प्रधानमन्त्री शाहले एक हप्ताभित्र सांसदका प्रश्नको जवाफ दिने

प्रधानमन्त्रीलाई उपस्थित हुनका लागि सभामुख डीपी अर्यालले रुलिङ गर्नुपर्ने माग विपक्षी दलहरूको छ ।

जेष्ठ १२, २०८३

जयसिंह महरा

Prime Minister Shah to answer MPs' questions within a week

What you should know

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा निरन्तर आवाज उठाइरहेका छन् । प्रधानमन्त्रीलाई उपस्थित हुनका लागि सभामुख डीपी अर्यालले रुलिङ गर्नुपर्ने माग विपक्षी दलहरूको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग गर्दै अवरोध गरेपछि स्थगित गर्नुपरेको थियो । विपक्षीहरूले निरन्तर अवरोध गरेपछि रास्वपाका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले सातादिनभित्र प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने जानकारी गराएका थिए । 'मैले प्रधानमन्त्रीको सचिवालयमा पनि कुराकानी गरे, यो बीचमा । यो संसद् वादविवाद भन्दा पनि सैद्धान्तिक छलफलबाटै निकास निकाल्नु पर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ,' बुर्लाकोटीले भने, 'सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा प्रधानमन्त्री सदनमा आउनुहुन्छ र सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु ।'

सत्तापक्षका मुख्य सचेतकको धारणा आएपछि विपक्षका सांसदहरूले सोही विषयमा रुलिङ हुनुपर्ने माग गरेका थिए । कांग्रेस सांसद अभिषेकप्रताप शाहले सभामुखलाई सांसदका प्रश्नको जवाफ दिनका लागि उपस्थित हुनु भनेर प्रधानमन्त्रीका नाममा रुलिङ गर्न माग गरे । 'सत्तापक्षको कुरा सुनियो । अचम्म छ तपाईं सदनको प्रमुख हुनुहुन्छ । सत्तापक्षले प्रधानमन्त्री आउने समय दिनुभएको छ । तपाईंलाई  रुलिङ गर्ने अधिकार छ । कुनै पनि मन्त्री, प्रधानमन्त्रीमाथि रुलिङ गर्ने अधिकार छ । त्यो अधिकार कसले रोकेको छ ? यो सदनले जान्न चाहन्छ,' शाहले भने, 'तपाईंलाई त्यो अधिकार प्रयोग गर्न कसले रोक्यो ? कसले छेक्यो ? तपाईं प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी बनाउन सक्नु हुन्न र यो कुरा संसदमार्फत देशले जान्न चाहेको छ । निश्चित मिति र समय तोकियोस् र रुलिङ होस् ।' प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्ने शाहको भनाइ थियो ।

नेकपाका प्रमेश हमालले सभामुखले अपेक्षाअनुसार भूमिका नखेलेको बताए । 'सभामुखबाट जति पहलको अपेक्षा गरिएको छ, त्यसअनुरुप हामीले डेलिभरी पाएका छैनौं । हामीले मागेको लोकतन्त्रको रक्षा गर्ने कुरा, संविधान, कानुन र नियमावलीअनुरुप संसद चलोस् भन्ने अपेक्षा गरेको हो । सरकारको उत्तरदायित्व माग गरेको हो,' हमालले भने, 'सार्वभौम संसदको गरिमालाई उच्च बनाउनका निमित्त प्रधानमन्त्रीको भूमिका अपेक्षा गरिएको हो । आज पनि उहाँले युरोपियन मुलुकको प्रतिनिधिमण्डलसँग प्रतिबद्धता जनाउनुभएको छ म लोकतन्त्रको मूल्य र मान्यतालाई अक्षुण्ण राख्छु । संसदको मूल्य, मान्यता र प्रक्रियालाई अक्षुण्ण राखेपछि मात्रै त्यो सम्भव हुन्छ ।'

रास्वपाका मुख्य सचेतक बुर्लाकोटीले प्रधानमन्त्री साताभित्र आउने भनेअनुसार भए पनि सभामुखले रुलिङ गर्नुपर्ने हमालको भनाइ थियो । 'सत्तारुढ दलका मुख्य सचेतकले भनेको कुरालाई सभामुखको आसनबाट रुलिङ होस् । संवादबाट संसदलाई अगाडि बढाउने प्रक्रिया सहजीकरण होस्,' उनले भने ।

