'पढ्न र उपचार गर्न विदेश जाने प्रवृत्ति अन्त्य हुनुपर्छ'

कान्तिपुर टेलिभिजनको 'बजेट बहस'मा चिकित्सक डा. विशाल ढकाल, काठमाडौं विश्वविद्यालयका प्राध्यापक बालचन्द्र लुइलेट, अन्तराष्ट्रिय शिक्षा प्रदायक संस्था आइप्यानका अध्यक्ष लक्ष्मण केसी र ह्यम्मस अस्पतालका अध्यक्ष आरएस भण्डारी सहभागी थिए ।

जेष्ठ १०, २०८३

कान्तिपुर संवाददाता

'The trend of going abroad for studies and treatment must end'

What you should know

काठमाडौं — स्वास्थ्य र शिक्षा क्षेत्रका सरोकारवालाहरूले पढ्न र उपचारका लागि विदेश जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।

कान्तिपुर टेलिभिजनको 'बजेट बहस' कार्यक्रममा उनीहरूले नेपालमै गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि सरकारले लगानी बढाउनुपर्ने बताएका हुन् ।

राज्यको लगानी अपुग हुने क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरेर जानुपर्ने उनीहरूको सुझाव छ । बहसमा चिकित्सक डा. विशाल ढकाल, काठमाडौं विश्वविद्यालयका प्राध्यापक बालचन्द्र लुइलेट, अन्तराष्ट्रिय शिक्षा प्रदायक संस्था आइप्यानका अध्यक्ष लक्ष्मण केसी र ह्‌याम्मस अस्पतालका अध्यक्ष आरएस भण्डारी सहभागी थिए ।

चिकित्सक डा. विशाल ढकालले नागरिकको स्वास्थ्य सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने जनाए । ‘सुदुरपश्चिम प्रदेशका धेरै बिरामी उपचारका लागि किन भारत जान्छन् ? काठमाडौंबाट उपचारका लागि भारत जानेको संख्या किन उच्च छ ?,’ उनले थपे, ‘नागरिकले स्वास्थ्य उपचारमा किन आफ्नो सरकारलाई विश्वास गरिरहेका छैनन् ?’

सरकारी स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा नभएको र निजी क्षेत्रलाई पनि उपर्युक्त वातारण नभएका कारण बिरामीहरू विदेश जाने गरेको उनले औंल्याए । नीतिगत रुपमै सुधार गरेर निजी क्षेत्रलाई स्वास्थ्य क्षेत्रमा लगानीको वातारण बनाउनुपर्ने डा. ढकालले सुझाव दिए । ‘विदेशमा पाउने स्वास्थ्य सेवा नेपालमा नै उपलब्ध गराउन निजी अस्पतालहरू तयार छन् । त्यसका लागि सरकारले वातावरण बनाइ दिनुपर्छ,’ उनले भने ।

स्वास्थ्य क्षेत्रमा बजेटको ५ प्रतिशत मात्रै रकम विनियोजन हुने गरेको भन्दै उनले कम्तिमा १० प्रतिशत पुर्‍याउनुपर्ने सुझाव सरकारलाई दिए । ‘जेन-जी आन्दोलनपछिको सरकारसँग धेरै अपेक्षा गरेका छौं । स्वास्थ्य सेवालाई गरिबमुखी बनाउनुपर्छ,’ उनले भने, ‘राज्य, निजी क्षेत्र र अभिभावकले लगानी गरेर पढाएका विद्यार्थी र युवा विदेश जाने गरेका छन् । त्यसलाई रोक्ने नीति चाहिन्छ ।’ बजेट वृद्धिसँगै स्वास्थ्य क्षेत्रमा हुने अनियमतिता रोक्नुपर्ने उनले सुझाव दिए ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक लुइलेटले शिक्षा क्षेत्रमा पनि बजेट अपर्याप्त रहेको गुनासो गरे । कम्तिमा बजेटको २० प्रतिशत रकम विनियोजन गर्नुपर्नेमा १० प्रतिशत हाराहारी मात्र भएकाले अपूग रहेको उनको भनाइ थियो । ‘सरकारको लगानी प्रर्याप्त छैन । भएको लगानीको पनि प्रतिफल प्राप्त हुन सकेको छैन । सामुदायिक विद्यालयलाई नै सरकारले आवश्यक सञ्चालन खर्च दिन सकेको छैन,’ उनले भने । उच्चशिक्षामा पनि अध्ययन, अनुसन्धान र नवप्रवर्द्धनमा बजेट बढाउनुपर्नेमा उनले जोड दिए । लगानी अपुग भए उच्चशिक्षामा निजी क्षेत्रसँगको साझेदारीमा अघि बढ्नुपर्ने प्राध्यापक लुईटेलले सुझाव दिए ।

शिक्षा क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहको लगानी कति हुने विषय पनि निश्चित गर्नुपर्ने रहेको उनले जनाए । ‘नयाँ सरकारसँग अन्यौल र आशा दुवै छ । विश्वविद्यालयको नियुक्तिमा विगतको जस्तो नहोला भन्ने अपेक्षा छ । मेरिटको आधारमा नेतृत्व छनोट र विकास हुनुपर्छ,’ उनले भने, ‘स्वायत्तता पनि दिनुपर्छ ।’

ह्यम्मस अस्पतालका अध्यक्ष भण्डारीले बजेट बहसमा सरकारले स्वास्थ्य नीतिमा नै पुनःविचार गर्नुपर्ने धारणा राखें । ‘स्वास्थ्य सेवा लिनुपर्दा सर्वसाधारण गरिबीको रेखामुनि पुग्नु परेको छ । सरकारी अस्पताल सबै नागरिकलाई स्वास्थ्य सेवा दिन सक्षम छैनन,’ उनले थपें, ‘सरकार र निजी क्षेत्र मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्छ । राज्यसँग सहयोगी भएर मिलेर काम गर्न चाहान्छौं ।’ उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउनुपर्ने सुझाव दिए ।

अध्यक्ष भण्डारीले भने, ‘निजी क्षेत्र स्वेदशमा गुणस्तरीय शिक्षा र स्वास्थ्य दिनसक्छन् । उपचारका लागि विदेश जानुपर्ने अवस्था अन्त्य र पढ्नका लागि विदेश जाने अवस्था अन्त्य गर्न आवश्यक लगानी गर्न तयार छौं ।’ त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरि निजी क्षेत्रलाई अभिभाकत्व दिनुपर्ने उनले औंल्याए ।

अन्तराष्ट्रिय शिक्षा प्रदायक संस्था आइप्यानका अध्यक्ष केसीले शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले प्राथमिकता दिएर बजेट निर्माण गर्नुपर्ने जनाए । ‘विद्यालयदेखि उच्चशिक्षासम्म निजी क्षेत्रको लगानी बढ्दो छ । तर, सरकारको प्राथमिकता शिक्षा स्वास्थ्यमा देखिँदैन । सरकारले शिक्षामा गरेको लगानी नै अपुग छ,’ उनले भने, ‘सरकारले लगानी गर्न नसक्ने ठाउँमा निजी क्षेत्र र अभिभावकसँग सहकार्य गर्न सक्छ । त्यसका लागि हामी तयार छौं ।’

उच्चशिक्षामा झनै अभिभावकको लगानी बढ्दै गएकाले त्यसलाई न्युनीकरण गर्न सकिने उनले जनाए । ‘विदेश पढ्न जाने विद्यार्थीमा अभिभावकको लगानी बढ्दो छ । नेपालमै पढ्ने चाहने विद्यार्थीलाई सरकारले सहुलियतपूर्ण ऋण व्यवस्था गरे लगानी घटाउन सकिन्छ,’ अध्यक्ष केसीले भने ।

कान्तिपुर

Link copied successfully