अस्पतालको लापरबाहीका कारण श्रीमतीको ज्यान गएको दाबी गर्दै उनी एक सातादेखि अनशनमा छन् ।
What you should know
काठमाडौँ — टन्टलापुर घाममा माइतीघर सडकमा एक युवक आमरण अनशनमा छन् । उनको छेउमै रहेको पालभित्र केही साताअघि मात्रै जन्मिएको शिशुलाई राखिएको छ । परिवारका सदस्य पालो मिलाएर उसलाई सम्हालिरहेका छन् ।
यी युवक हुन्, चितवन टाँडीका सुजन विक ।
श्रीमती अस्मिता तामाङ विकको मृत्यु अस्पतालको लापरबाहीका कारण भएको दाबी गर्दै उनी एक सातादेखि अनशनमा बसेका हुन् ।
नवजात छोरालाई साथैमा लिएर चर्को घाममा उनी किन आइपुगे माइतीघर ?
२७ वर्षीया श्रीमती अस्मितालाई बेथा लागेपछि सुजन गत वैशाख ८ गते चितवनको बकुलहर रत्ननगर अस्पताल पुगे । उनका अनुसार श्रीमतीलाई सोही दिन भर्ना गरियो । डाक्टरले सल्लाहअनुसार ९ गते अस्मिताको शल्यक्रिया गरियो । स्वास्थ्य अवस्था सामान्य देखिएपछि उनलाई वार्डमा सारियो । ‘तर, शल्यक्रिया गरेको २४ घण्टासम्म पनि डाक्टर अस्मिताको स्वास्थ्य जाँच गर्न आउनुभएन,’ सुजनले भने ।
१० गते साढे ८ बजेतिर अस्मिताले सास फेर्न गाह्रो भयो भनेपछि आफूले नर्सलाई बोलाएको उनको भनाइ छ । ‘नर्स आइपुग्दा मुखबाट खकार र रगत एक्कैचोटि आएको थियो । म डराएँ तर नर्सहरूले घाँटीमा हालेको पाइपले गर्दा हो, यस्तो हुनु सामान्य हो भनेर मलाई मास्क लिन पठाउनुभयो,’ उनले भने,‘त्यसपछि उनलाई बाफ लगाइदिनुभयो । नर्सलाई डाक्टर बोलाउन भनेँ । नर्सले धेरै पटक भनेपछि मात्र २५ मिनेटमा बल्ल डाक्टर आइपुग्नुभएको थियो ।’
आफुले बिरामीलाई आईसीयूमा राख्न आग्रह गरे पनि डाक्टरले आईसीयू खाली नभएको भन्दै अर्को अस्पताल लैजान सल्लाह दिएको उनले बताए ।
‘मैले अस्मितालाई लिएर ट्रलीमा राख्न नपाउँदै मुखबाट गाज आयो । उनी त्यहीँ बितिसकेकी रहिछन् । तर अस्पतालले ‘जीवित’ रहेको भनी कागज बनाएर अर्को अस्पताल जान भन्यो,’ सुजनले भने, 'अस्मितालाई सीएमसी पुर्याउँदा डाक्टरले २० मिनेट अगाडि नै मृत्यु भएको भन्नुभयो ।’ त्यसपछि आफू होसमा नरहेको र आफन्त तथा अस्पतालका मान्छे मिलेर विभिन्न कागजातमा ल्याप्चे लगाइएको उनको भनाइ छ ।
घटना छानबिन र श्रीमतीको न्यायका लागि धेरै ठाउँमा जाँदा पनि आफूलाई बेवास्ता गरेको सुजन बताउँछन् । ‘नगरपालिका, वडा कार्यालय र प्रहरीमा निवेदन दिन खोज्दा कतैबाट पनि साथ पाइनँ,’ उनले भने,‘छानबिन होस् भनेर म धेरै ठाउँ गए । उल्टै के के भन्नुभयो । केही नलागेपछि काठमाडौं आएको हुँ । मेडिकल काउन्सिलमा पनि निवेदन दिएको छु ।’
आमरण अनसनमा रहेका उनलाई समस्या आएपछि अस्पताल लगेर सलाइन पनि चढाउने गरिएको छ । उनलाई माइतीघरमा आमा र ११ वर्षका छोराका साथै भाइले साथ दिइरहेका छन् । १३ वर्षअगाडि सुजन-अस्मिताको विवाह भएको थियो । १२ वर्षदेखि भाडामा गाडी चलाएर उनले परिवार पाल्दै आएका थिए ।
अस्पतालमा छानबिन समिति, काउन्सिलमा निवेदन
बकुलहर अस्पतालले भने घटनाबारे छानबिन सुरु गरेको जनाएको छ । सूचना अधिकारी राजकुमार घिमिरेले ६ जना विशेषज्ञ चिकित्सकको टोली बनाएर छानबिन सुरु गरिसकेको बताए । 'समितिले बिरामी भर्नादेखि शल्यक्रिया र त्यसपछिको उपचारको प्रक्रियाबारे विस्तृत अनुसन्धान गरेको छ,’ उनले भने, ‘अस्पतालले घटनाबारे सम्बन्धित मन्त्रालयलाई पनि जानकारी गराएको छ ।’
अस्मितालाई केही जटिलता देखिएकाले मृत्यु हुन पुगेको उनी बताउँछन् । ‘अस्पतालमा बिरामीको शल्यक्रिया गरियो । २४ घण्टासम्म अब्जर्भेसनमा राखिएको थियो,' घिमिरेले भने, 'अवस्था सामान्य देखिएपछि वार्डमा सारियो, तर वार्डमा सारेपछि केही कम्प्लिकेसन देखिएर बिरामीको मृत्यु हुन पुगेको हो ।’
परिवारलाई कानुनी प्रक्रियामा जान आफूहरुले आग्रह गर्दा आन्दोलनमा गएको र अस्पतालले पनि निष्पक्ष छानबिन होस् भन्ने चाहेको घिमिरे बताउँछन् । ‘चिकित्सकले गल्ती गरेको भए कारबाही गर्ने अधिकार अस्पतालसँग नभई कानुनी निकायसँग मात्र हुन्छ । अस्पतालले पीडित पक्षलाई मेडिकल काउन्सिल वा सम्बन्धित निकायमा उजुरी दिन बारम्बार आग्रह गरेको थियो,’ उनले भने, ‘तर उहाँहरु उजुरी प्रक्रियामा नगई सिधै आन्दोलन गर्न लाग्नुभयो । गल्ती प्रमाणित नभई सरकारी माध्यमबाट क्षतिपूर्ति दिने कुनै कानुनी आधार छैन । अस्पतालले पनि कसैलाई जोगाउन खोजेको छैन । निष्पक्ष छानबिन होस् भन्ने चाहेको छ ।’
नेपाल मेडिकल काउन्सिलकी प्रशासकीय अधिकृत सुनिता प्रजापतीले अस्मिताको मृत्युबारे परिवारले निवेदन दिइसकेको बताइन् । ‘निवेदन प्राप्त भइसकेको छ । यसका आधारमा आधिकारिक कमिटीको बैठक बसेर अस्पतालबाट प्रारम्भिक फाइल मगाउने क्रममा छौं,’ उनले भनिन् । कागजात प्राप्त भएपछि आवश्यकताअनुसार चिकित्सकलाई बयान लिनेदेखि थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइने उनले बताइन् ।
