रातभर तास खेल्ने वा मापसे गर्ने चालकका कारण दुर्घटना बढेका छन् : अध्यक्ष सिटौला

सवारी जाँचपास र रुट पर्मिट नवीकरण गर्दा जीपीएस प्रणालीलाई अनिवार्य गर्न सरकार र ट्राफिक प्रहरीलाई उनले आग्रह गरेका छन् ।

जेष्ठ ८, २०८३

कान्तिपुर संवाददाता

Accidents have increased due to drivers playing cards or drinking all night: Chairman Sitaula

काठमाडौँ — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग र व्यावसायिक अनुशासन अबको अनिवार्य आवश्यकता भएको बताएका छन् ।

सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई आधुनिक र मर्यादित बनाउन व्यवसायीहरू पछाडि फर्कने अवस्था नरहेको स्पष्ट पारे । अध्यक्ष सिटौलाले सवारी साधनमा जीपीएस प्रणाली, अनलाइन टिकेटिङ र क्यासलेस भुक्तानी प्रणाली तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

दुर्घटनाको समयमा यथार्थ विवरण पत्ता लगाउन र सडकमा हुने विवाद अन्त्य गर्न पनि प्रविधि आवश्यक रहेको उनको तर्क थियो। उनले सवारी जाँचपास र रुट पर्मिट नवीकरण गर्दा जीपीएस प्रणालीलाई अनिवार्य गर्न सरकार र ट्राफिक प्रहरीलाई आग्रहसमेत गरे ।

सडकमा जथाभाबी पार्किङ गर्ने र यात्रु चढाउने प्रवृत्तिले सडक व्यवस्थापनमा चुनौती थपेको भन्दै उनले देशभरका सवारी साधन अनिवार्य रूपमा तोकिएका बसपार्कबाटै सञ्चालन हुनुपर्ने बताए । राजमार्गमा सञ्चालित होटलले यात्रुलाई अस्वस्थकर खाना खुवाउने र चर्को शुल्क लिने गरेकोप्रति उनले आपत्ति जनाए । 

‘हामी करोडौँका गाडी खरिद गर्छौँ भने सुरक्षा र पारदर्शिताका लागि जीपीएस र डिजिटल प्रणाली राख्न कञ्जुस्याइँ गर्नु हुँदैन । यात्रुले पनि अलिकति हिँडेर बसपार्क पुग्ने बानी बसाल्नुपर्छ र सवारीसाधनले पनि सडकमा यात्रु कुरेर बस्ने अवस्थाको अन्त्य हुनुपर्छ,' उनले भने, 'रातभर तास खेल्ने वा मापसे गर्ने अनि बिहानै यात्रु लिएर हिँड्ने चालकका कारण दुर्घटना बढेका छन् । यस्ता चालकलाई कारबाहीका लागि सिफारिस गरिनेछ ।’

सिटौलाले मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकहरूलाई महासंघले कुनै पनि हालतमा संरक्षण नगर्ने स्पष्ट पारे ।

कान्तिपुर

Link copied successfully