जेठ १५ गतेदेखि पश्चिम नेपालका ३ प्रदेश (सुदुर पश्चिम, कर्णाली र लुम्बिनी)मा वर्षा, असिना, हावाहुरीको सम्भावना रहेको र जेठ १८ गतेसम्म यो प्रणालीको प्रभाव रहने छ ।
What you should know
काठमाडौं — केही दिनदेखि तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने र तराई क्षेत्रमा शीतल महसुस हुनेछ ।
२ दिनअघि तराईका विभिन्न जिल्लाको तापक्रम ४१ डिग्री नाघेकोमा अहिले ३९ डिग्रीभन्दा तल रहेको विभागले जनाएको छ । विभागको मापन केन्द्रमा भएको अभिलेखअनुसार बिहीबार सबैभन्दा बढी तापक्रम धनगढीमा ३८ दशमलव ७ डिग्री मापन भएको छ । यस्तै नेपालगञ्जमा ३८ दशमलव २ डिग्रीसम्म पुगेको छ ।
अन्य जिल्लामा ३६ डिग्रीभन्दा माथि तापक्रम नगएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले देशभर केही शीतल महसुस भएको बताए । उनले अहिले विभिन्न जिल्लामा वर्षा हुने क्रम बढेको र काठमाडौँसहित कतिपय जिल्लामा वर्षा भइरहेको जानकारी दिए ।
बिहीबारमात्रै धनकुटामा सबैभन्दा बढी ८७ मिलिमिटर वर्षा भएको छ । काठमाडौंसहितका कतिपय जिल्लामा भने मध्यमसम्म वर्षा भएको विभागले जानकारी दिएको छ । भोलिदेखि भने वर्षा केही बढ्ने छ ।
विभागले बिहीबार साँझ जारी गरेको बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसका कारण अहले देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ ।
कोशी प्रदेशका केही स्थानमा, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको विभागका सूचना अधिकारी कायस्थले जानकारी दिए । मौसमविद् धर्मराज उप्रेतीका अनुसार पश्चिम तराईको लु अर्थात् अत्यधिक गर्मीको अवस्था आज रातिदेखि कमी आउने र आगामी ३४ दिन शीतल महसुस हुने सम्भावना छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा शुक्रबारदेखि वर्षा र असिनापानीको सम्भावना
उनका अनुसार जेठ १५ गते बिहानैदेखि पश्चिम नेपालका ३ प्रदेश (सुदुर पश्चिम, कर्णाली र लुम्बिनी)मा वर्षा, असिना, हावाहुरीको सम्भावना रहेको र जेठ १८ गतेसम्म यो प्रणालीको प्रभाव रहने छ । यो प्रणालीको प्रभाव गण्डकी, कोशी र मधेसमा पनि देखिने हुँदा शीतल महसुस हुने बताइएको छ ।
विभागका अनुसार शुक्रबार देशभर बादल लागी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशका तराई भू-भागका १-२ स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू-भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
