आमा पक्षघातले थलिइन्, क्यान्सरले श्रीमतीको खुट्टा गुम्यो 

पहिले नै पक्षघातले थलिएकी आमाको स्याहार गरिरहेका अनिसलाई अब श्रीमतीको उपचार र हेरचाहको जिम्मेवारी पनि थपियो ।

जेष्ठ १०, २०८३

पर्वत पोर्तेल

Mother paralyzed, wife loses leg to cancer

What you should know

झापा — मेचीनगर नगरपालिका-५ घोडाजिनका ३० वर्षीय अनिस राई यतिबेला दोहोरो पीडासँग जुधिरहेका छन् । एकातिर ४८ वर्षीया आमा पवित्रा पक्षघातका कारण शरीरको दायाँ भाग अचल भएर ओछ्यानमा थलिएकी छन् भने अर्कातिर २९ वर्षीया श्रीमती विष्णुमाया  क्यान्सरका कारण दाहिने खुट्टा गुमाएपछि महिना दिनदेखि उठ्न–बस्न नसक्ने अवस्थामा छिन् । 

अनिसले बालखैमा बुवा गुमाए । बुवा बस चालक थिए । १८ वर्षअघि भएको एक सडक दुर्घटनामा उनले ज्यान गुमाए । त्यो दिन उनले गाडी कन्डक्टरलाई चलाउन दिएका थिए भने आफू भने सहचालकको सिटमा बसेका थिए । तर, सिकारु चालकले बस नियन्त्रण गुमाउँदा दुर्घटना भयो र अनिसका बुवासहित धेरै यात्रुले ज्यान गुमाए ।

आमा पवित्रा राई भने चिया बगानकी श्रमिक थिइन् । उनले करिब अढाई दशक टोकला चिया कमानका मुनासँग लुकामारी खेल्दै जीवन बिताइन् । बिहानदेखि साँझसम्म पसिना बगाएर परिवार धानेकी पवित्रालाई पाँच वर्षअघि अचानक पक्षघात भयो । त्यसयता उनी ओछ्यानबाट उठ्न सकेकी छैनन् । ‘जसोतसो आमाको ज्यानचाहिँ बच्यो तर एकपाटो चल्दैन, बोली बुझिँदैन,’ अनिस दुःख कहन्छन् । 

बुवाको दुर्घटनापछि परिवारको जिम्मेवारी पवित्राको काँधमा आइपर्‍यो । चार जना सन्तान हुर्काउन उनलाई हम्मे भयो । चिया बगानबाट आउने थोरै ज्यालाका घरमा उनले परिवारको गर्जो टार्थिन् । 

पछि माइला छोरा अनिसले पनि ज्यालादारी मजदुरका रूपमा बगानमा काम गर्न थाले । त्यसपछि पवित्राले राहतको थोरै सास फेरिन् । त्यही बेला उनी पक्षघातको आक्रमणबाट थला परिन् । 

Mother paralyzed, wife loses leg to cancer

करिब दुई वर्ष काम गर्दै परिवार धानिरहेका बेला अनिसलाई अर्को विपत्ति आइपर्‍यो । श्रीमती विष्णुमाया अचानक बिरामी परिन् । पहिले नै पक्षघातले थलिएकी आमाको स्याहार गरिरहेका अनिसलाई अब श्रीमतीको उपचार र हेरचाहको जिम्मेवारी पनि थपियो ।

‘श्रीमती बिरामी भएको डेढ वर्ष भयो, त्यसयता काम छाड्नुपर्‍यो,’ अनिस भन्छन्, ‘उपचारका लागि अस्पताल कुद्दाकुद्दै दिन बित्यो । नियमित काम गर्नै नसक्ने अवस्था भयो ।’ 

करिब तीन वर्षअघि आँगनमा चिप्लिँदा विष्णुमायाको दाहिने घुँडा ढुंगामा ठोक्किएको थियो । सुरूमा सामान्य चोट जस्तो देखिएको त्यो घाउकै कारण उनको स्वास्थ्य समस्या जटिल वन्दै गयो ।  समयसँगै ठोक्किएको घुँडा सुन्निँदै गयो र विस्तारै त्यही ठाउँमा ठूलो मासुको डल्लो जस्तो गाँठो पलाउन थाल्यो ।

यस बीचमा उनले धेरै पटक आयुर्वेदिक उपचार गरिन् । तर घाउ निको हुनुको साटो झनै फैलिँदै गयो र अवस्था जटिल बन्दै गयो । ‘घाउ बढ्दै जान थालेपछि डर लाग्यो,’ विष्णुमाया भन्छिन्, ‘बी एन्ड सी अस्पताल गएपछि मात्रै क्यान्सर भएको थाहा भयो ।’

बी एन्ड सीकै पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार खर्चिलो हुने भएपछि उनीहरू चितवनको भरतपुरस्थित क्यान्सर अस्पताल पुगे । त्यसबेला उनीहरूसँग गाडी भाडासमेत थिएन । छिमेकीसँग ऋण लिएर अनिसले विष्णुमायालाई भरतपुर पुर्‍याए । त्यहीँ अस्पतालले क्यान्सर पुष्टि गर्‍यो । दोस्रो चरणको क्यान्सर भएकाले उपचार सम्भव भए पनि पाँच पटकसम्म किमोथेरापी गर्नुपर्ने चिकित्सकहरूले बताए । त्यसपछि उनीहरूले किमोथेरापीका लागि पाँच पटकसम्म झापा-भरतपुर धाए । 

‘किमो चढाउने पैसा नभएर चन्दा उठाउनुपरेको थियो,’ अनिस सम्झिन्छन्, ‘त्यही चन्दाबाटै रकम जुटाएर किमो गरियो ।’ 

पाँच पटक किमोथेरापी गरिसक्दा पनि क्यान्सर निको भएन, बरु शरीरभरि फैलिन थाल्यो । अवस्था झन् जटिल बन्दै गएपछि चिकित्सकहरूको सल्लाहमा करिब एक महिनाअघि विष्णुमायाको दाहिने खुट्टा शल्यक्रियामार्फत काटियो ।

उनका पाँच वर्षीय छोरा छन् । बिरामी भएपछि उनले छोरालाई कन्यामस्थित माइतीघरमा पठाएकी छन् । पढाइमा असर नपरोस् र राम्रो स्याहार पाओस् भन्ने उद्देश्यले उनले छोरालाई त्यहाँ पठाएको बताउँछिन् ।

खुट्टा काटिएपछि अहिले उनी घरमै थलिएकी छन् । घाउ क्रमशः निको हुँदै गएको भए पनि पर्याप्त पौष्टिक आहारको अभावले उनको स्वास्थ्य सुधारमा बाधा पुगेको छ । औषधि खाने पैसासमेत उनीहरूसँग छैन । उपचारमा हालसम्म करिब अढाईदेखि तीन लाख रुपैयाँ खर्च भइसकेको छ । तर, अहिले घरमै दैनिक छाक टार्न कठिन भइरहेको उनी बताउँछिन् ।

‘हामी सासू-बुहारी ओछ्यान परेका छौँ, श्रीमान‌्को पनि काम छैन, आम्दानी छैन,’ विष्णुमाया भन्छिन्, ‘एक छाक खान पनि मुस्किल भइरहेको छ ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully