प्रधानन्यायाधीश नियुक्तिपछि तत्कालीन कामुको आदेश कार्यान्वयन

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दरपीठविरुद्धको निवेदन सोमबार नै दर्ता तत्कालीन कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले आदेश दिएकी थिइन् तर बुधबार मात्रै दर्ता भयो।

जेष्ठ ७, २०८३

दुर्गा दुलाल

After the appointment of the Chief Justice, the execution of the order of the then Kamu

What you should know

काठमाडौँ — अध्यादेशबाट संवैधानिक परिषद्सम्बन्धी कानुन संशोधन गरेर प्रधानन्यायाधीशमा गरिएको सिफारिसविरुद्ध दायर रिट दरपीठविरुद्ध निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको छ । तत्कालीन कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासले सोमबारै निवेदन दर्ता गर्न आदेश जारी गरेको भए पनि नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि मात्र दर्ता भएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गत २२ वैशाखमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको पर्सिपल्ट परिषद्ले चौथो वरीयतामा रहेका तत्कालीन न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । २५ वैशाखमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवाल रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्च प्रशासनले रिट दरपीठ गरिदिएको थियो । त्यसपछि उनीहरूले दरपीठविरुद्ध निवेदन दिएका थिए । त्यस निवेदनलाई पनि सर्वोच्च प्रशासनले ‘होल्ड’ गरिदिएको थियो ।

निवेदनलाई एक सातासम्म पनि इजलासमा नपठाइएपछि सिलवालले तत्कालीन कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको सचिवालयमा गुनासो दर्ता गरेका थिए । त्यही गुनासोमाथि टेकेर मल्लले सोमबार १ बजेसम्म रिट दरपीठविरुद्धको निवेदन दर्ता गर्न मुख्य रजिस्ट्रार र रजिस्ट्रारका नाममा तीन पृष्ठको आदेश दिएकी थिइन् । तर आदेश कार्यान्वयन भएको थिएन ।

‘फास्ट ट्र्याक’ बाट संसदीय सुनुवाइ र अनुमोदन गरेर शर्मालाई मंगलबार प्रधानन्यायाधीशमा नियुक्ति गरिएको थियो । शर्माले न्यायालयको नेतृत्वमा आएपछि बुधबार मुख्य रजिस्ट्रारको अनुमतिमा आफ्नो निवेदन दर्ता भएको अधिवक्ता सिलवालले जानकारी दिए । उनका अनुसार त्यसमा पहिलो पेसी ११ जेठका लागि तोकिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले पनि अधिवक्ता सिलवालको निवेदन दर्ता भएको पुष्टि गरे । वरिष्ठ अधिवक्ता त्रिपाठीको पनि निवेदन दर्ताका लागि खबर गरेको उनले जानकारी दिए ।

सर्वोच्च अदालत नियमावलीको नियम १० मा अदालत प्रशासनले दर्ताका लागि अस्वीकार गरे इजलासमा निवेदन दिन पाउने व्यवस्था छ । ‘मुख्य रजिस्ट्रार वा रजिस्ट्रारको आदेशमा (दर्ता नगर्ने) चित्त नबुझ्ने व्यक्तिले सात दिनभित्र इजलासमा निवेदन दिन सक्नेछ,’ नियमावलीमा उल्लेख छ । इजलासमा पनि निवेदन पेस नभएपछि निवेदक सिलवालले तत्कालीन कामु प्रधानन्यायाधीश मल्लको सचिवालयमा गुनासो दर्ता गराएका थिए ।

रिट दरपीठविरुद्धको निवेदन अब आगामी सोमबार एक न्यायाधीशको इजलासमा पेस हुनेछ । उक्त इजलासमा निवेदकहरूले यसअघि दर्ता गर्न अस्वीकार गरिएको निर्णय किन बदर हुनुपर्छ भनी बहस गर्नेछन् । पेसी भने जुनसुकै न्यायाधीशको इजलासमा पर्न सक्छ । सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट इजलास निर्धारण गर्ने अभ्यास छ ।

एकल इजलासले निवेदकको बहस सुनेर रिट दर्ताको आदेश दिने कि दर्ता अस्वीकार गरिएको आदेश सदर गर्ने भन्नेबारे निर्णय दिनेछ । एकल इजलासले दर्ता गर्न आदेश दिने र प्रशासनको निर्णय सदर गर्ने दुवै नजिर छन् ।

सर्वोच्च प्रशासनको निर्णय सदर भए निवेदन अगाडि बढ्ने छैन । एकल इजलासले प्रशासनको निर्णय उल्टाउँदै ‘न्यायिक परीक्षणमा जानुपर्ने भएकाले दर्ता गर्नु’ भन्ने आदेश दियो भने रिट पाँच न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा दर्ता हुनेछ । संवैधानिक इजलासको नेतृत्व प्रधानन्यायाधीश मनोजकुमार शर्माले गर्नेछन् । यो अवस्थामा उनले आफूविरुद्धको निवेदन आफैंले सुनुवाइ गर्नुपर्ने हुन्छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश शर्माले तोकेका न्यायाधीश हुनेछन् । वरिष्ठताका आधारमा इजलास गठन भए न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी र विनोद शर्मा हुनेछन् । शर्मापछिको वरीयतामा रहेकी सपना प्रधान मल्ल र सुवेदीपछिको वरीयतामा रहेका तिलप्रसाद श्रेष्ठ बिदामा छन् । प्रधानन्यायाधीश शर्माले वरिष्ठता नहेरी आफूले चाहेका चार न्यायाधीश पनि तोक्न सक्छन् ।

संवैधानिक इजलासले रिट खारेज गर्ने वा न्यायिक प्रक्रियामा अघि बढाउँदै लिखित जवाफसहित विपक्षीलाई छलफलमा बोलाउने दुवै प्रकारका आदेश गर्न सक्छ ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully