श्रीकृष्ण विक वैशाख ७ गते खुर्कोटस्थित प्रहरी हिरासतभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए । पीडित परिवार र दलित अधिकारकर्मी यसलाई केवल ‘आत्महत्या’ भनेर टुंग्याउन नमिल्ने बताइरहेका छन् ।
What you should know
काठमाडौँ — त्रिवि शिक्षण अस्पतालको शवगृहमा २३ वर्षीय श्रीकृष्ण विकको शव एक महिनादेखि राखिएको छ । बाहिर माइतीघर मण्डलको सडकमा उनकी आमा बिन्दामाया न्यायको माग गर्दै दिनहुँ धर्नामा बसिरहेकी छन् ।
प्रहरी हिरासतमै छोराको मृत्यु भएपछि उनले शव बुझ्न अस्वीकार गरेकी छन् । ‘निष्पक्ष छानबिन, दोषीलाई कारबाही र न्यायको सुनिश्चितता नभएसम्म शव बुझ्दिनँ,’ उनी भन्छिन् ।
भागी विवाह गरेपछि केटी पक्षको उजुरीका आधारमा पक्राउ परेका श्रीकृष्ण वैशाख ७ गते सिन्धुलीको खुर्कोटस्थित प्रहरी हिरासतभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए । तर परिवार र दलित अधिकारकर्मीहरू यसलाई केवल ‘आत्महत्या’ भनेर टुंग्याउन नमिल्ने बताइरहेका छन् ।
मृत्युको निष्पक्ष छानबिन हुनुपर्ने, क्षतिपूर्ति दिइनुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने लगायत माग पीडित परिवारको छ । 'श्रीमान् पनि बित्नुभयो, अब कमाएर पाल्ने र खुवाउने छोरो मारिहाल्यो । कसको सहारा छ र अब ?' बिन्दामाया भन्छिन् ।
विक परिवारको स्थायी घर सिन्धुली सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा हो । पाँच सन्तानमध्ये श्रीकृष्ण बिन्दामायाका माइला छोरा हुन् । ललितपुरमा बस्दै आएका श्रीकृष्ण सोही क्षेत्रमा बस्ने एक युवतीसँग प्रेम सम्बन्धमा थिए । तीन वर्षको सम्बन्धपछि उनीहरूले राजीखुसी भागी विवाह गरेर सिन्धुली घर पुगेको आमा बिन्दामायाको भनाइ छ ।
सुरुमा चैत ३० गते युवतीका दाजुले बहिनी हराएको भन्दै ललितपुरस्थित सातदोबाटो प्रहरी वृत्तमा निवेदन दिएका थिए । वैशाख ३ गते प्रहरीले मिलापत्रका लागि दुवै परिवारलाई बोलायो । तर, युवती १६ वर्ष मात्रै भएको भन्दै केटीका परिवारले बालविवाहको मुद्दा लगाउने भन्दै बलात्कारको उजुरी दिए ।
वैशाख ४ गते बिहानै श्रीकृष्णलाई सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालय पुर्याइयो । मृतकका परिवार भने आफूहरूलाई यो जानकारी नै नदिइएको बताउँछ । तर, सातदोबाटो प्रहरी प्रमुख डीएसपी पूर्णिमा चन्द ललितपुर तथा सिन्धुली प्रहरीसँगको समन्वयमा श्रीकृष्णलाई खुर्कोट पठाइएको बारे परिवारलाई जानकारी भएको दाबी गर्छिन् ।
'सातदोबाटो प्रहरीले राजीखुसी भएर घरमा गएको मान्छेलाई जबरजस्ती करणी भनेर मुद्दा दर्ता गराउनु नै गल्ती छ, खुर्कोटका प्रहरी, सिडियो सबैको गल्ती छ,' आमा बिन्दामाया भन्छिन्, 'गल्ती गर्ने कसैलाई बचाउनु पर्दैन, चाहे म होस् चाहे अरु ? दोषीलाई कडाभन्दा कडा कारबाही हुनैपर्छ ।'
मृतककी दिदी निर्मला विश्वकर्मा सातदोबाटो प्रहरी कार्यालयमा प्रहरीले भोलिपल्ट १० बजे बोलाए पनि बिहान ८ बजे नै भाइलाई खुर्कोट लगिसकेको बताउँछिन् । 'हामीलाई थाहा थिएन । सातदोबाटो प्रहरीमा गएर कुरेर बस्यौं तर हामीलाई केही जानकारी दिनुभएन,' उनले भनिन्, 'दिउँसो ३ बजे मात्रै भाइलाई खुर्कोट चौकी लगिसक्यो भन्नुभयो ।'
श्रीकृष्णलाई सातदोबाटोमै राखेर किन अनुसन्धान गरिएन ? डीएसपी चन्द पछिल्लो घटनास्थलका आधारमा मिसिलसहित खुर्कोट पठाइएको बताउँछिन् । खुर्कोटमा श्रीकृष्णलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थप लिइएको थियो । तर, अनुसन्धानकै क्रममा हिरासतभित्रै उनको ज्यान गयो ।
सिन्धुली प्रहरीका प्रवक्ता सूर्यप्रकाश सुवेदीले हिरासतको शौचालयमा श्रीकृष्ण झुन्डिएको अवस्थामा फेला परेको बताए । तर, पीडित पक्षले भने हिरासतभित्रको वास्तविकता पत्ता लगाउने सीसीटीभी फुटेज प्रहरीले नदेखाएकामा संशय व्यक्त गरिरहेको छ ।
मृतककी आमा बिन्दामायाका अनुसार घटना भइसकेपछि पनि प्रहरीले सीसीटीभी फुटेज सिन्धुलीमा गएर देखाउँछौं भनेका थिए । तर सीसीटीभी फुटेज पनि नभएको प्रहरी र प्रमुख जिल्ला अधिकारीले जानकारी गराएको बिन्दामायाको भनाइ छ । सबै मिलेर शव बुझ्न पनि दबाब दिएको उनले बताइन् ।
प्रहरीले भने ‘प्राविधिक कारण’ देखाउँदै फुटेज उपलब्ध नभएको बताएको छ । यता राष्ट्रिय दलित आयोगले पनि घटनाको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ ।
त्यसो त प्रहरी हाताभित्रै ज्यान गुमाउने श्रीकृष्ण मात्र होइनन्, कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार हालसम्म ३७ जना कैदीबन्दी र थुनुवाले कारागारमा 'आत्महत्या' गरेका छन् । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा मात्रै पनि पछिल्लो १० वर्षमा २७ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
दलित अधिकारकर्मी जेबी विश्वकर्मा भने न्यायिक प्रक्रियामा राज्यले सहजीकरण नगरेको बताउँछन् । दलितहरुको न्यायप्रति सरकार संवेदनशीलन भएको उनको आरोप छ । 'न्यायिक प्रक्रियामा राज्यले सबैभन्दा बढी सहयोग गर्नुपर्ने थियो । तर यति ठूलो आन्दोलन भएपछि मात्रै राज्यको ध्यानाकर्षण हुने अवस्था देखिनु भनेको दलितहरूको न्यायप्रति राज्य अझै संवेदनशील छैन भन्ने संकेत हो,' उनले भने, 'दलितहरूमाथि हुने विभेद र अत्याचारलाई सामान्यकरण गर्ने प्रयासमा सरकारसमेत लागेको देखिन्छ। परिणामस्वरूप पीडित झन् पीडित भइरहेका छन् ।'
राज्य संरचनाले दलित समुदायलाई हेर्ने दृष्टिकोणमै परिवर्तन आवश्यक रहेको विश्वकर्मा बताउँछन् । 'विशेषगरी कानुन कार्यान्वयन गर्ने निकाय, खासगरी नेपाल प्रहरीले यस्ता विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । यस विषयमा अध्ययन, संवेदनशीलता र प्रतिबद्धता बढाउन सके यस्ता घटनाहरू केही मात्रामा कम गर्न सकिन्छ,' उनले भने ।
प्रतिवेदनले प्रहरीलाई नै ठहर्यायो गैरजिम्मेवार
अन्तरजातीय प्रेम सम्बन्धका कारण प्रहरी हिरासतमा पुगेका श्रीकृष्ण हिरासत बसाइको तेस्रो दिन मृत अवस्थामा भेटिए । परिवारले उनको मृत्युलाई आत्महत्यामा मात्र सीमित नगर्न माग गरिरहेको छ । परिवारको भनाइ छ- गैरदलित युवतीसँगको प्रेमकै कारण बालविवाह र जबरजस्ती करणीको आरोप लगाइएपछि श्रीकृष्णको ज्यान गएको हो ।
यता केटीका परिवारले पनि सुरुमा छोरी हराएको भन्दै सातदोबाटो प्रहरी वृत्तमा दिएको निवेदन पछि बालविवाह र जबरजस्ती करणीको जाहेरीमा परिवर्तन भएको थियो । दलित अधिकारकर्मीहरूले यसलाई अन्तरजातीय सम्बन्धकै परिणाम भन्दै आएका छन् ।
मृत्यु शंकास्पद भएको भन्दै परिवार, दलित अधिकारकर्मी र सत्ताधारी सांसदहरू नै सडकमा उत्रिएका थिए । संघीय सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, आशिष गजुरेललगायत जिल्ला प्रशासन कार्यालय सिन्धुलीको मूलढोकामै धर्ना बसेका थिए । चौतर्फी दबाबपछि नेपाल प्रहरीले डीआईजी दिनेश आचार्यको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको थियो ।
यही समितिले सार्वजनिक गरेको प्रतिवेदनले प्रहरीलाई गैरजिम्मेवार भएको उल्लेख गरेको हो । समितिको प्रतिवेदनमा हिरासतमा शारीरिक वा मानसिक यातना दिएको प्रमाण नभेटिए पनि ‘हिरासत व्यवस्थापन मार्गदर्शन २०८१’ को पूर्णरूपमा उल्लंघन भएको निष्कर्ष निकालिएको छ ।
प्रतिवेदनमा पोस्टमोर्टम रिपोर्ट र परिस्थितिजन्य प्रमाणका आधारमा मृत्युको कारण आत्महत्या नै देखिएको उल्लेख छ । यद्यपि थुनुवाको निगरानीका लागि डेडिकेटेड सुरक्षाकर्मी नखटाइएको, हिरासत व्यवस्थापन अधिकृत बिदामा रहँदा वैकल्पिक व्यवस्था नगरिएको र लामो समयसम्म थुनुवाको नियमित निगरानीसमेत नगरिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै सीसीटीभी फुटेज उपलब्ध नभएको विषयलाई पनि प्रतिवेदनले गम्भीर कमजोरीका रूपमा औंल्याएको छ ।
त्यसो त सीसीटीभी फुटेज नभेटिएकै कारण मृतकका आफन्तले घटनाप्रति थप शंका गरेको प्रतिवेदनमै उल्लेख छ । छानबिन समितिले इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक वसन्तबहादुर भुजेललाई विभागीय कारबाहीका लागि पनि सिफारिस गरेको छ । ड्युटीमा लापरबाही गरेको भन्दै सेन्ट्री अर्जुन सिंहमाथि पनि कारबाही सिफारिस गरिएको छ । ड्युटी अधिकृत बलबहादुर माझी, सुवेदार मेजर प्रहरी सहायक निरीक्षक दौलतविक्रम जोशी, प्रहरी सहायक निरीक्षक रामकाजी कार्की, गार्ड कमान्डर राजकुमार उप्रेती र सीसीटीभी मनिटरिङमा रहेका प्रहरी हवल्दार अरुणकुमार श्रेष्ठलाई चेतावनी दिँदै तत्काल जिम्मेवारीबाट हटाउन भनिएको छ ।
प्रतिवेदनले सातदोबाटो प्रहरी वृत्तको भूमिकामा समेत प्रश्न उठाएको छ । अन्तरजातीय प्रेम सम्बन्ध र नाबालिग जोडिएको संवेदनशील विषयलाई सोही ठाउँमा तत्काल अनुसन्धान गर्नुपर्नेमा गम्भीर रूपमा नलिई अन्यत्र पठाइएकामा ध्यानाकर्षण गराइएको छ । त्यस्तै, सिन्धुलीका जिल्ला प्रहरी प्रमुखले वर्षमा दुईपटक मात्र निरीक्षण गरेको उल्लेख गर्दै सुपरीवेक्षण प्रणाली सुधार गर्न समितिले सुझाएको छ ।
छानबिन समितिले पनि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रहरीभित्र रहेको ‘दलित सेल’लाई महिला तथा बालबालिका सेवा केन्द्रसरह साधनस्रोत सम्पन्न र विश्वसनीय बनाउन सुझाव दिएको छ । साथै हिरासत कक्षका जोखिमयुक्त संरचना सुधार गर्न, चौबिसै घण्टा सीसीटीभी निगरानी गर्न र सेन्ट्री ड्युटीको समय एकपटकमा बढीमा तीन घण्टा मात्रै तोक्न सुझाव दिइएको छ ।
