कतार एयरवेजलाई २ करोड ६१ लाख क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको आदेश

उपभोक्ता अदालतले उडानका क्रममा क्याबिन क्रूको असावधानीले तातो कफी पोखिएर घाइते भएकी प्रिति थापालाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ।

जेष्ठ ७, २०८३

दुर्गा दुलाल

Consumer court orders Qatar Airways to pay Rs 26.1 million in compensation

What you should know

काठमाडौँ — उपभोक्ता अदालतले उडानका क्रममा एक नेपाली यात्रुलाई क्याबिन क्रुको असावधानीले तातो कफी पोखिएर जलन भएको घटनामा  २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति भराउन फैसला सुनाएको छ । 

कतार एयरवेजमा यात्रा गरेकी ललितपुरकी प्रिति थापालाई तातो कफीले पोलेको घटनामा दायर मुद्दामा बिहीबार उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने फैसला सुनाएको सूचना अधिकारी होमनाथ कँडेलले जानकारी दिए । 

थापाले कुल २० लाख अमेरिकी डलर अर्थात् तत्कालीन समयको विनिमय दरअनुसार २७ करोड ४१ लाख ७७ हजार ४४८ रुपैयाँ क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

सो मुद्दामा फैसला सुनाउँदै काठमाडौंस्थित उपभोक्ता अदालतले मोन्ट्रियल महासन्धिको धारा २१ को १ को दायित्वअनुसार २ करोड ४१ लाख ९२ हजार ४०६ रुपैयाँ र उपभोक्ता संरक्षण ऐनअनुसार थप २० लाख रुपैयाँ गरी कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ गरी क्षतिपूर्ति पीडितले पाउने गरी फैसला सुनाएको हो । उपचार खर्च र मानसिक क्षतिबापत यो क्षतिपूर्ति भराउने निर्णय अदालतले गरेको हो । 

उपभोक्ता अदालतका अध्यक्ष दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले यो फैसला सुनाएको हो । 

के थियो घटना ?

थापाले सन् २०२३ मे २६ मा कतार एयरवेजबाट काठमाडौं-दोहा-बोस्टन तथा बोस्टन-दोहा-काठमाडौं रुटको दुईतर्फी हवाई टिकट खरिद गरेकी  थिइन् ।  सोही टिकटमा सन् २०२३ जुन १० मा काठमाडौंबाट दोहा हुँदै बोस्टन गइन् । करिब एक महिनापछि सन् २०२३ जुलाई १० मा बोस्टनबाट कतार एयरवेजको विमानमार्फत दोहा हुदै  २०८० असार २७ गतेका दिन काठमाडौं फर्कंदै थिइन् ।

बोस्टनस्थित एडवार्ड एल. लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेज क्युआर ७४४ विमानमार्फत यात्रा गर्ने क्रममा प्रतिवादीका चालक दलका सदस्यले अत्यधिक तातो कफी दिने क्रममा  पोखिएर थापाको पेट, तिघ्रा तथा संवेदनशील अंगहरूमा परी गम्भीर जलन भएको थियो । 

विमान अवतरण हुनासाथ थापालाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलस्थित  आकस्मिक स्वास्थ्य सेवामा प्राथमिक उपचार गराइएको थियो । त्यतिबेलै उनको जलन दोस्रो तहका रूपमा पहिचान भएको थियो । नेपाल आएपछि उनले  कीर्तिपुर अस्पतालमा पुनः उपचार गराइन् । उनले आफ्नो उपचार र क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै कतार एयरवेजलाई आग्रह गरिन् ।

तर उनले नपाएपछि यो सामान्य करारीय असुविधा वा साधारण सेवा असन्तोषको विषय नभई अन्तर्राष्ट्रिय हवाई परिवहनको क्रममा विमानभित्र यात्रुलाई भएको शारीरिक चोटपटकसँग सम्बन्धित मुद्दा भएको भन्दै उनले उपभोक्ता अदालतमा मुद्दा दायर गरिन् । अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि १९९९ अर्थात् मोन्ट्रियल महासन्धिको धारा १७, २१, ३३ र ३५ प्रत्यक्ष रूपमा लागू हुने उनको दाबी थियो ।

थापाले आन्तरिक रूपमा क्षतिपूर्तिसम्बन्धी  माग गरेको विषयमा अन्तिम पटक सन् २०२५ अप्रिल १५ अर्थात् २०८२ वैशाख २ गते क्षतिपूर्ति नदिने भनी कतार एयरवेजले जवाफ दिएको थियो । त्यसविरुद्ध थापाले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा मोन्ट्रियल महासन्धिअनुसार मुद्दा दायर गरेकी थिइन् । कतार एयरवेजले उनले कफी खानेक्रममा आफैं खसालेका क्षतिपूर्ति दिन नसकिने दाबी अदालतमा पनि गरेको थियो । उपभोक्ता अदालतको फैसलाविरुद्ध माथिल्लो अदालत जाने कतार एयरवेजको बाटो भने बाँकी नै छ ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully