मनसुनका लागि २६ हजार बढी सुरक्षाकर्मी तयारी अवस्थामा

सरकारले मनसुनी विपद्का बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाका ७ हजार ५२४, नेपाल प्रहरीका १० हजार ५८५ र सशस्त्र प्रहरीबाट १३४ गोताखोरसहित ८ हजार ११० जना तयारी अवस्थामा राखेको जनाएको छ ।

जेष्ठ १२, २०८३

रासस

More than 26,000 security personnel on standby for monsoon

काठमाडौं — नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि मात्रै सरकारले १३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीनवटै सुरक्षा निकायबाट तयार भएका जनशक्ति देशभर आवश्यकतामा आधारमा परिचालित हुनेछन् । 

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार मनसुनी विपद्‌मा हुने सबै तयारी गरिएको र राष्ट्रिय प्रतिकार्ययोजनासमेत तयार पारी लागू भइसकेको छ । उनका अनुसार निकायहरूलाई जिम्मेवारी तोकिइसकेको छ । 

उनका अनुसार मनसुनी विपद्का बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाका ७ हजार ५२४, नेपाल प्रहरीका १० हजार ५८५ र सशस्त्र प्रहरीबाट १३४ गोताखोरसहित ८ हजार ११० जना तयारी अवस्थामा राखिएको छ । 

उनीहरू आवश्यकताका आधारमा ७७ वटै जिल्लामा खोज तया उद्धारका लागि तयार पारिएका जनशक्ति हुन् । यसबाहेक पनि आवश्यकताका आधारमा हरेक जिल्लामा रहेका जनशक्ति परिचालन हुनेछन् । 

प्राधिकरणले यसपालि मनसुनजन्य विपद्बाट देशभर ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६६१ जना प्रभावित हुने अनुमान गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने आकलन गरेको र सोही आधारमा प्रभावितको संख्या अनुमान गरेको प्रवक्ता महतले बताए ।

रासस

Link copied successfully