राप्रपा सचेतक खुश्बु ओलीले कार्यव्यवस्था र सभामुखले बोलाउने बैठकमा भएका सहमति कार्यान्वयन नभएको बताइन् । 'सत्तापक्ष (रास्वपा) प्रतिपक्षमा हुँदा सम्भवतः इतिहासमै सबैभन्दा बढी पेलिएको प्रतिपक्ष थियो । पेलिएकाहरूले यसरी पेलेको पटक्कै सुहाएको छैन,' उनले भनिन्, 'अब हाम्रो कार्यव्यवस्थाको बैठक र प्रतिपक्ष सत्तापक्षको बैठकहरू लाइभ गर्नुपर्ने भयो । किनभने राजनीतिमा इमान भन्ने कुरा हुँदैन रहेछ । त्यहाँ बोलिएका कुराहरू यहाँ आइपुग्दासम्म परिवर्तन भइसक्दो रहेछ ।'

सभामुख अर्यालले भने प्रधानमन्त्री शाहलाई सदनमा आउन भनी रुलिङ गरेनन् । प्रधानमन्त्री सदनमा आएर सांसदका प्रश्नको जवाफ दिन तयार रहेको उनको भनाइ थियो । 'प्रधानमन्त्री सदनमा आएर सांसदको प्रश्नको उत्तर दिन तयार हुनुहुन्छ । उहाँ आउँदै हुनुहुन्छ,' सभामुख अर्यालले भने, 'प्रधानमन्त्री छिट्टै सदनमा आएर सांसदका प्रश्नको जवाफ दिनुहुनेछ ।' प्रधानमन्त्री संसदमा आउने पत्राचार लगायतका प्रक्रिया सम्पन्न गर्नुपर्ने र सांसदका प्रश्नको जवाफ दिने तयारी गर्नुपर्ने भएकाले ढिलाइ भएको सभामुखको तर्क थियो । 'सरकारको आफ्नो तयारी होला, प्रधानमन्त्रीको आफ्नो तयारी होला । तयारी भएपछि उहाँले मलाई समय दिनुहुन्छ, मिति दिनुहुन्छ,' अर्यालले भने, 'जब मलाई मिति प्राप्त हुन्छ, त्यो मिति नै सार्वजनिक गर्छु । तर अहिले मलाई के प्राप्त भइरहेको छ त भन्दा छिट्टै सदनमा आउने र सदस्यहरूले उठाउने प्रश्नको जवाफ दिने । मैले त्यैं नैं जानकारी गराइरहेको छु ।'

प्रतिनिधिसभाको मंगलबारको पहिलो बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री स्वाभाविक रूपमा संसदमा आउनुपर्ने बताए । उनले भनेका थिए, 'सांसदहरूले मेरो मुखबाट मिति घोषणा भइदेओस् भन्ने ठूलो इच्छा छ, थाहा छ । तपाईंहरूको इच्छा पनि स्वाभाविक प्रक्रिया हो, मैले गर्नुपर्छ । प्रधानमन्त्री स्वाभाविक रूपमा आउनुपर्छ, आउनुहुन्छ, आउने तयारीमै हुनुहुन्छ,' उनले भने ।

प्रधानमन्त्री सदनमा आउने निश्चित भएकाले कानुन निर्माणमा अवरोध नगर्न सभामुख अर्यालले विपक्षी दलहरूलाई आग्रह गरेका थिए । यसअघि बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले एक साताभित्र प्रधानमन्त्री शाह सदनमा आउने अवगत गराए ।

प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिएनन् । विगतमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने अभ्यास थियो तर यसपटक भने अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएका थिए ।

त्यस्तै, प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर कार्यक्रम गर्ने भन्ने व्यवस्था छ । पहिलो साता हुन नसकेको अवस्थामा त्यसपछिका बैठकमा प्रश्नोत्तरको मिति र समय तोक्नुपर्ने व्यवस्था थियो । प्रधानमन्त्री शाहले भने यो महिनाको पहिलो साता सांसदसँग प्रश्नोत्तर कार्यक्रम गरेनन् र सभामुखले पनि समय निर्धारण गरेका थिएनन् । नियमावलीको उक्त व्यवस्था कार्यान्वयन माग गर्दै विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका थिए । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully