संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा पेस गर्न आदेश 

न्यायाधीश मेघराज पोखरेलको इजलासले अधिवक्ता गीता थापाको रिटमा यस्तो आदेश गरेको हो ।

जेष्ठ ११, २०८३

दुर्गा दुलाल

Order to submit writ petition against ordinance related to Constitutional Council to Constitutional Bench

काठमाडौं — सर्वोच्च अदालतलले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार)सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ विरुद्धको रिट दर्ता गरी संवैधानिक इजलासमा पेस गर्न आदेश गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले अधिवक्ता गीता थापाको रिटमा यस्तो आदेश गरेको हो । 

‘निवेदकले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ संविधानसँग बाझिएको भनी नेपालको संविधानको धारा १३७ बमोजिमको संवैधानिक इजलासको क्षेत्राधिकारको अनुशरण गरी निवेदन दिएको देखिन्छ,’ आदेशमा भनिएको छ ‘उल्लेखित निवेदन रजिष्ट्रारबाट वैशाख २५ गते दरपीठ भएको देखिन्छ ।’ 

प्रशासनले रिट दर्ता गर्न अस्वीकार गरे (दरपीठ) उपर चित्त नबुझेमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १०(१) बमोजिम ७ दिनभित्र ‘इजलास’ समक्ष निवेदन दिन सक्ने व्यवस्था छ । नियमावलीको नियम २ (ख) मा ‘इजलास’ भन्नाले संवैधानिक इजलासलाई समेत समेटेको देखिएको भन्दै सर्वोच्चले यो निवेदन सिधैं संवैधानिक इजलासमा पेस गर्न भनेको छ । 

‘प्रस्तुत निवेदनमा उठाइएको अध्यादेश बदरको माग धारा १३७ बमोजिम संवैधानिक इजलासको अधिकारक्षेत्रभित्र पर्ने र प्रस्तुत दरपिटको आदेश बदर मागको निवेदन समेत उपर संवैधानिक इजलासले नै विचार गर्नुपर्ने देखिँदा नियमावलीको नियम १०(१) बमोजिम संवैधानिक इजलासमा पेस गर्नू,’ आदेशमा भनिएको छ ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully