सरकारले काठमाडौं उपत्यकामा जोमिखयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई २५ हजार दिने

बस्ती हटाउँदा विस्थापित भएका व्यक्तिहरुको विवरण रुजु गरी प्रतिपरिवार पुनर्स्थापना खर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

जेष्ठ ५, २०८३

कान्तिपुर संवाददाता

Government to provide Rs 25,000 to families displaced by removal of squatter settlements in Kathmandu Valley

काठमाडौँ — सरकारले काठमाडौं उपत्यकामा जोमिखयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई एकमुष्ठ २५ हजार रुपैयाँ दिने भएको छ । 

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सुकुमवासी बस्ती हटाउँदा विस्थापित भएका व्यक्तिहरुको विवरण रुजु गरी प्रतिपरिवार पुनर्स्थापना खर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 

यस्तै जोमिखयुक्त बस्तीबाट हटाइएकाहरुलाई वैकल्पिक व्यवस्थापन आफैं गर्न प्रोत्साहित गराउन ५ सदस्य भएका परिवारलाई प्रतिमहिना १५ हजार दिने भएको छ । 

५ भन्दा बढी सदस्य भएका परिवारलाई १५ हजारमा प्रतिसदस्य २ हजार थप गरेर हाललाई तीन महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय भएको प्रवक्ता पोखरेलले जनाए ।  

वृद्ध, अशक्त, असहाय र आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमै राख्ने सरकारको निर्णय छ । बालबालिका तथा विद्यार्थीको पठनपाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवाहरुको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने निर्णय भएको पनि प्रवक्ता पोखरेलले जानकारी दिए । 

कान्तिपुर

Link copied successfully