ल्होत्से हिमालको बाटो पनि खुल्यो, अब कञ्चनजंघा मात्रै बाँकी

सगरमाथासँगै रहेको विश्वकै चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मिटर) मा डोरी टाँगेर आरोहण मार्ग बनाउने काम आइतबार बिहान सफलतापूर्वक सम्पन्न भएको छ ।

जेष्ठ ३, २०८३

सुरज कुँवर

The route to Mount Lhotse has also been opened, now only Kanchenjunga remains.

काठमाडौँ — सगरमाथासँगै रहेको विश्वकै चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मिटर) मा डोरी टाँगेर आरोहण मार्ग बनाउने काम आइतबार बिहान सफलतापूर्वक सम्पन्न भएको छ ।

फिक्सिङ अभियान सम्पन्न भएसँगै २०२६ को वसन्तकालीन आरोहण सिजनका लागि यो हिमालको आरोहण मार्ग खुलेको छ ।

पर्वतारोही तथा गाइड मिङ्मा दोर्ची शेर्पाको नेतृत्वमा रहेको पाँच सदस्यीय फिक्सिङ टोली आइतबार बिहान ८:१० बजे ल्होत्सेको शिखरमा पुगेर सफलतापूर्वक डोरी फिक्सिङ कार्य सम्पन्न गरेको पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषि भण्डारीले बताए ।

यससँगै अब सबै आरोहीका लागि ल्होत्से आरोहण मार्ग औपचारिक रूपमा खुला भएको छ । अब कञ्चनजंघा हिमालको बाटो मात्रै खुलाउन बाँकी छ । संघले बुधबारभित्र उक्त हिमालमा डोरी टाँगेर आरोहण मार्ग बनाउने लक्ष्य राखेको छ ।

ल्होत्सेको रोप (डोरी) फिक्सिङ टोलीमा नेपालका मिङ्मा तेन्जे शेर्पा, पाम दोर्जी शेर्पा, पासाङ तेन्जिङ शेर्पा र लोप्साङ भोटे सहभागी थिए । यसपटक खुम्बु क्षेत्रमा सम्पूर्ण फिक्सिङ अभियानको समन्वय सेभेन समिट ट्रेक्सका निर्देशक छाङ दावा शेर्पाले गरेका थिए ।

यस वर्ष ल्होत्से आरोहणका लागि कुल १४ वटा टोलीका १४३ जना आरोहीले अनुमति प्राप्त गरेका छन् । यसबाट नेपाल सरकारले सलामी दस्तुरस्वरूप ६ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो अभियान पर्वतारोहण सञ्चालक संघको व्यवस्थापनमा सम्पन्न भएको हो भने सेभेन समिट ट्रेक्सले आधिकारिक लजिस्टिक साझेदारको भूमिका निर्वाह गरेको थियो ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully