सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो प्रकरणमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिइसकेको छ ।
काठमाडौँ — कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने तयारीस्वरुप पक्राउ पुर्जी लिइएकाले त्यसलाई रोक्न माग गरिएको रिटमा सोमबार सुनुवाइ हुँदै छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा पहिलो नम्बरमा पेसी तोकिएको छ ।
यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । उक्त रिटमा आज दोस्रो सुनुवाइ हुन लागेको हो ।
आज हुने सुनुवाइले अन्तरिम आदेश जारी गरेमा उनीहरुलाई पक्राउ गर्न पाइनेछैन । तर अदालतले देउवाले माग गरेको आदेश जारी नगरेमा भने उनलाई पक्राउको बाटो खुल्नेछ ।
सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेकाले पक्राउ रोक्नका लागि अन्तरिम आदेशको माग गरिए पनि सर्वोच्चले तत्काल त्यस्तो आदेश दिन भने अस्वीकार गरेर दुवै पक्षको बहस सुनेर मात्र निर्णय गर्न उपयुक्त हुने भनेको थियो ।
अदालतले यो विषय संवेदनशील र चाँडो निष्कर्षमा पुग्नुपर्ने प्रकृतिको देखिएको भन्दै छलफलको दिन इजलासमा देखाएर फिर्ता लैजाने गरी अनुसन्धानको सक्कल फाइल (मिसिल) समेत मगाइएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो प्रकरणमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति (पुर्जी) लिइसकेको छ। तर, निवेदक पक्षले भने अन्य अपराधमा अनुसन्धान नभएको अवस्थामा सम्पत्ति शुद्धीकरणको मात्र कसुर हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको तर्क गर्दै जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएकोमा कानुनी प्रश्न उठाएका छन्।
निवेदनमा आफूहरू उमेरगत रूपमा ज्येष्ठ नागरिक भइसकेको र अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्न मञ्जुर रहेको उल्लेख गरिएको छ । अनुसन्धानका क्रममा कुनै पनि सम्पत्तिको स्रोत देखाउनुपर्ने भए वा अन्य आवश्यक सहयोग गर्न तयार रहेको र पक्राउ नै गर्नुपर्ने कुनै पूर्वावस्था नरहेकाले पक्राउ नगर्न आदेश माग गरिएको थियो ।
अदालतले भने अनुसन्धानको मिसिल र अपनाइएका प्रक्रियाहरूको कानुनी परीक्षण गरेर मात्र अन्तरिम आदेशबारे निर्णय लिनु उपयुक्त हुने ठहर गरेको थियो ।
