कलाकृति निर्माणको मौलिक सीप संरक्षण गर्ने उद्देश्यले वृत्तचित्र बनाएको हुँ : उवे
काठमाडौँ — जर्मन व्यवसायी तथा विकास अभियन्ता उवे लुकले मुर्तिकला निर्माणको मौलिक प्रक्रियालाई एक वर्षसम्म फलो गरेर ‘द मेकिङ अफ द स्ट्याचु मिलारेपा’ तयार गरेका छन् । नेपाली मूर्तिकलाको परम्परागत प्रक्रियालाई विश्व दर्शकसामु प्रस्तुत गर्ने उद्देश्यले यो चलचित्र बनाइएको लुकले बताए ।
वृत्तचित्रलाई व्यवसायी अमरलाल श्रेष्ठले संयोजन गरेका हुन् । संयोजक श्रेष्ठले उवेसँग आफ्नो ५० वर्षभन्दा लामो समयदेखि संगत रहेको बताए ।
‘कलाकृतिहरु मेसिनले होइन । नेपाली कालीगढको पुस्तौंदेखिको पसिना साधना, धैर्य र स्वाभिमानले निर्माण हुन्छ भनेर मित्र उवेले चलचित्रमा देखाउन खोज्नुभएको छ,’ श्रेष्ठले भने,‘उहाँले एक वर्षसम्म निरन्तर फलो गरेर कलाकारहरुको त्यो कठिन साधना र धैर्यतालाई पर्दामा उतार्नुभएको छ ।’
वृत्तचित्रमा मूर्तिकारका रूपमा सविन्द्र शाक्य, सीताराम बि.क र रिनु शाक्यले काम गरेका छन् । त्यस्तै, बाल कलाकारमा रोनित प्रधान (जेम्स स्कूल), आर्यभलाल श्रेष्ठ र आर्या श्रेष्ठ (निसर्ग बाटिका स्कुल ) छन् ।
बुधबार काठमाडौंमा आयोजित वृत्तचित्रको स्क्रिनिङ कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिइओ हिक्मतसिंह ऐर, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेश लाल श्रेष्ठ, नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, पूर्व सचिव शंकरप्रसाद पाण्डेलगायत विशिष्ट अतिथीहरुको उपस्थिति थियो ।
जर्मन स्वयंसेवी संस्था जर्मन भोलुन्टियर्सको पूर्व निर्देशक र जीटिजेटका पूर्व सल्लाहकार समेत रहेका उवे सन् १९७३ मा पहिलोपटक नेपाल आएका थिए । त्यसको केही समयपछि स्वर्गीय पत्नी टुडी बिल्लोसँग मिलेर उनले नेपाली हस्तकलालाई जर्मनीमा निर्यात गर्न थाले । उवेले केही समयअघि मात्रै ‘सिंगिङ बल’ नामक वृत्तचित्र निर्माण गरिसकेका छन् ।
‘मैले फिल्म मेकिङमा लाग्छु भनेर कहिल्यै सोचिँन । तर नेपालको परम्परागत हस्तकलाहरु बनाउने सीप संरक्षणका लागि भिडियो सामाग्रीले महत्वपूर्ण भूमिका खेल्छ भन्ने लागेपछि ८० वर्ष नाघिसकेको अवस्थामा पनि वृत्तचित्र बनाउन तम्सिएको हुँ,’ उवेले भने, ‘शताब्दीऔंदेखि हस्तान्तरण हुँदै आएको यो सीपलाई हामीले जगेर्ना गर्न जरुरी छ ।’
