बाँदरको सास्तीले किसान गाउँ छाड्न बाध्य, नियन्त्रणका लागि राज्यसँग छैन योजना

मध्यपहाडका किसान बाँदरका कारण खेती छाड्न र बसाइँसराइ गर्न बाध्य भएका छन् ।

जेष्ठ ३, २०८३

कान्तिपुर टिम

Monkey plague forces farmers to leave village, state has no plan to control it

What you should know

काठमाडौँ — बाँदरको बिज्याइँले अहिले पूर्वदेखि पश्चिमसम्मै मध्यपहाडको ठूलो जनसंख्यालाई पिरोलिरहेको छ । बाँदरको उपद्रवकै कारण किसानका भकारी मात्रै रित्तिएका छैनन्, गाउँ नै रित्तो, खण्डहर बनिरहेका छन् ।

बाँदरकै दु:खले बसाइँसराइ हुनु अब सामान्य जस्तै भइसकेको छ । बाँदर आतंक रोक्नकै लागि स्थानीयले जंगलमा फलफूल रोप्नेदेखि रूख काट्ने, खेतबारीमा बन्दुक पड्काउनेदेखि दिनभर पहरा बस्नेसम्मका प्रयास गर्दै आएका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिकाले त बाँदर धपाउनकै लागि गत शुक्रबार सार्वजनिक बिदा नै दिएकाे थियो ।

स्थानीयले आजित भएपछि विकासका योजना भन्दा बाँदर नियन्त्रणका उपाय ल्याइदिन पालिकासित माग गर्दै आएका छन् । पालिकाहरुमा सामान्यतः शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधारकाे माग हुनुपर्ने हो । तर किसानले सरकारसँग बाँदर धपाउन बजेट माग गरिरहेका हुन्छन् । तर सरकारसित न यसको कुनै उपाय छ न योजना नै । 

आहाराको खोजीमा गाउँ पस्ने जंगली बाँदरको उपद्रवले आफूहरुलाई दिक्क बनाएको धनकुटा भीरगाउँको किन्ताङका किसान पुनम मगरको दुखेसो छ । छथर जोरपाटीको तेलिया र चौबिसेको कुरुले र सदरमुकाम नजिकको ठोका बस्तीमा पनि बाँदरको आतंक उस्तै छ । पातलोबस्ती भएका यी ठाउँमा जंगली जनावरबाट बाली जोगाउन किसानलाई बर्खाका पाँच महिना खेतबारीमै बिताउनुको विकल्प छैन । बाँदरकै दु:खले धरै ठाउँमा खेती नै हुन छाडेको उनले बताए । 

धनकुटाका केही स्थानीय तहमा हरेक वर्षको योजना तर्जुमा गर्दा बाँदर नियन्त्रण नै पहिलो एजेण्डा हुने गरेको छ । तर त्यसले किसानको दु:ख कम नभएको धनकुटा नगरपालिका–४ ठोकाका स्थानीय सूर्यबहादुर आठपहरियाले बताए । बाँदरमाथि खोज, अनुसन्धान गरिरहेका धनकुटाका विकास अधिकारी विशेषगरि रातो बाँदरले कृषिबालीमा बढी क्षति पुर्‍याउने बताउँछन् । 'बाँदर अहिले आफ्नो आहाराका लागि ४५ प्रतिशत जंगल र ५५ प्रतिशत मान्छेले लगाएको खेतीबालीमा निर्भर रहेको अध्यननमा देखिन्छ,' उनले भने ।  

ढेडु र बाँदरले बाली नष्ट गर्ने क्रम बढेपछि पाँचथरको फिदिम नगरपालिका–४ का स्थानीयले सामूहिक गस्ती गर्दै आएका छन् । बाली जोगाएर बाँदर धपाउन प्रत्येक घरबाट एक जनाका दरले जम्मा भएर पहरा दिन थालिएको छ । फिदिम–४ को सालघारी, थाक्ले, थापाटार, तिरतिरे र सारन्तासँगै हेवा खोला क्षेत्रमा बाँदरले धेरै दु:ख दिने गरेको स्थानीय सोमनाथ ढकालले बताए ।

खेतबारीमा पाकेको मात्रै नभएर भर्खरै लगाइएका बालीका टुसा, बोटबिरुवाको पालुवा र घरमा भण्डारण गरेको मकैलगायतका अन्नसमेत खान थालेपछि स्थानीयले बाँदर धपाउने रणनीति बनाएका हुन् । यहाँ बाँदर व्यवस्थापनका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम बाँदर धपाउन पहरा दिन खट्नेको खाजामा खर्च गरिन्छ । 

यस्तै पाँचथरको कुम्मायक गाउँपालिका–१ ले बाँदरबाट मकै बाली जोगाउन ९ जना हेरालु राखेको छ । उनीहरुलाई पारिश्रमिक भने डोर हाजिर भराएर प्रतिव्यक्ति १६ हजारका दरले उपलब्ध गराउने गरिन्छ । बाँदर भगाउने उपकरण उपकरण वडा कार्यालयले उपलब्ध गराएको छ । 

अर्घाखाँची, गुल्मीलगायतका पश्चिम पहाडी जिल्लामा बाँदर र बँदेलको हैरानीकै कारण त्यहाँका बासिन्दा बसाइँ सर्न बाध्य भएको अर्घाखाँकीको शीतगंगाका स्थानीय कुलबहादुर परियार बताउँछन् । उनका अनुसार मकै, कोदो, आलुलगायतका बाली बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कृषि पेशाबाटै पलायन हुने क्रम तीव्र बन्दै गएको हो । यस्तै पाणिनीका लीला पोखरेका अनुसार वन्यजन्तुको दु:खले खेती जोगाउनै नसकेपछि रोजगारी र सुरक्षित जीवनको खोजीमा जिल्लाका आठै पालिकाबाट बर्सेनि बसाइँसराइ गरेर जाने संख्या अर्घाखाँचीमा वार्षिक करिब १७ सय रहेको छ । 

शीतगंगा, भूमिकास्थान, मालारानी, छत्रदेव, पाणिनी र सन्धिखर्कका वन क्षेत्र नजिकका बस्तीहरूमा समस्या झन् गम्भीर देखिएको छ । यी क्षेत्रका किसानले क्षतिपुर्तीको माग गर्दै आर्थिक वर्ष ७९ /८० देखि ८२ /८३ सम्ममा डिभिजन वन कार्यालय अर्घाखाँचीमा झन्डै ६ सय निवेदन दिएका छन् । बाँदर, बँदेलबाट बाली जोगाउन वन कार्यालयले स्थानीय तहसित समन्वय गरी गत वर्ष २० जना हेरालु राखे पनि प्रभावकारी हुन नसकेको स्थानीय मुक्तिराम भण्डारी बताउँछन् । यही समस्यालाई अर्घाखाँचीबाट निर्वाचित सांसद हरिप्रसाद भसालले सरकारको  ध्यानाकर्षण गराएका छन् । 

यता सल्यानमा पनि बाँदर, बँदेल र दुम्सीले बालीनालीमा क्षति पुर्‍याउनुका साथै मानिस र घरपालुवा जनावरमाथि आक्रमण गर्ने घटना बढेका छन् । बाँदर, बँदेल र दुम्सीले मकै, गहुँलगायतका बालीनालीमा ठूलो क्षति पुर्‍याइरहेका छन् । बाली जोगाउन किसानहरू रातभर बारीमै जाग्राम बस्न बाध्य छन् । बर्सेनि हुने क्षतिका कारण केही ठाउँमा खेती लगाउनै छाडिएको छ ।

डिभिजन वन कार्यालय सल्यानका अनुसार अघिल्लो आर्थिक वर्षमा बालीनाली, पशु तथा मानिसमा भएको वन्यजन्तुको क्षतिबारे राहतका लागि १ सय १४ वटा निवेदन परेका थिए । कार्यालय प्रमुख टेकबहादुर रावलले चालु आर्थिक वर्षमा १ सय २९ जनाले राहतका लागि आवेदन दिएको जानकारी दिए । यस अवधिमा बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । 

पाल्पाका किसान पछिल्लो १० वर्षयता बाँदरबाट पीडित छन् । वर्षभरि खाने खेती हुलका हुल आउने बाँदरले एकैछिनमा सखाप पार्दा किसान आफैंले गरेका प्रयास परिणाममुखी हुन नसकेको रिब्दीकोटका किसान कृष्णप्रसाद पाण्डेयको भनाइ छ । 

पाल्पाका १० वटै स्थानीय तहले हरेक वर्ष वन्यजन्तु नियन्त्रणको गर्ने नीति तथा कार्यक्रममा उल्लेख गर्छन् तर बजेट भने विनियोजन गर्दैनन् । मानिसहरु सहर पसेपछि गाउँमा बाँदरले नै राज गरेको रामपुरका किसान मुक्ति अर्यालले बताए । रिब्दीकोट गाउँपालिका १ ले भने गत वर्ष वडामा ९ जना हेरालु राखेको थियो । यसवर्ष पनि राख्ने योजना बनाएको छ । यस वर्ष १ सय ६० मिटर क्षेत्रमा काँडेतार लगाउने योजना रहेको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङले जानकारी दिए । मानव वन्यजन्तु द्वन्द्व कम गर्न अम्रिसो, टिमुर, तेजपातलगायतका खेतीमा जोड दिनुपर्ने उनको सुझाव छ । 

बागलुङका किसानले त झन् बाँदरबाट बालीनाली जोगाउन खेतबारीको डिलका रूख नै काटेका छन् । बागलुङ नगरपालिका १२, १३ र १४ वडाका स्थानीयले बाँदरबाट जोगिन रूख काटेको बागलुङ–१३, बागलुङका स्थानीय चन्द्रबहादुर केसीले बताए । बाँदरहरु घर वरिपरि, खेतबारीमा रहेका रुखमा बस्ने र अन्नबाली नष्ट गरी मानिसलाई समेत सताउन थालेपछि स्थानीयहरु आफैंले रुख काटेका छन् । 

बागलुङको दक्षिणी क्षेत्रका अधिकांश क्षेत्रमा बाँदरकै दुखले बर्सेनि बसाइँसराइ सर्ने क्रम बढ्दै गएको बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायणप्रसाद पौडेलले बताए । 

अध्ययन अनुसार नेपालमा बाँदरको संख्या करिब पाँच लाख छ । तिनीहरुका लागि औषत दैनिक १ हजार मेट्रिक टन खाना आवश्यक पर्छ । त्यसको ५० प्रतिशतका खाना बाँदरले कृषि बालीबाट लिने गरेको अनुसन्धानले देखाएको छ । जसका कारण बाँदर र मान्छेबीचको द्वन्द्व बढ्दो छ ।

कान्तिपुर

Link copied successfully