यसअघि बियांकाले सन् २०२४ मा १६ वर्षको उमेरमै गोरखाको मनास्लु हिमाल आरोहण गर्दै सबैभन्दा कम उमेरकी महिला आरोहीको कीर्तिमान बनाएकी थिइन्।
What you should know
काठमाडौँ — अस्ट्रेलियाकी १८ वर्षीया बियांका जेन एडलरले बुधबार बिहान सर्वोच्च शिखर सगरमाथा को सफल आरोहण गर्दै सगरमाथा आरोहण गर्ने सबैभन्दा कम उमेरकी अस्ट्रेलियको रेकर्ड बनेकी छन्।
आरोहण व्यवस्थापक कम्पनी सेभेन समिट ट्रेक्सका अनुसार बियांकाले बुधबार बिहान अनुकूल मौसमका बीच सगरमाथाको शिखर चुमेकी हुन्। उनीसँग गाइड पेम्बा छिरिङ र ङुदु शेर्पा रहेका थिए।
कम्पनीका महाप्रवन्धक थानेश्वर गुरागाइका अनुसार, उनी सगरमाथा आधार शिविर पुगिसकेकी छन् । उनी आजै हेलिकोप्टरबाट काठमाडौं आउँदैछिन् ।
यसअघि बियांकाले सन् २०२४ मा १६ वर्षको उमेरमै गोरखाको मनास्लु हिमाल आरोहण गर्दै सबैभन्दा कम उमेरकी महिला आरोहीको कीर्तिमान बनाएकी थिइन्। उनका बुवा पॉल एडलरले सन् २००७ मा तथा आमा फियोना एडलरले सन् २००६ मा सगरमाथा आरोहण गरेका थिए।
समाचार संस्था एबीसी ले जनाएअनुसार बियांकाको यो दोस्रो प्रयास थियो। गत वर्ष शिखरभन्दा करिब ४ सय मिटर तल पुगेपछि प्रतिकूल अवस्थाका कारण उनले आरोहण स्थगित गरेकी थिइन्।
उनका पिता पाँल एडलर र आमा फियोना एडलर दुवैले यसअघि सगरमाथा आरोहण गरिसकेका छन्। पाँल एडलरले सन् २००७ मा सगरमाथा आरोहण गरेका थिए। यसपटक छोरी बियांकाको अभियानमा पनि उनले साथ दिएका थिए। उनी आधार शिविर हुँदै क्याम्प–२ सम्म पुगेका थिए र त्यहींबाट छोरीको आरोहणलाई नजिकबाट पछ्याइरहेका थिए।
एबीसी अस्ट्रेलियासँग कुरा गर्दै उनले सगरमाथाको माथिल्लो क्षेत्र अत्यन्त जोखिमपूर्ण हुने भन्दै १८ वर्षको उमेरमा यस्तो चुनौती पार गर्नु ठूलो साहस भएको बताएका छन् ।
फियोना एडलरले सन् २००६ मा सगरमाथा आरोहण गरेकी थिइन् र उनी सगरमाथा चढ्ने प्रारम्भिक अस्ट्रेलियन महिलामध्ये एक मानिन्छिन्। यसपटक उनी पनि छोरीसँग बेस क्याम्पसम्म पुगेकी थिइन्।
पाँल र फियोनाले आफ्नी छोरीको सफलताप्रति आफूहरू भावुक र गर्वित भएको बताएका छन् । एडलर परिवार अहिले अस्ट्रेलियाको पर्वतारोहण समुदायमा प्रेरणादायी परिवारका रूपमा हेरिएको छ।
पिता, आमा र छोरी तीनै जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि यो परिवारले नयाँ इतिहास बनाएको छ ।
