यस साझेदारीमार्फत् अब नेपाली यात्रुहरूले विश्वभरका होटलहरू सिधै नेपाली मुद्रामा बुक गर्न सक्ने भएका छन्।
What you should know
ललितपुर — नेपालको सबैभन्दा धेरै डाउनलोड गरिएको ट्राभल एप ट्रिप टर्बोले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म अगोडासँग शुक्रबार ललितपुरमा रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ।
यस साझेदारीमार्फत् अब नेपाली यात्रुहरूले विश्वभरका होटलहरू सिधै नेपाली मुद्रामा बुक गर्न सक्ने भएका छन्।
यस सहकार्यले नेपालको डिजिटल ट्राभल क्षेत्रमा नयाँ कोसेढुंगा थप्ने अपेक्षा गरिएको छ। अब ट्रिप टर्बो प्रयोगकर्ताहरूले एउटै स्थानीय तथा विश्वासिलो प्लेटफर्मबाट विश्वभरका होटलहरू खोज्न, तुलना गर्न र बुक गर्न सक्नेछन्।
साझेदारीअन्तर्गत ट्रिप टर्बो प्रयोगकर्ताहरूले अगोडाको विशाल अन्तर्राष्ट्रिय होटल नेटवर्कमा पहुँच पाउनेछन्, जसमा विश्वभरका लाखौं होटल तथा आवास सुविधा समावेश छन्। कम्पनीका अनुसार यो प्रणाली नेपाली यात्रुहरूको आवश्यकता ध्यानमा राखेर तयार गरिएको हो, जसले अगोडाको विश्वव्यापी पहुँच र ट्रिप टर्बोको स्थानीय बजार बुझाइलाई एकसाथ जोडेको छ।
हालका वर्षहरूमा नेपाली उपभोक्तामाझ अन्तर्राष्ट्रिय यात्राको माग बढ्दै गएको अवस्थामा यो सहकार्यलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। ट्रिप टर्बोले आफ्नो 'यात्रालाई सरल बनाउने' लक्ष्यअनुसार अब घरेलु तथा अन्तर्राष्ट्रिय यात्रा सेवाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउने जनाएको छ। यसले विभिन्न एप वा वेबसाइटबीच स्विच गर्नुपर्ने झन्झट कम गर्नुका साथै प्रतिस्पर्धात्मक दरमा सेवा उपलब्ध गराउने विश्वास गरिएको छ।
सन् २०२१ मा स्थापना भएको ट्रिप टर्बोले सेप्टेम्बर २०२४ मा आफ्नो मोबाइल एप सार्वजनिक गरेको थियो। हाल यो एप एन्ड्रोइड, आओएस तथा वेब प्लेटफर्ममा उपलब्ध छ। कम्पनीले घरेलु तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अन्तर्राष्ट्रिय होटल बुकिङ, बस टिकट, २०० भन्दा बढी गतिविधि तथा विभिन्न आवास सेवा प्रदान गर्दै आएको छ।
कम्पनीका अनुसार सार्वजनिक भएको पाँच महिनामै ट्रिप टर्बो एपले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड हासिल गरेको थियो भने अहिले एन्ड्रोइड र आओएस दुवैमा गरी ५ लाखभन्दा बढी डाउनलोड पुगिसकेको छ।
सिंगापुर मुख्यालय रहेको अगोडा डिजिटल ट्राभल प्लेटफर्म हो। अगोडाले विश्वभर ६० लाखभन्दा बढी होटल तथा होलिडे प्रोपर्टी, उडान तथा अन्य यात्रा सेवाहरूमा पहुँच प्रदान गर्दै आएको छ।
कम्पनीले ३९ भाषामा सेवा उपलब्ध गराउँदै आएको छ र यसको ग्राहक सहायता सेवा २४/७ सञ्चालनमा छ।
