मनोनयनले मत्थर भएन कांग्रेस विवाद

विशेष महाधिवेशन बाहिर रहेको समूहलाई समेत समेट्दै लैजाने सभापति थापाको प्रयासलाई नकारात्मक रूपमा लिन नहुने उनीहरूको भनाइ छ ।

वैशाख ३०, २०८३

कुलचन्द्र न्यौपाने

Congress controversy not resolved by nomination

What you should know

काठमाडौँ — कांग्रेस सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमिति सदस्यमा १९ जना मनोनयन गरेको विषयमा पूर्णबहादुर खड्का र शेखर कोइरालाले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन् । आफूहरूसँगको परामर्शबिना गरिएको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको उनीहरूले बताएका छन् ।

मंगलबार बिहान पूर्वकार्यवाहक सभापति खड्का र नेता कोइरालाले आआफ्नो पक्षका नेताहरूसँग छलफल गरेका थिए । केही व्यक्तिको मनोनयनले मात्रै कांग्रेसभित्रको संरचनागत विवाद समाधान नहुने निष्कर्ष उनीहरूले निकालेका छन् । मनोनयनमा परेका नेताहरूले भने यसलाई पार्टी एकताको दिशामा सकारात्मक कदम भनेका छन् ।

विशेष महाधिवेशन बाहिर रहेको समूहलाई समेत समेट्दै लैजाने सभापति थापाको प्रयासलाई नकारात्मक रूपमा लिन नहुने उनीहरूको भनाइ छ । पूर्वसभापति शेरबहादुर देउवापक्षीय नेता आंगेलु शेर्पाले नैतिक र कानुनी लडाइँ सकिएकाले बाँकी रहेको राजनीतिक मुद्दालाई १५ औं महाधिवेशनमा लगेर टुंगाउनुपर्ने बताए । शेर्पा सोमबार केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । 

विशेष महाधिवेशन बाहिर रहेका नेतालाई जोड्ने सभापति थापाको पहल सकारात्मक भएको जनाउँदै शेर्पाले अब महाधिवेशनमा गएर नै एकता खोज्नुपर्ने बताए । ‘सभापति थापाको हस्ताक्षरबाटै टिकट लिएर चुनावी प्रतिस्पर्धामा गएपछि नेतृत्वलाई स्विकार्न सकिँदैन भन्ने नैतिकता छैन । ४ वैशाखमा अदालतले विशेष महाधिवेशनलाई मान्यता दिइसकेपछि कानुनी मुद्दा पनि समाप्त भइसकेको छ । अब रहेको भनेको राजनीतिक मुद्दा मात्रै हो,’ उनले भने, ‘यसलाई लैजाने भनेकै महाधिवेशनमा हो । 

शेखर कोइराला पक्षबाट मनोनीत नेता दिलेन्द्रप्रसाद बडूले पनि मनोनयन पार्टी एकताका लागि सकारात्मक खुट्किलो भएको बताए । ‘सबैसँग भेटघाट र कुराकानी गरिसकेपछि मनोनयन भएको मेरो जानकारीमा छ । यो प्रयास पार्टी एकताको पक्षमा सकारात्मक पहलकदमी हो,’ दार्चुलामा रहेका उनले भने, ‘शेखरजीले आज बिहान साथीहरूलाई बोलाएर छलफल गर्नुभएको रहेछ । मैले टेलिफोनबाटै उहाँलाई पनि यही कुरा भनेको छु ।’ 

नेताहरू खड्का र कोइरालाले भने मनोनयनबारे आफूहरूसँग कुनै परामर्श नभएको बताएका छन् । ‘हिजो २८ वैशाखमा कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् । 

यसअघि नवीकरण भइसकेको क्रियाशील सदस्यता अद्यावधिक गर्ने केन्द्रीय कार्यसमितिको निर्णयप्रति पनि कोइरालाले असन्तुष्टि जनाएका छन् । ‘१४ औं महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताका आधारमा नै पार्टीको १५ औं महाधिवेशन (एकता महाधिवेशनका रूपमा) सम्पन्न गरिनुपर्छ,’ उनले भनेका छन्, ‘कांग्रेस एकताको मुख्य आधार नै यो हुनुपर्छ ।’ कोइरालालगत्तै खड्काले पनि उस्तै भनाइ सार्वजनिक गरेका थिए । पार्टीको बृहत् र सम्पूर्ण एकता गर्नुपर्ने उद्देश्यमा सोमबारको मनोनयनले ठेस पुगेको खड्काको भनाइ छ । 

‘पपुलिज्म’ (लोकप्रियतावाद) का नाममा संविधानवाद र लोकतन्त्रका आधार स्तम्भ र मूल्य मान्यतामाथि आक्रमण भइरहेका बेला पार्टीभित्र सम्पूर्ण एकता हुनुपर्ने खड्काले बताएका छन् । ‘एकता नभई राष्ट्रिय राजनीतिमा प्रभावकारी हस्तक्षेपकारी र सार्थक भूमिका खेल्न सक्दैनौं । त्यसैले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्ने जिम्मेवारी मूलतः गगनजी र दोस्रोमा बिश्वप्रकाश (शर्मा) जीको हातमा छ ।’ 

देउवा पक्षका नेता मीनबहादुर विश्वकर्माले एकताका लागि व्यक्ति छानेर मनोनयन गर्नुभन्दा पनि सामूहिक प्रयास हुनुपर्ने बताए । ‘सामूहिक प्रयास गर्नुको सट्टा व्यक्ति–व्यक्ति जोडेर समग्र पार्टी एकताको सन्देश जाँदैन,’ उनले भने, ‘व्यक्ति–व्यक्तिलाई मनोनयन गर्नुभन्दा नेतृत्वसँग समन्वय गरेर समग्र पार्टी एकताको प्रयास गर्नु राम्रो हुनेछ । सभापतिलाई हाम्रो सुझाव यही छ ।’ 

मनोनयनलाई लिएर खड्का र कोइरालाले सार्वजनिक रूपमा असन्तुष्टि जनाए पनि ती समूहभित्रै एकताका लागि लचिलो हुने जमात ठूलो छ । खड्कानिकट केन्द्रीय सदस्य रामहरि खतिवडा पहिलो चरणमा भएको मनोनयन सकारात्मक रहेको र यसले पार्टी एकतालाई बल मिलेको बताउँछन् । देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा निर्वाचित सदस्य रहेका खतिवडा यस पटकको मनोनयनमा भने परेका छैनन् । ‘सभापतिजीले मनोनयन गरेर विशेष महाधिवेशन बाहिर रहेकालाई जोड्न खोज्नु आफैंमा सकारात्मक हो,’ उनले भने, ‘यसमा क्रमशः अरूलाई पनि जोड्दै लैजानुपर्छ । महाधिवेशनलाई एकता महाधिवेशन बनाउनुपर्छ ।’ 

संस्थापनइतर पक्षमा खड्का र कोइराला पक्षका अलग–अलग समूह छन् । पूर्वसभापति देउवा पक्षको नेतृत्व खड्काले नै सम्हालेका छन् । देउवा देश बाहिर रहे पनि पार्टीको आन्तरिक गतिविधिबाट टाढा नरहेको उनीनिकट नेताहरू बताउँछन् । 

सभापति थापा आफैंले कुराकानी गरेर मनोनयन गरेकाका कारण खड्का र कोइरालाले असन्तुष्टि जनाएको हुन सक्ने एक नेताले बताए । ‘अहिलेको मनोनयन विगतमा जस्तो गुटको नेतृत्वबाट नाम मागेर भएको होइन,’ उनले भने । 

पूर्वसभापति देउवा पक्षमा रहेका खास गरी दोस्रो तहका पूर्वपदाधिकारीले भने आफ्नो भविष्यसँग अहिलेको विवादलाई जोडेर हेर्ने गरेको नेताहरू बताउँछन् । ‘गगन थापामा नेतृत्व गइसकेपछि उहाँहरूलाई स्विकार्न कठिनाइ भएको छ, आफ्नो सम्मानजनक हैसियत हुने कि नहुने भन्ने मुख्य चासो छ,’ पार्टीका एक पदाधिकारीले भने, ‘त्यसभन्दा तलका अधिकांश नेता भने मिल्न खोजिरहनुभएको छ ।’ सभापति थापाले महाधिवेशन प्रतिनिधिहरूमध्येबाट १९ जनालाई मनोनयन गर्दा देउवा पक्षका ११ जना, शेखर कोइराला  पक्षका ७ जना र शशांक कोइराला पक्षका १ जना परेका छन् । 

देउवा पक्षबाट महेन्द्र यादव, उमेश श्रेष्ठ, रमेश रिजाल, अजयकुमार चौरासिया, लक्ष्मी परियार, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, राजीव ढुंगाना, सुशीला मिश्र भट्ट, नागिना यादव र जीवन राना मनोनयनमा परेका छन् । उनीहरूमध्ये महेन्द्र यादव यसअघि सहमहामन्त्री तथा उमेश श्रेष्ठ कोषाध्यक्ष थिए । 

शेखर कोइराला पक्षबाट जीवन परियार, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, चन्द्रकान्त भण्डारी, राजीव कोइराला, गोविन्दराज पोखरेल र दिनेश कोइराला मनोनयन भएका छन् । जीवन परियार यसअघिका सहमहामन्त्री हुन् । शशांक कोइराला पक्षबाट भने सीता थपलिया ‘उर्मिला’ मात्र मनोनीत भएकी छन् ।

सर्वोच्च अदालतले थापा नेतृत्वकै केन्द्रीय कार्यसमिति नै आधिकारिक हुने फैसला गरेपछि पार्टीभित्र समानान्तर गतिविधि रोक्दै एकतामा जानुपर्ने पक्षमा नेता शेखर कोइराला उभिँदै आएका थिए । सोमबारको मनोनयनपछि भने उनी चिढिएका छन् । कोइरालालाई पनि सभापति थापाले यसैपटक मनोनयन गर्न चाहेका थिए । सबैसँग एकता नभएसम्म आफू नआउने भनेपछि कोइराला मनोनयनमा नपरेका हुन् । देउवापक्षीय नेताहरूले भने समानान्तर गतिविधि रोकेका छैनन् । यो समूहले मंगलबार विराटनगरमा कोशी प्रदेशस्तरीय भेला गरेको छ, बुधबार बागमती प्रदेशस्तरीय भेला हुँदै छ । ती भेलालाई समानान्तर १५ औं महाधिवेशनको तयारीका रूपमा हेरिएको छ । 

सभापति थापाले बृहत् पार्टी एकताका लागि चरणबद्ध रूपमा मनोनयन र समायोजन प्रक्रिया अघि बढाउने बताउँदै आएका छन् । महामन्त्री प्रदीप पौडेलले छुटेका नेताहरू दोस्रो चरणमा मनोनयन हुने बताए । कांग्रेसको पुरानो विधानले सभापतिलाई ३३ जना मनोनयन गर्न सक्ने अधिकार दिएको छ । त्यसलाई विशेष महाधिवेशनले संशोधन गरेर ६१ संख्या पुर्‍याएको छ । ‘पार्टी एकताका लागि बाँकी संख्यामा दुवै पक्षका नेताहरूलाई अधिकतम समेटिनेछ,’ महामन्त्री पौडेलले भने ।

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully