जनप्रतिनिधिको जिम्मेवारी सम्हालिरहेका उनी लामो अन्तरालपछि पुन: पढाइलाई निरन्तरता दिँदै सफलता हासिल गरेका हुन् ।
What you should know
काभ्रे — खानीखोला गाउँपालिका–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले ४४ वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । २०८२ को एसईईमा सहभागी भएका स्याङ्तान २.५५ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् । जनप्रतिनिधिको जिम्मेवारी सम्हालिरहेका उनी लामो अन्तरालपछि पुन: पढाइलाई निरन्तरता दिँदै सफलता हासिल गरेका हुन् ।
उनी सानैदेखि पढाइप्रति रुचि राख्थे । विविध कारणले उनले पढाईलाई निरन्तरता दिन सकेनन् । २०५६ सालमा कक्षा ८ सकेर ९ मा भर्ना हुने बेला तत्कालीन द्वन्द्वकालको जटिल परिस्थितिका कारण पढाइलाई निरन्तरता दिन सकेनन् । ‘देशको परिस्थिति र व्यक्तिगत कारणले बीचमै पढाइ रोक्नुपर्यो,’ उनले भने, ‘लामो संघर्षपछि फेरि समय मिल्यो र पढाइलाई निरन्तरता दिने निर्णय गरेँ ।’
उनले बीचमा पुन: विद्यालयमा भर्ना हुने प्रयास गरे पनि सामाजिक कार्य र व्यक्तिगत जिम्मेवारीका कारण अवसर छुट्दै गएको बताए । २०७९ सालमा वडाध्यक्ष निर्वाचित भएपछि पनि व्यस्तता बढ्दै गयो । २०८० सालमा भने पढाईलाई निरन्तरता दिने सोच बनाए । आफूले बाल्यकालदेखि नै पढ्दै आएको खानीखोला–५ मा रहेको जनविकास माध्यमिक विद्यालयमा उनले पुन: भर्ना गरे ।
२०८१ मा कक्षा ९ उत्तीर्ण गरेका उनी २०८२ को एसईईमा सहभागी भएर उत्तीर्ण भएका हुन् । अब ११ कक्षामा भर्ना भएर अध्ययनलाई अझै अगाडि बढाउने उनको तयारी छ । ‘अब ११ कक्षामा भर्ना भएर पढाइलाई अगाडि बढाउने योजना छ,’ उनले भने, ‘प्राविधिक शिक्षा कि अन्य विषय रोज्ने भन्नेबारे सुझाव लिइरहेको छु ।’
पारिवारिक रूपमा पनि उनले धेरै संघर्ष भोगेका छन् । बाल्यकालमै आमालाई गुमाएका स्याङ्तानले पछि बुबालाई पनि गुमाउनुपरेको बताए । दिदीबहिनी, आफन्त र परिवारको सहयोगले आफू यहाँसम्म आइपुगेको उनको भनाइ छ । उनकी जेठी छोरीले गत वर्ष एसईई गरेकी थिइन् । कान्छी छोरी १० कक्षा पढिरहेकी छिन् । छोराछोरीले समेत पढ्न हौसला दिइरहेको उनले बताए ।
स्याङ्तानले आफू जनप्रतिनिधि भएकाले शिक्षा अभियानलाई पनि प्राथमिकतामा राख्दै आएको बताए । विद्यालयमा पुगेर बालबालिकालाई नियमित पढाइको महत्त्वबारे सचेतना फैलाउँदै आएका छन् । उनले भने, ‘मैले यो उमेरमा एसईई पास गर्दा नयाँ पुस्तालाई पनि पढाइको महत्त्व बुझाउन सन्देश जाओस् भन्ने चाहना छ।’
बाल्यकालमा शिक्षक वा वन क्षेत्रको कर्मचारी बन्ने सपना देखेका स्याङ्तान अहिले जनप्रतिनिधिको भूमिकामा छन् । शिक्षा हासिल गरेर समाजलाई अझ प्रभावकारी रूपमा नेतृत्व गर्ने चाहना रहेको उनले बताए ।
