चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जंगल छेउमा बसेर सागसब्जी बेच्नु जोखिमयुक्त भएकाले यसअघि पनि त्यहाँ बस्नेहरूलाई हटाउने गरिएको जनाएको छ ।
चितवन — सामाजिक सञ्जालमा अहिले एक जना महिलालाई निउरो बेच्दै गर्दा सेनाले हटाएको भिडियो भाइरल भएको छ । उक्त भाइरल भएको भिडियो चितवनको टिकौली क्षेत्रको रहेको खुलेको छ ।
भिडियोमा एक महिलालाई निउरो बेच्दै गर्दा नेपाली सेनाले सडक किनारबाट हटाइएको दृश्य देखिन्छ । टिकौली जंगल हुँदै पूर्व-पश्चिम राजमार्ग गएको छ । उक्त क्षेत्र वन्यजन्तु संवेदनशील मानिन्छ । सडक आडमै दिउँसै गैंडा चरेको भेटिने गरेको स्थानीयहरू बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जंगल छेउमा बसेर सागसब्जी बेच्नु जोखिमयुक्त भएकाले यसअघि पनि त्यहाँ बस्नेहरूलाई हटाउने गरिएको जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले निउरो टिप्न जंगल जानु र जंगलसँग जोडिएको सडक किनारमा बस्दा वन्यजन्तुले आक्रमण गर्न सक्ने जोखिम भएकाले देखेसम्म त्यहाँ बस्न नदिने गरिएको बताए । पहिला पनि यसरी स्थानीयलाई त्यहाँ नबस्न आग्रह गर्दै आएको थाले बताए । उनले भने, 'त्यो क्षेत्र जंगली जनावर ओहोरदोहोर गर्ने क्षेत्र हो । बाघ, गैंडा र हात्तीले आक्रमण गर्न सक्छन् भनेर हामीले सचेतना गराउँछौं । त्यो भिडियो पनि त्यही सिलसिलाको हो ।'
टिकौली जंगलको दक्षिणी भेग निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । उक्त क्षेत्रमा निउरो, सागसब्जी तथा फलफूल बेच्नेहरू बस्ने गरेका छन् । निकुञ्ज सुरक्षाका लागि नेपाली सेनासमेत परिचालन गरिएको छ ।