सार्वजनिक यातायातमा यात्रुको सामान हराउने, साटिने तथा चोरी रोक्न काठमाडौं ट्राफिक प्रहरी र यातायात व्यवसायीले नयाँ लगेज ट्याग सिस्टम लागू गर्ने निर्णय गरेका छन्।
What you should know
काठमाडौँ — काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा लगेज ट्याग प्रणाली लागू हुने भएको छ ।
सार्वजनिक यात्रुवाहक सेवामा यात्रुहरूको झोला वा लगेज (झिटीगुन्टा) हराउने, साटिने वा चोरीका घटना सार्वजनिक भइरहेका हुन्छन् । त्यसैले यात्रुहरूको सामानको सुरक्षा सुनिश्चित गर्न र सेवालाई विश्वसनीय बनाउन उक्त प्रणाली लागू गर्न लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच भएको छलफल र सम्झौता पछिगत शुक्रबार उक्त व्यवस्था लागू गर्ने निर्णय गरिएको हो ।
सम्झौताअनुसार सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रुहरूको ब्याग तथा लगेज राख्दा अनिवार्य रूपमा दुई प्रति (डुप्लिकेट) लगेज ट्याग जारी गरिने ।
एउटा ट्याग सामानमा टाँस्ने र अर्को ट्याग यात्रुलाई दिइन्छ । विमानमा जस्तै गन्तव्यमा पुगेपछि यात्रुसँग भएको ट्याग र सामानको ट्याग दाँजेर मात्र लगेज फिर्ता गरिन्छ ।
यात्रुहरूको सामान सुरक्षित बनाउने, लगेज पहिचानलाई व्यवस्थित गर्ने, सामान हराउने वा साटिने समस्यालाई न्यूनीकरण गर्ने तथा सार्वजनिक यातायात सेवामा प्रविधिमैत्री व्यवस्थापन लागू गर्ने उद्देश्यले लगेज ट्याग सिस्टम लागू गर्न लागेको प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जनाएका छन् ।
‘हवाईजहाजमा झोलाहरू लैजाँदा ट्याग दिएजस्तै अब बसमा पनि यात्रीहरूको झोला सुरक्षित राख्न र हराएमा सजिलै पहिचान गर्न ट्याग प्रणाली सुरू गर्न लागिएको हो,’ उनले भने,‘यसले धेरै यात्रीहरूको झोला उस्तै प्रकृतिको हुने भएकाले झोला साटिने समस्यालाई यसले समाधानसमेत गर्ने छ ।’
सुरक्षाको मामिलामा समेत ट्याग सिस्टमलले ठूलो भूमिका खेल्ने अधिकारीले बताए । ‘यो प्रणालीले गैरकानुनी सामानको ओसारपोसार रोक्न मद्दत गर्नेछ । पहिले झोलामा अवैध सामान प्रहरीले चेक गरेर निकाल्दा समेत कसको हो भनेर पत्ता लगाउन गाह्रो हुन्थ्थो,’ उनले भने,‘यसले चालक वा सहचालक समस्यामा पर्ने अवस्था थियो । अब ट्याग भएपछि सामान कसको हो भन्ने स्पष्ट पहिचान हुने भएकाले चालक र सहचालकहरू पनि सुरक्षित हुनेछन् र कसले ल्याएको सामान हो भन्ने सजिलै पहिचान समेत हुन्छ ।’
यो प्रणाली जेठ १५ गतेदेखि लागू गर्ने योजना बनाइएको र त्यसको लागि काउन्टरका कर्मचारीहरूसँग बैठक बस्न बाँकी रहेको अधिकारीले जानकारी दिए ।
ट्याग टाँसिएको सामान व्यवसायी पक्षको लापर्बाहीका कारण हराएमा वा क्षति भएमा प्रचलित कानुन तथा आपसी सहमतिअनुसार यात्रुलाई उचित क्षतिपूर्ति उपलब्ध गराइने छ । साथै, यात्रुको आधिकारिक पहिचान र सामानको पूर्ण विवरण पुष्टि नभएसम्म ट्याग हराएको अवस्थामा सामान जिम्मा नलगाइने व्यवस्था गरिएको छ ।
दुवै पक्षबीच भएको यो सम्झौता हस्ताक्षर भएको मितिबाट लागू हुने र प्रारम्भिक रूपमा १० वर्षसम्म कायम रहने जनाइएको छ । आवश्यकताअनुसार दुवै पक्षको लिखित सहमतिमा सम्झौतामा संशोधन गर्न सकिने तथा ३० दिनअघि लिखित सूचना दिएर सम्झौता समाप्त गर्न सकिने व्यवस्थासमेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।
