रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

कास्की जिल्ला अदालतको आदेशसँगै अब रास्वपा सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध सहकारी ठगीको अभियोग दाबी मात्र यथावत् रहनेछ भने संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको दाबी हट्ने भएको छ ।

जेष्ठ ८, २०८३

दीपक परियार

Ravi Lamichhane's organized crime and money laundering cases withdrawn

What you should know

काठमाडौँ — कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुख्य, थप र पूरक अभियोगपत्रहरू संशोधन गर्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार दुवै पक्षको बहस सुनेपछि सरकारी वकिल कार्यालयको मागबमोजिम अभियोगपत्र परिमार्जन गर्ने आदेश दिएको हो । 

अदालतको यो आदेशसँगै अब रास्वपा सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध सहकारी ठगीको अभियोग दाबी मात्र यथावत् रहनेछ भने संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको दाबी हट्ने भएको छ ।

यसअघि, गितेन्द्रबाबु (जीबी) राई र छबिलाल जोशी लगायतलाई प्रतिवादी बनाई दायर गरिएका तीनवटा छुट्टाछुट्टै मुद्दाहरूमा अभियोगपत्र संशोधनका लागि दुईवटा निवेदन दर्ता भएका थिए । महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोगपत्र संशोधनको माग गर्दै अदालतमा निवेदन दिएको थियो ।

उक्त निवेदनमाथि वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता रुद्रप्रसाद पन्थी, उपन्यायाधिवक्ता स्वतन्त्र न्यौपाने र जिल्ला सरकारी वकिल कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्ले सहित सहायक जिल्ला न्यायाधिवक्ताद्वय सुजाता पौडेल र दीपक अर्यालले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रोहितराज बास्तोला तथा अधिवक्ताद्वय प्रिती पाण्डे र रमेश गिरीले बहस गरेका थिए ।

अदालतले आदेशमा मुद्दाको मुख्य विषयवस्तु पीडित जाहेरवालाहरूको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु रहेको उल्लेख गरेको छ । सुरुमा अभियोगपत्र दायर गर्दा संशोधनको माग गरिएको विषयमा दाबी नपुगेको र जाहेरवालाहरूको समेत त्यसतर्फ मागदाबी नरहेको अवस्थामा संशोधन नगर्दा जाहेरवाला र प्रतिवादीहरूबीच मिलापत्र हुने तथा जाहेरवालाले आफ्नो बिगो रकम सहज रूपमा फिर्ता पाउने प्रक्रिया थप जटिल बन्न जाने ठहर इजलासले गरेको छ ।

कानुनले तोकेको कार्यविधि न्याय प्राप्तिको प्रक्रियागत आधार मात्रै भएको र यसले न्यायको मूल मर्मलाई पराजित गर्न नसक्ने भन्दै अदालतले अभियोजनकर्ताको संशोधनको मागमा कुनै दुराशय नदेखिएको स्पष्ट पारेको छ ।

यसअघि उक्त मुद्दामा प्रतिवादी रवि लामिछानेको हकमा मात्र संशोधन गर्ने निर्णय भएकोमा त्यसलाई त्रुटिपूर्ण मान्दै अदालतले अन्य प्रतिवादीहरूको हकमा समेत सोहीबमोजिम त्रुटि सच्याउने प्रक्रिया अगाडि बढाउन स्वीकृत दिएको हो । अदालतले यो संशोधन आदेशलाई प्रस्तुत मुद्दासँग सम्बन्धित मूल, थप र पूरक अभियोगपत्रहरूको अभिन्न अंग मानी मिसिल संलग्न राखी नियमानुसार गर्न आदेश दिएको छ ।

कास्की जिल्ला अदालतका रजिस्ट्रार राजन खनालले अदालतको आदेशसँगै मुद्दाको कानुनी प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । 'सरकारी वकिल कार्यालयले माग गरेबमोजिम सहकारी ठगीको अभियोग दाबी मात्र कायम राखी अन्य संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हट्ने गरी अभियोगपत्र संशोधन गर्न श्रीमान्‌बाट आदेश भएको छ,' रजिस्ट्रार खनालले भने, 'अदालतको यो आदेशपछि अब परिमार्जित अभियोगपत्रका आधारमा मुद्दाको बाँकी कानुनी कारबाही अगाडि बढ्नेछ ।'

Ravi Lamichhane's organized crime and money laundering cases withdrawn

Ravi Lamichhane's organized crime and money laundering cases withdrawn

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully