प्रधानमन्त्री शाह र ईयू राजदूतहरूबीच संयुक्त भेटवार्ता

नेपालले अपनाउँदै आएको सन्तुलित एवम् व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने प्रधानमन्त्री वालेन्द्र शाहको भनाइ छ ।

जेष्ठ १२, २०८३

अनिल गिरी

Joint meeting between Prime Minister Shah and EU ambassadors

What you should know

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली संघ (ईयू) का गैरआवासीय राजदूत, नियोग प्रमुख तथा काठमाडौंस्थित केही आवासीय राजदूतहरूसँग संयुक्त भेटवार्ता गरेका छन् । वार्षिक बैठकका लागि काठमाडौंमा रहेका युरोपेली संघ (ईयू) का २३ जना राजदूत तथा उपनियोग प्रमुखहरूका साथै काठमाडौंस्थित केही आवासीय राजदूतहरूलाई प्रधानमन्त्री शाहले मंगलबार भेट गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा उक्त भेटवार्ता भएको थियो । उक्त अवसरमा प्रधानमन्त्री शाहले करिब दुई घण्टासम्म सरकारका प्राथमिकताबारे जानकारी दिएका थिए । यसअघि सरकारको नेतृत्व सम्हालेलगत्तै प्रधानमन्त्री शाहले गत २५ चैतमा पनि विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए ।

‘हामीलाई निकै सकारात्मक प्रभाव परेको छ र उन्नत लोकतन्त्र निर्माण गर्नुहुन्छ भन्ने विश्वास छ,’ नेपालस्थित ईयू राजदूत भेरोनिक लोरेन्जोले प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भनिन्, ‘प्रधानमन्त्री केही परिवर्तन ल्याउन चाहनुहुन्छ भन्ने लाग्यो ।’

उनले आगामी बजेटले सरकारले वर्तमान परिस्थितिलाई कसरी सम्बोधन गर्छ भन्ने स्पष्ट पार्ने बताइन् । ‘प्रधानमन्त्रीले स्पष्ट जनादेश प्राप्त भएकाले नागरिकको हित र कल्याण नै आफ्नो मुख्य उद्देश्य भएको बताउनुभएको छ,’ उनले भनिन् ।

नेपालको प्रेस स्वतन्त्रता सधैं ईयूको प्राथमिकतामा रहेको लारेन्जोले उल्लेख गरिन् । ‘तर, हामीहरू ट्रोल, डिजिटल ट्रोल, दुर्व्यवहार तथा डिजिटल लैंगिक हिंसाका घटनामा पनि सचेत छौं,’ उनले भनिन् ।

‘व्यक्तिगत रूपमा भन्दा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था बिग्रिएको महसुस गरेका छैनौं, यो विषयमा नागरिक समाजका प्रतिनिधिसँग पनि छलफल गरेका थियौं । नेपाली सञ्चारमाध्यममा प्रधानमन्त्रीको आलोचना गरिएका धेरै सामग्री देखेका छौं,’ उनले भनिन् ।

त्यस्तै लोरेन्जोले गत भदौको जेन–जी आन्दोलनमा ईयूको संलग्नता रहेको आरोपलाई अस्वीकार गरिन् । ‘तर, हामीहरूले सधैं युवाहरूलाई प्राथमिकता दिने गरेका छौं । युवाकेन्द्रित धेरै कार्यक्रम सञ्चालनमा छन् । युवा कुनै पनि मुलुकको सामाजिक, राजनीतिक र आर्थिक भविष्य भएकाले उनीहरूको धारणालाई गम्भीरतापूर्वक लिन्छौं,’ उनले भनिन् ।

युरोपका विभिन्न देशमा उच्च शिक्षा र रोजगारीका लागि जाने नेपाली विद्यार्थी र प्रवासीहरूको संख्या बढ्दै जानु द्विपक्षीय सम्बन्ध तथा जनस्तरको सम्पर्कको महत्त्वपूर्ण आधार बनेको भन्दै ईयू राजदूतहरूले नेपालसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए ।

भारत र नेपालका लागि स्विडेनका राजदूत जान थेस्लेफले नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनको प्रशंसा गरे । ‘तपाईंहरूले ऐतिहासिक परिवर्तन ल्याउनुभएको छ । यसअघि टाढाबाट हेरिरहेका थियौं, तर अहिले नजिकबाट देख्न पायौं,’ उनले भने, ‘यो नेपालको समय हो ।’

भारतका लागि इटालीका राजदूत एन्टोनियो बार्तोलीले पनि काठमाडौंको राजनीतिक परिवर्तन र प्रधानमन्त्रीबारे समान धारणा व्यक्त गर्दै भने, ‘तपाईंहरूसँग खेल्नका लागि सबै कार्ड छन्, तर तिनलाई सही ढंगले प्रयोग गर्नुपर्छ ।’

भेटवार्तामा प्रधानमन्त्री शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको समेत शाहले उल्लेख गरे ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पारेका थिए ।

‘नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन । नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं,’ प्रधानमन्त्री शाहले भने ।

प्रधानमन्त्री शाहले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि सरकारको प्रतिबद्धता पनि दोहोर्‍याएका छन् । जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको पनि प्रधानमन्त्रीले उल्लेख गरेको पनि प्रेस तथा अनुसन्धान विज्ञ दाहालले जानकारी दिइन् ।

त्यस्तै प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने पनि स्पष्ट पारेका छन् । ‘हाम्रा छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ,’ उनले भने ।

नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्‍याउँदै आएको भन्दै नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति प्रधानमन्त्री शाहले आभार प्रकट गरे । साथै, व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रहरूमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको रहेको पनि प्रधानमन्त्री शाहले स्पष्ट पारे ।

प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढी पीडा भोग्नुपरेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा जोड दिए ।

काठमाडौं र दिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौंस्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेकामा सरकारको प्रशंसा गरेका थिए । साथै, सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्वमा पुग्नुभएकामा प्रधानमन्त्री शाहलाई बधाई दिए । आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको पनि उनीहरूले उल्लेख गरेका थिए ।

‘नेपालसँग ईयूको साझेदारी अझ सुदृढ बन्दै गएको छ । सरकार, निजी क्षेत्र, नागरिक समाज र युवा नेताहरूसँगको फलदायी संवादले अथाह सम्भावनाहरू रहेको देखाएको छ । रोजगारी सिर्जना, दिगो वृद्धि र समावेशी विकासजस्ता चुनौती समाधान गर्न पूरै युरोप नेपालसँग हातेमालो गर्न तयार छ,’ लोरेन्जोले भनिन् ।

परराष्ट्र मन्त्रालयका अनुसार ईयूका साथै थाइल्यान्ड, रुस, अस्ट्रेलिया, म्यानमार, यूएई, नर्वे, फिनल्यान्ड, मलेसिया र ब्राजिलका राजदूतहरूले सहकार्यका प्रमुख क्षेत्रहरूबारे चर्चा गर्दै सरकारलाई नेपाली जनताको हितमा परिणाम दिन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई तथा अन्य वरिष्ठ सरकारी अधिकारीहरू उपस्थित थिए ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully