रेड पाण्डा फेला परेको उक्त क्षेत्र समुद्री सतहदेखि करिब ३ हजार मिटर उचाईमा रहेको छ ।
What you should know
काठमाडौँ — रोल्पाको जलजला क्षेत्रमा रेड पाण्डा (हाब्रे) भेटिएको छ । जलजला क्षेत्र अन्तर्गत जेलबाङको जंगलमा स्थानीयले रेड पाण्डा फेला पारेका हुन् । विश्वमै दुर्लभ वन्यजन्तुका रूपमा रेडपाण्डालाई लिइन्छ ।
पर्यटन व्यवसायी एवं फोटो पत्रकार बाल्कुराम पुनले जंगलमा रेड पाण्डा खेलिरहेका बेला फेला पारिएको बताए । 'प्रसिद्ध पर्यटकीय एवं संरक्षित क्षेत्र जलजला नजिकै पर्ने जंगलमा रेड पाण्डा देख्न पाइयो। मैले रेड पाण्डा खेल्दै गरेको बेलाको फोटो र भिडियो खिच्न भ्याएँ,' उनले भने।
शुक्रबार रेड पाण्डा जंगलमा देखिएपछि उनले नजिक पुगेर अवलोकन गरेको बताए । 'जलजला क्षेत्रमा रेड पाण्डा छ भन्ने कुरा निक्कै पटक सुनेको हुँ, तर यसरी प्रत्यक्ष देख्न पाइएको थिएन । यो पटक भने निकै नजिकबाट हेर्ने सौभाग्य मिल्यो । एउटा सपना पूरा भयो । रेड पाण्डा अझै पनि रोल्पामा भएको विश्वास भयो । यसको संरक्षण हुनु जरुरी छ, यो यस क्षेत्रमा रेड पाण्डाको बासस्थान जोगाउनु पर्छ । रेड पाण्डा हाम्रो ठूलो सम्पत्ति हो,' पुनले भने।
रेड पाण्डा फेला परेको उक्त क्षेत्र समुद्री सतहदेखि करिब ३ हजार मिटर उचाईमा रहेको छ ।
त्यस क्षेत्रमा प्रशस्त हिमाली बाँस र चिया पाइन्छ, जुन रेड पाण्डाको मुख्य खाना हो । लुम्बिनी प्रदेश अन्तर्गतका रोल्पाको जलजला लगायतका हिमाली भागहरु रेड पाण्डाको बसोबासस्थलको रूपमा स्थापित छन् । रेड पाण्डा नेटवर्कले रोल्पाको जलजला क्षेत्र, गाम, जेलबाङ, थबाङ, उवा र रुकुम पूर्वका विभिन्न उच्च पहाडी क्षेत्रमा रेड पाण्डाको खोजी गर्दै आएको छ । ती क्षेत्रमा रेड पाण्डा खोज्न परियोजनासमेत सञ्चालित छ । रेड पाण्डाको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन स्थानीय तहले पनि महत्त्वपूर्ण योजना बनाएका छन् । लुम्बिनी प्रदेश पर्यटन एवं वन-वातावरण मन्त्रालयले पनि योजना अघि सारेको छ ।
रोल्पामा पहिलोपटक २०७२ मा रेडपाण्डाको जोडी भेटिएको थियो । त्यसयता खोजी र संरक्षणका कार्यक्रम थालिएको हो । रेड पाण्डा नेटवर्कको सहयोगमा स्थानीय गैरसरकारी संस्था मानवअधिकार सचेतन केन्द्र (हुरेक) मार्फत उपल्लो रोल्पाका माथिल्लो भेगमा विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षणको निम्ति कार्यक्रम सञ्चालन गरिएको छ । सुरु जस्तै दोस्रोपटक पनि रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा उक्त परियोजना ‘समुदायमा आधारित रेडपाण्डा (हाब्रे) संरक्षण परियोजना–२’ सञ्चालन गरिएको छ ।
पूर्वी रोल्पास्थित सुनछहरी गाउँपालिकाको अधिकांश स्थानमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ । पहिलो चरणमा रोल्पासहित डोल्पा, रुकुम पूर्व र रुकुम पश्चिममा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । यस्तै रोल्पा नगरपालिकासहित थबाङ, सुनछहरी, गंगादेव र परिवर्तन गाउँपालिकामा कार्यक्रम गरिएको थियो ।
दुई वर्ष पूरा भएको र ३ वर्ष बाँकी भएको दोस्रो चरणको परियोजना ५ वर्षसम्म चल्नेछ । रेडपाण्डा भएको स्थानको अनुसन्धान र अनुगमन, जनचेतना विकास, बासस्थान व्यवस्थापन, स्थानीयका लागि दिगो जीविकोपार्जनका कार्यक्रम र प्रवर्द्धन गर्ने कार्यक्रम छ । सुनछहरी गाउँपालिकाका ५ वटा सामुदायिक वन र २ वटा विद्यालयमा जनचेतना विस्तार गरेर रेडपाण्डा जोगाउन स्थानीयलाई समेत सहभागी बनाउने कार्यक्रमको लक्ष्य रहेको छ ।
केही वर्षअघि यस क्षेत्रबाट चोरी गरिएका रेडपाण्डाका छालासहित केही व्यक्तिलाई प्रहरीले दाङ र प्यूठानबाट नियन्त्रणमा लिएको थियो । रेड पाण्डाको शिकार गरिएको र त्यस क्षेत्रमा चोरीपैठारीसमेत भइरहेको प्रहरीले जनाएको छ । परियोजना मार्फत सुरु अवधिमा रेडपाण्डा नेटवर्कले १५ लाख बजेट खर्च गर्यो भने दोस्रो चरणको पहिलो वर्ष ३९ लाख बजेट खर्च भएको छ ।
रोल्पामा पहिलोपटक २०७२ माघ पहिलो साता पूर्वी रोल्पाको गाममा एक जोडी रेडपाण्डा फेला पारिएको थियो । गामका ५९ वर्षका मनबहादुर बुढा र उनकी श्रीमती ५० वर्षकी लहरी बुढाले जंगलमा भेटाएको जोडी रेडपाण्डा घरमा केही समयसम्म पालेर सुरक्षित राखेका थिए । भेटिएको रेडपाण्डा जोडीलाई नै जिल्ला वन कार्यालयको पहलमा जावलाखेलस्थित सदर चिडियाघरमा संरक्षित गर्न पुर्याइएको थियो । फेला पारिएको रेडपाण्डाको तौल २ किलोभन्दा बढी थियो । कम उमेरका रेडपाण्डा फेला पारिएपछि लहरी दम्पतीले जोडी रेडपाण्डालाई हुर्काउन बाख्रा, गाई र भैंसीको दूध खुवाएका थिए ।
