विधेयक संसदमा पेस गर्नुअघि आफूले प्रश्नावली तयार गरेको र तिनमा सरोकारवालाहरु सबैसंग राय सुझाव लिइने बताएका थिए ।

कान्तिपुर

Link copied successfully