सामान्य वर्षामै बग्छ बीपी राजमार्गको डाइभर्सन, बारम्बार क्षतिले करोडौं लगानी बग्यो

सामान्य वर्षामै रोशीको बाढीले डाइभर्सन बगाएर बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रु र चालकलाई सास्तीसँगै पुनर्निर्माणको काममा ढिलाइ भइरहेको छ ।

जेष्ठ ५, २०८३

ज्योती श्रेष्ठ

BP Highway diversion overflows during normal rains, repeated damage drains away investment worth crores

What you should know

काभ्रे — ठूलो वर्षा हुँदा राजमार्ग आसपासका खोलामा जलसतह बढ्ने र बाढीपहिरोका कारण सडक अवरुद्ध हुनु सामान्य मानिन्छ । तर, बीपी राजमार्गमा भने घाम लागिरहेकै बेला सामान्य वर्षाले पनि यातायात प्रभावित बनाउने गरेको छ । 

रोशी खोलाको माथिल्लो क्षेत्र फुल्चोकी, पनौती, बनेपा र धुलिखेल आसपासमा परेको वर्षाकै प्रभावले बीपी राजमार्ग अवरुद्ध हुने अवस्था सिर्जना हुँदै आएको छ । सामान्य वर्षाले राजमार्गको अस्थायी संरचनामा क्षति पुग्ने र पपटकपटक डाइभर्सन बनाउन करोडौं खर्च भइरहेको छ भने राजमार्ग पुननिर्माणको काम समयमै सम्पन्न हुनेमा पनि आशंका सिर्जना हुन थालेको छ ।

मनसुन सुरु भइनसक्दै यो वर्ष पनि बीपी राजमार्ग पटकपटक बन्द भइसकेको छ । सामान्य वर्षाले पनि बाढी आएर बाटो अवरुद्ध हुन थालेपछि यो राजमार्गमा यात्रु जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । २०८१ असोज दोस्रो साताको बाढीले जिल्लास्थित बीपी राजमार्ग पूर्णरुपमा क्षतिग्रस्त भएपछि यो अवस्था निम्तिएको हो ।

मनसुन सुरु नहुँदै यो वर्ष पनि बीपी राजमार्ग पटकपटक बन्द भइसकेको छ । सामान्य वर्षामै बाढी आएर बाटो अवरुद्ध हुन थालेपछि यात्रु जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् ।बाढीले उक्त राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकमध्ये ८ किलोमिटर पूर्णरूपमा क्षति पुगेको थियो । पूर्णरुपमा क्षति भएको राजमार्गलाई मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । २०८१ असोजमा रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएको राजमार्गलाई सडक डिभिजन कार्यालय भक्तपुरले मर्मत गरेर करिब १० दिनपछि सञ्चालनमा ल्याएको थियो । जसको लागि करिब १० करोड लगानी गरेको थियो । अस्थायी रुपमा मर्मत गरेर सञ्चालनमा ल्याएको राजमार्ग सामान्य वर्षातमै पनि अवरुद्ध हुने गरेको थियो । राजमार्गमा हजारौं यात्रु धेरै पटक अलपत्र परिसकेका छन् । बाढीका कारण विभिन्न समयमा अवरुद्ध भएको राजमार्गमा डाइर्भसन बनाएर यातायात सुचारु गरिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख  डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८१ असोज १२ देखि २०८२ असार ३० सम्म बीपी राजमार्गमा सडक मर्मत सम्भार तथा डाइर्भसन बनाउनका लागि मात्रै कार्यालयले ३ करोड ९० लाख रुपैयाँ खर्च भएको छ । 

बीपी राजमार्गको पुनर्निर्माणका लागि २०८२ असारमा दुई, कात्तिकमा १ निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । गएको असारमा चारसय बेंशीदेखि भकुण्डेबेंशीसम्मको ११ किलोमिटर पुनर्निर्माणका लागि लामा/नवकान्तिपुर जेभीसँग १ अर्ब १४ करोडमा सम्झौता भएको थियो । असारमै डालाबेंशीदेखि चारसय बेंशीसम्मको ८.५ किलोमिटर पुनर्निर्माणका लागि खानी/कमलजीत/एवान जेभीसँग १ अर्ब २२ करोडमा सम्झौता भएको थियो । 

२०८२ भदौबाट मात्रै सुरु गरिए पनि वर्षातका कारण प्रभावकारी रुपमा काम हुन नसकेको खानी/कमलजीत/एवान जेभीका प्रमुख भक्तबहादुर लामाले बताए । उनका अनुसार काम सुरु गरेको एक महिना नबित्दै फेरि अर्को विपत्तिको सामना गर्नुपर्‍यो । ‘२०८२ असोज १७, १८ र १९ मा रोशीको बाढीले राजमार्ग पुनः क्षति पुग्यो,’ उनले भने, ‘त्यसयता पानी पर्ने बित्तिकै डाईभर्सन समेत क्षति गर्ने र काम प्रभावित हुने समस्या दोहोरिने गरेका छ ।’ 

खोलामा सामान्य जलस्तर बढेपछि राजमार्ग अवरुद्ध हुने र केही ठाउँमा डाइर्भसन नै बगाउने समस्या आउने गरेको उनले बताए । ०८२  असारमा ठेक्का सम्झौता भएयता मात्रै ७ पटक डाइर्भसन बनाइसकेको लामाले बताए । ‘प्रत्येक पटकमा डाइभर्सन बनाउन ६० देखि ७० लाख खर्च हुन्छ । सडक विभागले सामान्य सहयोग गरे पनि धेरै खर्च व्यवसायीकै हुन्छ,’ उनले भने । प्रत्येक पटक मर्मत गरेको डाइर्भसन रोशीको बाढीले बगाएको उनले सुनाए । ‘डाइर्भसन बनाउन हामीले गरेको खर्च खोलामै बगेको छ,’ उनले भने । पुनर्निर्माणको काममा अहिले सबैभन्दा ठूलो चुनौती नै एक्कासी परिवर्तन हुने मौसम नै बनेको उनले बताए । ‘तल घाम लागिरहेका बेला माथिल्लो क्षेत्रमा वर्षा भएर एक्कासी बाढी आउने गरेको छ । कुनै बेला त कामदारले भागेर ज्यान जोगाउनुपर्छ,’ उनले भने ।

उनका अनुसार गत फागुन र वैशाखमा बाढीले स्थायी रुपमा पुनर्निर्माणको काम भइरहेको साइटमा करिब २ करोड रुपैयाँको क्षति भएको छ । ‘स्थायी रुपमा काम भइरहेको ठाउँमा बाढीले सामान बगायो,’ उनले भने, ‘ढलान गर्न तयारी गरेका सामग्री फर्मा, डन्डी, पाइप, जेनेरेटर बगायो, एकातिर समयमै काम गर्न सकिएको छैन, अर्कोतिर बाढीका कारण करोडौं क्षति बेहोर्नु परेको छ ।’ उनका अनुसार पानीले गर्दा सामानको क्षति हुनुको साथै समयमै काम सम्पन्न गर्न नसकिने चिन्ता छ । 

०००

चारसय बेंशीदेखि भकुण्डेबेंशीसम्मको ११ किलोमिटरमा काम गरिरहेको लामा/नवकान्तिपुर जेभीले सम्झौतायता करिब १० पटक डाइर्भसन बनाउनुपरेको जनाएको छ । लामा/नवकान्तिपुर जेभीका प्रमुख जनक भट्टले १० पटक डाइर्भसन बनाउँदा करिब २ करोड क्षति भएको बताए । उनका अनुसार राजमार्गमा काम गर्ने क्रममा आर्थिक क्षतिसँगै मानवीय क्षतिको पनि सामना गर्नुपरेको छ । ‘चैत्र १३ मा कामदारको नै रोशीले बगाएर मृत्यु भएको थियो,’ उनले भने, ‘पानी परेपछि राजमार्ग अवरुद्ध हुन्छ, बाटो खुलाउन मेसिनहरु खोलामा पठाउनुपर्छ, बहाब उच्च भइरहेका बेला जोखिम मोलेरै काम गर्नुपर्ने अवस्था हुन्छ ।’

बाढीले सडक अवरुद्ध हुँदा तत्काल डाइभर्सन बनाएर बाटो खुलाउने गर्दै आए पनि त्यसमा हुने खर्च सडक विभागले उपलब्ध गराउने रकमले नधान्ने उनले बताए । उनका अनुसार विभागबाट प्राप्त बजेटले डाइभर्सन मर्मत तथा निर्माणको करिब १० प्रतिशत मात्रै खर्च धान्ने गरेको छ । बाँकी रकम निर्माण व्यवसायीले आफ्नै स्रोतबाट थप्नुपर्ने अवस्था रहेको उनले बताए । निर्माण सामग्रीको मूल्यवृद्धिले पनि काममा थप दबाब परेको भट्टले बताए । डिजेल, छड, सिमेन्ट र ढुवानी खर्च उल्लेख्य रूपमा बढेपछि निर्माण कार्य प्रभावित भएको उनको भनाई छ । ‘अहिले हरेक क्षेत्रमा महागी बढेको छ, यही अवस्था रहिरहे तोकिएको समयमा काम सम्पन्न गर्न कठिन हुन सक्छ,’ उनले भने । 

०००

डालाबेंशीदेखि सुक्खा पहिरोसम्मको २.२ किलोमिटर सडक पुनर्निर्माणका लागि उमा/भण्डारी/अमरज्योती जेभीसँग ६८ करोड ५८ लाख रुपैयाँमा सम्झौता भई काम सुरु भइसकेको छ । २०८२ कात्तिकमा सम्झौता भए पनि वर्षातकै कारण काम प्रभावकारी हुन नसकेको उमा/भण्डारी/अमरज्योती जेभीका प्रमुख रामेश्वर थापाले जानकारी दिए । उनका अनुसार यो क्षेत्रमा पानी नपरे पनि पनौती, बनेपा, धुलिखेलमा भएको वर्षाले यहाँ बाढी आउने गरेको छ । ‘बाढी आएपछि यहाँ काम ठप्प हुन्छ । बाढीका कारण ६–७ पटकभन्दा बढी बाटो अवरुद्ध भयो, बाढीले बगाएको डाइर्भसन मर्मत गर्न प्रत्येक पटक १३–१५ लाख रुपैयाँ खर्च भएको छ,’ उनले भने । 

उनका अनुसार डाइर्भसन बनाउन डिजेलको व्यवस्थापनमा कठिनाई हुने गरेको छ । ‘बाढीले बाटो बन्द भएको हुन्छ, मेसिन चलाउन तेल चाहिन्छ, त्यहीँ तेल ल्याउन पनि कठिनाई हुन्छ,’ उनले भने, ‘धेरै पटक त मान्छेले नै डिजेल बोकेर मेसिनमा हाल्नुपर्छ ।’ सामान्य वर्षाकै कारण आउने बाढीले पुनर्निर्माणको काम समयमै काम सम्पन्न गर्न नसकिने अवस्था आइरहेको उनले बताए ।

वर्षायाम सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढिरहेका बेला बीपी राजमार्ग विस्तारको काममा खटिएका मजदुर पनि जोखिम मोलेर काम गरिरहेका छन् । राजमार्ग चौडा बनाउने क्रममा खोलाको बहाव, डाइभर्सन बग्ने समस्या र निरन्तरको वर्षाले कामदारलाई चुनौती थपेको हो । 

BP Highway diversion overflows during normal rains, repeated damage drains away investment worth crores

नवलपुरका २० वर्षीय भेषबहादुर आले मगर यतिबेला बीपी राजमार्ग विस्तार आयोजनाअन्तर्गत सडक निर्माणमा व्यस्त छन् । उनी ६ महिनादेखि उक्त क्षेत्रमा कार्यरत छन् । अहिले उनी सडक कटिङ, पाइलिङ तथा फाउन्डेसन निर्माणको काममा खटिएका छन् ।  उनका अनुसार वर्षायाममा काम गर्न निकै कठिन हुने गरेको छ। ‘पानी पर्नेबित्तिकै निर्माण गरिएका संरचनामा क्षति हुन्छ,’ उनले भने, ‘अहिलेसम्म तीन/चार पटक डाइभर्सन बगाइसकेको छ ।’ काम गरिरहेका बेला कतिबेला बाढी आउँछ भन्ने टुंगो नहुने गरेको उनले सुनाए ।

०००

राजधानीबाट पूर्वी नेपाल जोड्ने बीपी राजमार्गमा वर्षाका कारण हुने कष्टकर यात्राले यात्रु र सवारी चालकलाई पनि सास्ती छ । सडक क्षतिग्रस्त हुनु, बारम्बार मर्मत भइरहनु र बाढी–पहिरोको जोखिमका कारण दैनिक आवतजावत गर्ने यात्रु तथा चालक निरन्तर सास्ती भोग्ने गरेका छन् ।  

१२ वर्षदेखि यो रुटमा सवारी चलाउँदै आएका गोकर्ण केसीका अनुसार यो क्षेत्रमा राजमार्ग पार गर्न दोब्बर समय लाग्ने गरेको छ । ‘पहिला बिहान ७ बजे हिँड्दा ३ घण्टामा पुगिने ठाउँमा अहिले ५/६ घण्टा लाग्छ,’ उनले भने । दिनहुँ ओहोरदोहोर गर्ने उनले सडकको अवस्था नजिकबाट नियालिरहेका छन् । वर्षायाममा झनै जोखिम मोलेरै यात्रा गर्नुपरेको उनको अनुभव छ । 

बाढी आएपछि सडक बगाउने, पहिरो खस्ने र पुनः मर्मतको काम सुरु हुने क्रम दोहोरिरहँदा यात्रु र चालक दुवैले सास्ती भोग्नुपरेको उनले बताए । उनका अनुसार यो बाटो कति पटक बनाइसकियो, तर पूर्ण रुपमा काम भने हुन सकेको छैन । ‘एकपटक बनायो, दुई घण्टा पानी परेपछि बाढीले बगाउँछ, फेरि बनायो, फेरि बिग्रार्छ,’ उनले भने, ‘रोशी खोलाले बाटो मात्रै बगाएको छैन, सरकारको पैसा पनि बगाएको छ ।’ 

सडक डिभिजन भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार विपी राजमार्गको पुनर्निर्माणका लागि हाल तीन वटा खण्डमा काम भइरहेको छ । पुनर्निर्माणका तीन खण्डमा ठेक्का सम्झौता अनुसार डालाबेशीदेखि चारसय बेंशीसम्मको ८.५ किलोमिटर सडकमा अहिलेसम्म ३० प्रतिशत काम भएको छ।

चारसय बेंशीदेखि भकुण्डेबेंशीसम्मको ११ किलोमिटर सडकमा अहिलेसम्म २५ प्रतिशत काम सम्पन्न भएको छ। त्यस्तै, डालाबेंशीदेखि सुक्खा पहिरोसम्मको २.२ किलोमिटरमा अहिलेसम्म २७ प्रतिशत काम भएको छ । ‘२०८१ को बाढीले क्षति गरेको स्थानमा स्थायी रुपमा पुनर्निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउने काम भइरहेको छ, चारसय बेंशी र भकुण्डेबेंशीमा आरसीसी पर्खालसहित सडक चौडा बनाउने काम चलिरहेको छ ।’

उनका अनुसार राजमार्गको विभिन्न खण्डमा काम विस्तार गर्दै, डालाबेंशी–मंगलटार खण्डदेखि चारसय बेंशीसम्म सडक चौडा बनाउने काम भइरहेको छ । वर्षाअघि संचना निर्माण पूरा गरेर, सडक सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको उनले बताए । ‘तीब्र रुपमा काम अघि बढाइए पनि वर्षाका कारण प्रभावकारी रुपमा काम गर्न भने सकिएको छैन,’ उनले भने, ‘यसकारण तोकिएको समयमै काम सम्पन्न गर्न भने कठिनाई हुने देखिएको छ।’ 

बीपी राजमार्गअन्तर्गत क्षतिग्रस्त खण्डमा निर्माण भइरहेको अस्थायी डाइभर्सन दीर्घकालीन समाधान नभएको भन्दै स्थानीय सरोकारवालाले स्थायी संरचनाको काम चाँडो बनाउनुपर्ने माग गरेका छन् । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार डाइभर्सन तत्काल सवारी सञ्चालन सहज बनाउनका लागि बनाइएको अस्थायी व्यवस्था मात्रै भएकाले बारम्बार बाढीले बगाउने जोखिम कायम छ । ‘पहिलाको मूल ट्रयाकमा अहिले स्थायी सडक संरचना निर्माणको काम सुरु भइसकेको छ,’ उनले भने, ‘निर्माण कम्पनीले संरचना उठाउने काम थाले पनि अपेक्षाअनुसार गति लिएको छैन, स्थायी संरचना चाँडै सम्पन्न गर्न सकिए डाइभर्सनमा निर्भर हुनुपर्दैन ।’ 

अहिले निर्माण कार्य सुस्त हुनुको मुख्य कारण निर्माण व्यवसायीले पर्याप्त जनशक्ति र उपकरण परिचालन गर्न नसकेको उनले बताए । ‘काम केही ढिलो भइरहेको देखिन्छ, तर यसको समाधान ट्रयाक परिवर्तन गरेर अन्यत्र बाटो लैजानु होइन, बरु अहिलेकै स्थायी संरचनाको कामलाई तीव्र बनाउनु हो,’ उनले भने । उनका अनुसार हाल खोलाबाटै सञ्चालन गरिएको डाइभर्सन बारम्बार बाढीले बगाउने गरेको छ । उनका अनुसार अस्थायी डाइभर्सन तत्काल यातायात सञ्चालनका लागि आवश्यक भए पनि दीर्घकालीन रूपमा यो प्रभावकारी उपाय होइन । स्थायी संरचना छिटो बनेपछि डाइभर्सनमा बारम्बार खर्च गरिरहनुपर्ने अवस्था अन्त्य हुने उनको भनाई छ । निर्माण कम्पनीलाई आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन थपेर स्थायी सडक संरचना निर्माण कार्यलाई तीव्र बनाउन उनले आग्रह गरे । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully