बीपी राजमार्गको पीप्ले–बर्खेखोला खण्ड शिलान्यास, काम भने बर्खापछि मात्रै 

जापान सरकारको २ अर्ब ६० करोड रुपैयाँ अनुदानमा ३.०२ किलोमिटर उक्त खण्ड निर्माण हुन लागिएको हो ।

जेष्ठ ११, २०८३

विमल खतिवडा

Foundation stone laid for Peeple-Barkhekhola section of BP Highway, work to begin only after monsoon

What you should know

काठमाडौं — बीपी राजमार्गअन्तर्गत पीप्ले–बर्खेखोला खण्डको ३.२ किलोमिटर सडक २ लेनमा बनाउनेगरी शिलान्यास भएको छ । राजमार्गअन्तर्गत भकुन्डेबेँसी-नेपालथोकसम्म असोज २०८१ मा आएको बाढीले ३०.५ किलोमिटर खण्डमा क्षति पुर्‌याएको थियो ।

जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले क्षतिग्रस्त खण्डमध्ये ३.२ किमि मात्रै बनाउने छ । यसबाहेक २७.३ किलोमिटर ठेक्का भई एक वर्षअघि नै काम सुरु भइसकेको छ । जाइकाले बनाउने खण्डको सोमबार पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र नेपालका लागि जापानका राजदूत मायदा तोरूले संयुक्त रुपमा शिलन्यास गरेका हुन् । शिलन्यास कार्यक्रममा जाइका नेपालका मुख्य प्रतिनिधि मात्सुजाकी मिजुकी पनि सहभागी थिए । यो खण्ड जापान सरकारको अनुदानमा बन्नेछ ।

२ अर्ब ६० करोड रुपैयाँ अनुदानमा उक्त खण्ड निर्माण गर्न लागिएको हो । मंसिर २०८४ सम्म यसको निर्माण सकिसक्नुपर्ने छ । निर्माणको ठेक्का जापानी कम्पनी शिमिजु कर्पोरेसनले लिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘निर्माण कम्पनीले सडक निर्माण गर्ने ठाउँमा ७ मिटर गहिरो मेसिनले खनेर माटो निकाली परीक्षण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘यसमा केही समस्या आए पुनः डिजाइनमा थप गरी पेस गर्न मिल्ने प्रावधान छ । यो काम बर्खा अघिसम्म टुंगिन्छ, निर्माण भने बर्खापछि मात्र सुरु हुन्छ ।’ २७.३ किलोमिटर खण्डमा बर्खामा चलाउन मिल्नेगरी मात्र ठेक्का भई काम अघि बढाइएको उनले बताए । 

जाइकाले निर्माणको जिम्मा लिएको सडक खण्डमा आउने बर्खाका लागि तयारी केही छैन । ‘यो ठाउँमा स्थायी निर्माणको काम सुरु भइसकेको छैन, बर्खाका लागि अस्थायी रुपमा खोला किनारमा ५ मिटर उचाई बनाएर ठूला ढुंगा राखी सवारी साधन चलाउने व्यवस्था गर्छौ,’ उनले भने, ‘चार ठाउँमा बाढीको जोखिम बढी छ, तत्काल केही समस्या आए समाधान गर्न प्राविधिकसहित मेसिनको व्यवस्था गर्छौ ।’

राजमार्गअन्तर्गत भकुन्डेबेँसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किमि क्षेत्रमा बढी क्षति गरेको हो । काभ्रेतर्फ ३ र सिन्धुलीतर्फ १ गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरी काम अघि बढाइएको हो । दुई लेनमा निर्माण भइरहेको राजमार्गको भकुन्डेबेँसीदेखि चारसयबेँसीसम्म ११ किमि खण्डको ठेक्का लामा-नवकान्तिपुर जेभीले १ अर्ब १४ करोड रुपैयाँमा लिएका हुन् । चारसयबेँसीदेखि डालाबेँसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको छ । दुवै ठेक्काको सम्झौता असार ०८२ मा भएको हो । 

पिप्लेदेखि डालाबेँसीसम्मको २.३ किमि खण्डको ठेक्का उमा एन्ड कम्पनी-भण्डारी-अमरज्योति जेभीसँग कात्तिक ०८२ मा सम्झौता भएको हो । यस खण्डको ठेक्का रकम ६८ करोड ८० लाख रुपैयाँ छ । ‘अहिले हामीले निर्माण गरिरहेको खण्डमा खोलामा डाइभर्सन बनाएर सवारी साधन चलाइरहेका छौं, बेला बेलामा पानी पर्नासाथ आउने बाढीले डाइभर्सन बगाउने गरेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा सवारी साधन सञ्चालनमा रोक लगाउने गरेका छौं, बाढी घटेपछि फेरि डाइभर्सन बनाएर चलाउने गरेका छौं ।’ बर्खालाई मध्यनजर गर्दै १५ असारबाट अहिले बनाइरहेको ट्र्याकबाट सवारी साधन चलाउने व्यवस्था गरिने उनको भनाइ छ ।

‘अहिले कालोपत्र हुँदैन, ग्राभेल तहको सडक बनाएर सवारी साधन चलाउने व्यवस्था गर्छौ, अर्को आर्थिक वर्षमा कालोपत्रको काम गर्छौँ,’ उनले भने, ‘१० मिटर उचाइसम्म यो सडक बनाउने हो, बर्खाअघि ७ मिटरसम्म मात्र ग्राभेल राखेर सवारी साधन चलाउँछौं ।’ बर्खामा खोलाबाट गाडी चलाउनु नपर्ने उनको दाबी छ । ‘बर्खामा समस्या हुँदैन, डाइभर्सन खोलाले बगाउँदा जुनजुन खण्डमा ठेक्का भएर काम भइरहेको छ, त्यही खण्डको ठेक्का लिने निर्माण व्यवसायीले काम गर्नु पर्छ, थप खर्च लाग्दैन,’ उनले भने ।

बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ । उक्त खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो । यसको ठेक्का रकम भ्याटबाहेक ५५ करोड रुपैयाँ छ । सबै खण्डको काम सम्झौताअनुसार २ वर्षभित्र सक्नुपर्ने सडक विभागले जनाएको छ । बर्खाअघि नै सिन्धुली खण्डमा सवारी साधन चलाउने व्यवस्था गरिने सडक डिभिजन, खाल्टे, सिन्धुलीका प्रमुख पारशमणि हमालले बताए । ‘कालढुंगा र नेपालथोक खण्डमा बर्खामा चलाउन मिल्नेगरी सडक तयार छ, कालढुंगा नजिकैको खण्डमाथि विद्यालय रहेको र त्यसको तलको सडक बाढीले बगाएर समस्या भएको हो, त्यहाँ अबको एक महिनाभित्र काम सक्छौं, यो बीचमा पानी परेर समस्या आइरहे उक्त ठाउँमा ड्याम बनाएर गाडी चलाउने व्यवस्था गर्छौ ।’ मनसुन सुरु हुनसाथ नयाँ बनेको सडक ट्र्याकमा सवारी साधनलाई खुल्ला गर्ने र ठाउँ–ठाउँमा मेसिन राखिने उनले बताए ।

सडकको काम भए पनि राजमार्गमा पर्ने पक्की पुल निर्माण सुरसार अझै छैन । यस खण्डमा सबैभन्दा बढी ट्राफिक जाम पुलमा हुने गरेको छ । दिनको ४ हजारभन्दा बढी सवारी यो सडक भएर ओहोर दोहोर गर्छन् । साँघुरा र सिंगल लेनका पुलका कारण सवारीसाधन वारपार गर्न लाइन लाग्नुपर्ने अवस्था छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully