वर्ष दिनको छँदा एकसाथ परिवारका ८ जना गुमाएका सन्सरबहादुरले गरे एसईई

१६ वर्षअघि विषालु च्याउ खाएर परिवारका सबै सदस्य गुमाएपछि एसओएस बालग्राममा बसेर पढिरहेका कान्दाका सन्सरबहादुर चेपाङले २.६९ जीपीए ल्याएर एसईई पास गरेका छन्।

वैशाख २९, २०८३

रमेशकुमार पौडेल

Sansar Bahadur, who lost 8 family members at the same time in his early years, underwent SEE.

What you should know

चितवन — २०६७ जेठमा विषालु च्याउ खाएर परिवारका सबै सदस्य गुमाएका चितवनको पहाडी गाउँ कान्दामा सन्सरबहादुर चेपाङले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । च्याउ खाँदा बिरामी परेका परिवारका आठ सदस्यको मृत्युपछि भरतपुरस्थित एसओएस बालग्रामको आश्रयमा पढिरहेका सन्सरबहादुर २ दशमलब ६९ जीपीए ल्याएर पास भएका हुन् ।  

चितवनको उत्तरी भेग पहाडी गाउँ लोथरको कान्दामा २०६७ को जेठ १४ मा जंगली च्याउ खाएका एकै घरका आठ जनाको निधन भएको थियो । सानो भएका कारण च्याउ नखाएका बालक सन्सरबहादुर मात्रै जोगिएका थिए । उनै सन्सरबहादुर यो पटक एसईई उत्तीर्ण भएका हुन् । 

हाल राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा गाउँ पुग्न अहिले पनि दिनभर हिँड्नुपर्छ । गाउँ पुग्ने मोटरबाटो छैन । अति सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ बहुल कान्दामा १६ वर्षअघि यो घटना हुँदा बिरामी भएकालाई भरतपुरको अस्पताल ल्याउनै झण्डै दुई दिन लागेको थियो । 

२०६७ जेठ १४ को साँझ कान्दाका बाबुराम चेपाङले जंगलबाट ल्याएको च्याउ पकाए । बाबुराम सन्सरबहादुरका हजुरबुवा हुन् । गाउँमा च्याउ खाएका सबै आठ जना बिरामी परेको हल्ला भएपछि भोलिपल्ट स्थानीय कान्देश्वरी विद्यालयका प्रधानाध्यापक (प्रअ) बालकृष्ण थपलिया बाबुरामको घर गए । छिमेकीहरु उनीहरुलाई जनावरको दिसा खुवाएर वान्ता गराउन खोज्दै थिए । प्रअ थपलियाले यस्तो नगर्न र ‘जति सक्दो चाँडो अस्पताल लौजाऔं’ भने । गाउँलेहरु जुट्दाजुट्दै बाबुरामको प्राण गयो । लगत्तै बाबुरामकी श्रीमती अर्थात् सन्सरबहादुरकी हजुरआमाको पनि निधन भयो । ‘बिरामी भएकामध्ये बाबुराम, उनकी श्रीमती र बाबुरामकी एक नातिनी (सन्सरबहादुरकी दिदी)को गाउँमै प्राण गयो,’ प्रअ थपलियाले घटना सम्झे । बाँकी पाँच जनालाई थपलियाले गाउँलेको सहयोगमा भरतपुर अस्पताल ल्याए ।

सन्सरबहादुरका बुवा पूर्णबहादुर, आमा चन्द्रमाया, सन्सरबहादुरकी एक दिदी, काका जीतबहादुर र जीतबहादुरकी श्रीमतीको भरतपुर अस्पतालकै शय्यामा मृत्यु भयो । उपचारको प्रयासमा काठमाडौं लगिएका जीतबहादुरको पनि जेठ २० मा मृत्यु भएपछि सन्सरबहादुरको परिवारमा कोही बचेनन् । 

परिवारका सबै बिते बच्चालाई के गर्ने ? प्रअ थपलिया साँछी बस्ने भएपछि भरतपुरको एसओएस बालग्रामले सन्सरबहादुरलाई राख्ने जिम्मा लियो । यो घटनाले सन्सरबहादुरलाई अर्कै संसारमा पुर्‍यायो । 
बालग्रामकी आमा ‘कान्ति’को काखमा सन्सरबहादुर हुर्किन थाले । सन्सरबहादुरको स्कुले जीवन सुरु भयो । ‘फुटबलमा उनको सानैदेखि धेरै रुचि छ । स्कुलबाट फुटबल खेल्न ठाउँठाउँ गएका छन्,’ एसओएस बालग्रामका निर्देशक राजेन्द्र लम्सालले भने ।

तीन वर्षअघि अन्डर–१६ समूहको छनौट खेल्न काठमाडौंसम्म गए पनि छनोट हुन सकेनन् । बालग्राममा बस्न आएकाहरु २३ वर्षको हुँदासम्म एसओएसले जिम्मेवारी लिन्छ । ‘त्यो बेलासम्म पढाइदेखि सबै कुरामा सहयोग गर्छाैं । हाम्रोमा कक्षा ११ मा विज्ञान विषय छ । त्योबाहेकको विषय पढ्न बाहिर गए पनि सहयोग हुन्छ,’ निर्देशक लम्सालले भने । 

फुटबलसँगै बास्केटबल, भलिबलमा पनि आफ्नो रुचि भएको उनले बताए । उनलाई नाँच्न पनि रहर लाग्छ । ‘कहिलेकाँही त गीत पनि गाउँछु,’ सन्सरबहादुरले भने । पढाइमा राम्रो अक्षर लेख्न नसकेका कारण प्रगति गर्न नसकिएको उनी बताउँछन् । गाउँमा आफ्ना हजुरबाआमा पट्टिका सबैको निधन भए पनि अन्य आफन्त छन् । उनी बीचमा दुई पटक गाउँ पनि पुगे । ‘गाउँ त धेरै टाढा रहेछ । काठमाडौंभन्दा पनि टाढा । दिनभरी हिँड्न पर्ने,’ उनले भने । 

अचेल कान्दाको अवस्था परिवर्तन भएइसकेको प्रअ थपलिया बताउँछन् । त्यतिबेलाको घटनाको स्थलगत समाचार संकलन गर्न पुगेका पत्रकारमध्ये एकल सिलवालले आफ्ना मित कलाकार तथा सिनेमा निर्माता रविन्द्रसिंह बानियाँसँग मिलेर कान्दाको रुपान्तरणका लागि ‘मितेरी अभियान’ सुरु गरे । उक्त अभियानमा पछि लक्ष्मी प्रतिष्ठान जोडियो । प्रतिष्ठानले २०७२ सालमा गाउँमा छात्राबास सुरु गर्‍यो ।

छात्राबासमा नि:शुल्क रुपमा बसेर बालबालिकाले कान्देश्वरी स्कुलमा पढ्न थाले । २०६७ मा ४ कक्षासम्म मात्रै पढाइ हुने उक्त विद्यालयमा अहिले कक्षा ८ सम्म पढाइ हुन्छ । माथिल्लो कक्षा पढ्न नजिक विद्यालय नभएकाले कान्दाका विद्यार्थीलाई लक्ष्मी प्रतिष्ठानले काभ्रेमा संचालन गरेको छात्रावासमा लगेर एसईईसम्म पढाउन थाल्यो ।

‘कान्दाका बालबालिकाले २०७८ सालदेखि काभ्रेबाट एसईई दिन सुरु गरेका हुन् । अहिलेसम्म सयौं एसईई दिइसके । ४०/४५ जनाले १२ कक्षा पास गरेका छन् । स्नातक पनि पढ्दै छन् । घटनापछि गाउँमा शिक्षा क्षेत्रमा राम्रो अभियान चल्यो,’ थपलियाले भने । त्यो बेला आठ जना अभिभावक गुमाएर एक्लै परेका शिशुले अहिले एसईई उत्तीर्ण गरेको खबरले आफु निकै खुसी भएको थपलियाले बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully