सगरमाथामा जेठ ८ सम्म गाइडसहित ७ सय ८३ जनाले गरे आरोहण

यसपटक सबैभन्दा धेरै बुधबार २७४ जनाले सगरमाथाको शिखर चुमेका छन्, सन् २०१९ को मे २२ मा नेपाली मोहोडाबाट २२३ जनाले शिखर चुमेको पुरानो रेकर्ड थियो ।

जेष्ठ ९, २०८३

सुरज कुँवर

783 people including guides climbed Mount Everest by Jestha 20

What you should know

काठमाडौँ — यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण सिजनमा गाइडसहित शुक्रबारसम्म ७८३ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण गतिविधि वैशाख ३१ गतेदेखि सुरु भएको थियो । वसन्तकालीन आरोहण जेठ १५ सम्म सञ्चालन हुनेछ ।

पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषि भण्डारीका अनुसार यस अवधिमा सबैभन्दा धेरै आरोहण बुधबार भएको थियो । 

उक्त दिन मात्रै आरोहण दलका सदस्य र तिनका गाइडसहित २ सय ७४ जनाले सफलतापूर्वक सगरमाथाको शिखर चुमेका थिए ।  

त्यसपछि बिहीबार १ सय ८७ जना र शुक्रबार १ सय जनाले शिखर पुगेको स‌ंघले जनाएको छ । 

यस वर्षको आरोहण सिजनले विभिन्न नयाँ कीर्तिमानसमेत बनाएको छ । पर्यटन विभागले सगरमाथाका लागि मात्रै ४९५ जनालाई आरोहण अनुमति जारी गरेको थियो । विभागले आरोहणमा जाने आरोहण दलका सदस्यसँग जाने सहयोगी शेर्पालाई सलामी दस्तुर नलिई अनुमति जारी गर्छ । यसपटक जारी आरोहण अनुमति हालसम्मकै उच्च हो । सगरमाथामा पहिलो सफल आरोहण सन् १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले गरेका थिए । 

विभागले २०२६ मार्च १ देखि वसन्तकालीन आरोहण अनुमति खुला गरेको थियो । मे २१ सम्म ३० वटा हिमालका लागि कुल १ हजार १ सय ५७ जना आरोहीलाई अनुमति जारी गरिएको विभागले जनाएको छ । यसबाट सरकारले १ अर्ब २४ करोड रुपैयाँभन्दा बढी रोयल्टी राजस्व संकलन गरेको छ । जसमध्ये सगरमाथाबाट मात्रै १ अर्ब ७ करोड रुपैयाँ राजस्व प्राप्त भएको विभागको तथ्यांकमा उल्लेख छ । 

यसपटक सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । तीमध्ये ५ जनाको सगरमाथामा तथा २ जनाको मकालु हिमालमा मृत्यु भएको हो ।  मृत्यु हुनेमा ३ नेपाली र ४ विदेशी नागरिक रहेका छन् । विदेशीमध्ये २ भारतीय, १ चेक रिपब्लिकका नागरिक र १ अमेरिकी रहेका छन् ।

783 people including guides climbed Mount Everest by Jestha 20

यसैबीच, सगरमाथामा सर्वाधिक ३२औं पटक आरोहण गरेर नयाँ कीर्तिमान बनाएका कामीरिता शेर्पा शुक्रबार काठमाडौं फर्किसकेका छन् । त्यस्तै, महिलातर्फ सर्वाधिक ११औं पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पा शनिबार काठमाडौं आइपुगेकी छन् । उनलाई नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पासहित पदाधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

त्यसैगरी, यस वर्ष छैटौं पटक सगरमाथा आरोहण गरेकी फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठ पनि शनिबार काठमाडौं फर्किएकी छन् । 

उनलाई नेपाल पर्वतारोहण संघ तथा उनी आबद्ध सातोरी एड्भेन्चर्सका सञ्चालक एवं पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषि भण्डारीले आन्तरिक विमानस्थलमा स्वागत गरेका थिए ।

यस वर्ष सगरमाथाको दक्षिणी मोहोडाबाट भएको आरोहणले नयाँ इतिहाससमेत बनाएको छ । सन् २०१९ को मे २२ मा नेपाली मोहोडाबाट २ सय २३ जनाले शिखर चुमेको पुरानो रेकर्ड यस वर्ष तोडिएको हो । त्यसबेला तिब्बती मोहोडाबाट १ सय ३१ जना आरोही शिखर पुगेका थिए ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully