वसन्तकालीन हिमाल आरोहणमा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

खुम्बु क्षेत्रको सगरमाथामा ३ नेपाली र मकालु हिमालमा २ विदेशीको निधन ।

वैशाख ३०, २०८३

सुरज कुँवर

Death toll in spring mountain climbing reaches 5

काठमाडौँ — विश्वका सर्वोच्च शिखर सगरमाथा र मकालुमा यस वर्षको वसन्तकालीन आरोहण सिजनमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। 

पर्यटन विभागका निर्देशक एवं सूचना अधिकारी हिमाल गौतमले सगरमाथा र मकालु क्षेत्रमा भएका विभिन्न घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको पुष्टि गरे । जसमा ३ नेपाली र २ विदेशी छन् । 

आरोहणका क्रममा निधन हुने नेपालीमा सगरमाथा आधार शिविर नजिकै वैशाख २० गते सेभेन ट्रेक्स प्रालिका गाइड  लाक्पा डेण्डी शेर्पा (सोलुखुम्बु), वैशाख २७ गते खुम्बु आइसफलमा ट्याग नेपाल ट्रेक्सका गाइड विजय घिमिरे(सोलुखुम्बु) र वैशाख २८ गते सगरमाथा तेस्रो शिविरमा काइटू एक्सपिडिसनका गाइड फुरा गेलजेन शेर्पा (सोलुखुम्बु) छन् । 

त्यसै गरी संखुवासभाको मकालु हिमालमा वैशाख २१ गते चेक रिपब्लिकका डेभिड रोविनेक र वैशाख २८ मा मकालुमै अमेरिकी नागरिक जोहानेस शेलीको निधन भएको पर्यटन विभागले बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालीहरू विभागबाट अनुमति प्राप्त गाइड हुन् भने विदेशीहरू आरोहण दलका सदस्य हुन् ।

सगरमाथाको खतरनाक खुम्बु आइसफलदेखि उच्च हिमाली शिविरहरूमा यी मानवीय क्षति भएका हुन् भने मकालु हिमालमा पनि ७,२०० मिटरभन्दा माथिको 'डेथ जोन' मा दुई विदेशी आरोहीले ज्यान गुमाएका छन्।

यी घटनाका बाबजुद पनि यस सिजनमा ३० वटा  हिमाल आरोहणका लागि विदेशी पर्वतारोहीको उत्साहजनक उपस्थिति देखिएको छ। विभागको तथ्याङ्क अनुसार यस सिजनमा सगरमाथासहित ३० वटा हिमालका लागि १ सय ३५ टोलीमार्फत १ हजार १ सय ३४ आरोहीले आरोहण अनुमति प्राप्त गरेका छन्।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully