परराष्ट्रमन्त्री खनालको भारत भ्रमण स्थगित

भारतीय सरकारको निमन्त्रणामा मन्त्री खनाल १८ जेठमा नयाँदिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स (आईबीसीए) शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो ।

जेष्ठ ८, २०८३

अनिल गिरी

Foreign Minister Khanal's visit to India postponed

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ । भारतीय सरकारको निमन्त्रणामा मन्त्री खनाल १८ जेठमा नयाँदिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स (आईबीसीए) शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो । तर भारत सरकारले उक्त सम्मेलन नै स्थगित गरेपछि मन्त्री खनालको भ्रमण पनि रोकिएको हो ।

हालका महिनामा नेपाल–भारत सम्बन्धमा देखिएको उतारचढावबीच यो भ्रमणलाई प्रमुख द्विपक्षीय मुद्दामाथि भारतीय नेतृत्वसँग छलफल गर्ने अवसरका रूपमा हेरिएको थियो । खनालले गत २७ चैतमा मौरिससमा भारतीय समकक्षी एस जयशंकरसँग भेट गरेका थिए । नेपालमा रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वमा शक्तिशाली सरकार गठन भएपछि बदलिएको राजनीतिक परिवेशमा द्विपक्षीय सम्बन्धलाई प्राथमिकतामा राख्ने विषयमा उनीहरूबीच छलफल भएको थियो ।

विभिन्न अफ्रिकी मुलुकका प्रतिनिधिहरू सहभागी हुने आईबीसीए सम्मेलनलाई हाल भारत सरकारले स्थगित गरेको हो । अफ्रिकाका केही क्षेत्रमा अहिले इबोला प्रकोप देखिएको छ । यद्यपि भारतले यो सम्मेलन स्थगित हुनुको औपचारिक कारणमा इबोला प्रकोपलाई उल्लेख गरेको छैन ।

भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘चौथो भारत–अफ्रिका फोरम शिखर सम्मेलन (आईएएफएस–४) सँगै यो कार्यक्रम आयोजना गरिँदै थियो । अफ्रिकी संघका अध्यक्ष र अफ्रिकी संघ आयोगसँगको परामर्शपछि आईएएफएस–४ पछि गर्ने निर्णय भएकाले सबै सदस्य राष्ट्रको व्यापक सहभागिता सुनिश्चित गर्न आईबीसीए शिखर सम्मेलन पनि पछि सारिएको हो ।’ वक्तव्यमा सहभागी देश तथा सरोकारवालासँग परामर्श गरेर सम्मेलनको नयाँ मिति घोषणा गरिने उल्लेख छ ।

खनालको भ्रमण तयारीबारे जानकार अधिकारीहरूका अनुसार नेपाली पक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयललगायतसँग भेटका लागि अनुरोध गरेको थियो । शिखर सम्मेलनमा सहभागी हुने विभिन्न राष्ट्र प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरूसँग पनि भेटका लागि प्रयास भइरहेको थियो । ‘भ्रमण भएको भए यो मौरिसस बैठकको निरन्तरता हुने थियो,’ एक अधिकारीले भने, ‘तर तत्काल त्यो सम्भव भएन ।’

मौरिससमा भएको भेटमा खनाल र जयंशकरले द्विपक्षीय संयन्त्र सक्रिय बनाएर सम्बन्धलाई प्राथमिकतामा राख्ने सहमति गरेका थिए । जयशंकरले भारतीय विदेश सचिव विक्रम मिस्रीलाई काठमाडौं पठाउने तयारी भइरहेको जानकारी दिएका थिए । भ्रमणको मितिसमेत आदानप्रदान भइसकेको थियो भने काठमाडौं तथा नयाँदिल्लीमा तयारी तीव्र रूपमा चलिरहेको थियो । तर नेपालले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएर आफ्नो भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने निर्णयप्रति असन्तुष्टि जनाएपछि मिस्रीको नेपाल भ्रमण स्थगित भएको थियो ।

यद्यपि काठमाडौं र नयाँदिल्लीबीच विभिन्न तहमा अनौपचारिक संवाद र सम्पर्क जारी रहेको नेपाल तथा भारतस्थित नेपाली अधिकारीहरूले बताएका छन् । भ्रमण भएको भए खनालले जयशंकरलाई नेपाल भ्रमणको निमन्त्रणा दिने तयारी गरेका थिए । जानकार स्रोतहरूका अनुसार जनकपुर–अयोध्या रेलमार्ग निर्माण, भारतीय सहयोगमा पूर्व–पश्चिम रेलमार्ग निर्माण, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि थप हवाई प्रवेशमार्ग मागलगायत विषय एजेन्डामा थिए ।

गोयलसँगको भेटमा पेट्रोलियम पाइपलाइन विस्तार, नेपालतर्फ चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध हटाउने विषय र सहमति भए पनि अझै कार्यान्वयनमा नआएको सीमापार क्यूआर भुक्तानी प्रणालीबारे छलफल हुने अपेक्षा गरिएको थियो ।

मन्त्री खनालको भ्रमण स्थगित हुँदा द्विपक्षीय संवादको एउटा महत्त्वपूर्ण अवसर गुमेको पूर्वराजदूत विजयकान्त कर्णको टिप्पणी छ । ‘नेपालमा रास्वपाको चुनावी विजयपछि भारतीय पक्षमा देखिएको प्रारम्भिक उत्साह बिस्तारै कम हुँदै गएको देखिन्छ । तर कतिपयले भनेजस्तो सम्बन्ध अत्यन्त खराब भइसकेको छैन,’ उनले भने, ‘द्विपक्षीय सम्बन्धमा देखिएका भ्रम हटाउन र विद्यमान असहजता अन्त्य गर्न दुई प्रधानमन्त्रीबीच प्रत्यक्ष संवाद आवश्यक छ । त्यस्तो भेटबिना सम्बन्धमा कुनै ठूलो प्रगति हुने म देख्दिनँ ।’

यसका लागि प्रधानमन्त्री शाहले पहल गर्नुपर्ने कर्णको भनाइ छ । ‘अब बल प्रधानमन्त्री शाहको कोर्टमा छ । उनले आफैं पहल गर्नुपर्छ, सधैं परराष्ट्र वा अर्थमन्त्रीमार्फत मात्र सम्बन्ध व्यवस्थापन गर्न खोज्नु हुँदैन,’ उनले भने ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully