दुई वर्षदेखि पहिरोले बेलाबेला यातायात अबरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडकको तुइनखोला क्षेत्रमा पहिरो नियन्त्रणका लागि डिभिजन कार्यालयले रक एंकरिङ र रक नेटिङको काम गर्न बल्ल टेन्डर आह्वान गरेको छ ।
What you should know
चितवन — नारायणगढ–मुग्लिन सडक हुँदै काठमाडौं या पोखरा आउजाउ गर्नेहरुले मुग्लिननजिक तुइनखोलाको पहिरोले बर्खायाममा दिएको पिडा सायदै बिर्सेका छन् । बर्खामा पटक–पटक बाटो थुन्ने तुइनखोलाको पहिरोले दु:ख दिन थालेको दुई/तीन वर्ष नै भयो । बर्खा सकिएसँगै पहिरो खासै खस्दैन । अनि पहिरो नियन्त्रणको प्रयास पनि सुस्ताउँछ ।
लगातार पानी पर्न थाले तुइनखोलाको पहिरोले बाटो थुनेर दु:ख दिन सुरु गर्छ । यो पटक पहिरो खस्न सुरु भएसँगै पहिरो नियन्त्रणको काम गर्न बल्ल टेण्डर सूचना निस्केको छ । वैशाख २० को बिहान सुक्खा पहिरो खसेका कारण तुइनखोला छेउमा एकतर्फी मात्र गाडी चले । वैशाख २४ मा पनि पहिरोका कारण केहीबेर सडक एकतर्फी सञ्चालनमा आयो । त्यसदिन दिउँसो एउटा दुर्घटना पनि भयो ।
तुइनखोला माथिबाट खसेको ढुंगा सडकमा गुडिरहेको कारको इन्धन ट्यांकीमा पर्दा कारमा आगो सल्कियो । तत्कालै आगो निभाएका कारण कुनै मानवीय क्षति नभएको चितवन जिल्ला प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालले बताए । भोलिपल्ट वैशाख २५ को बिहानपख पहिरो खसेर दुईतर्फी नै बाटो बन्द भयो । त्यसैदिन बल्ल भरतपुरको डिभिजन सडक कार्यालयले टेन्डर सूचना निकाल्यो ।
तुइनखोला र आडको नाम्सी खोलाको पहिरो नियन्त्रणको काम गर्नका लागि डिभिजन सडक कार्यालयले वैशाख २५ मा टेन्डर आह्वन गरेको छ । तत्कालका लागि नाम्सी खोलाको मुग्लिन तर्फ र तुइनखोलाको पहिरो नियन्त्रणका लागि टेण्डर आह्वान भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए । छिट्टै नाम्सीको भरतपुर तर्फको र कालीखोलाको कामका लागि पनि टेन्डर निकालिने उनले बताए । यी चार ठाउँको कामका लागि ४३ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ ।
तुइनखोलामा १०५ मिटर माथिबाट पहिरो र ढुंगा खस्न् गरेको छ । अग्लो ठाउँबाट साना ढुंगा खसे पनि तल गुडिरहेका गाडीमा लागे ठूलै दुर्घटना हुने जोखिम छ । यसका साथै बेलाबेलामा ठूलै पहिरो खसेर घण्टौं बाटो थुनिँदा यात्रुलाई हैरानी हुने गरेको छ । टेन्डर सूचना निस्के पनि सबै प्रक्रिया पूरा गरेर छनौट हुने निर्माण व्यवसायीसँग छिटोमा पनि असार १५ मा सम्झौता गर्न सकिने इन्जिनियर आचार्यले बताए । ‘मनसुन सिजन हुन्छ । ठेक्का निकालेका छौं । सम्झौतापछि मनसुनका बेला काम गर्न सकिएला/नसकिएला अहिले एकिन गर्न सकिँदैन । हिउँदको बेला जस्तो भएन । अरु समयको भन्दा कम पानी पर्ने, सुक्खा हुने भन्ने छ । ठेक्का लाग्यो र पानी कम पर्यो भने काम गर्न सकियो,’ सूचना अधिकारी आचार्यले भने ।
पहिरो रोकथामका लागि रक एंकरिङ र रक नेटिङको काम हुने उनले बताए । ‘ठेक्का लागे लगत्तै सुरुमा हामीले ढिक्का–ढिक्का परेर बसेका खण्ड काटेर सफा गर्छौं । त्यसपछि रक एंकरिङ हुन्छ । यो भनेको बलियो रड सतहबाट चार पाँच मिटरसम्मभित्र बलियो खण्डमा पुर्याउनु हो । जसका कारणले कमजोर सतह तल नखसोस्,’ कार्यालयका अर्का इन्जिनियर अर्जुन घिमिरेले भने । त्यसैगरी अन्य साना ढुंगा तल झर्नबाट रोक्न विशेष जालीले ढाक्नेलाई रक नेटिङ भनिन्छ । यसरी लगाउने जाली तीन प्रकारको हुने इन्जिनियर घिमिरेले बताए । ‘नर्मल रक नेट पनि छ । हाइस्ट्रेन्थ वाला नेट पनि हुन्छ । ग्राभेल भरेर बिरुवा उमार्न मिल्ने थ्रिडी मेस पनि हुन्छ । जाली लगाएर बिरुवा रोपेर छाड्छौं । जसका कारण पछि बिरुवा बढेर पहिरो रोक्ने छ,’ इन्जिनियर घिमिरेले भने ।
नारायणगढ–मुग्लिन सडक दैनिक १२ हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्ने अति व्यस्त सडक हो ।
यो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य सडक हो । तुइनखोलामा लगातार पहिरो खसेर पहाड नै पूरै नांगो भएको छ । पहिरोको लम्बाइ १६५ मिटर छ । १०५ मिटरसम्म माथिबाट पहिरो खसेको छ । बर्खामा यो क्षेत्र उच्च जोखिम हुन्छ ।
यो ठाउँमा दुई वर्षदेखि बर्खायाममा पहिरो खस्ने र लामो समय बाटो थुनिन सुरु भएको हो । डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले गत वर्ष असार ३ गतेबाट तुइनखोलामा पहिरो खस्न सुरु भएको जानकारी दिए । गत वर्ष पटक पटक गरेर तुइनखोलाको पहिरोका कारण १८४ घण्टा बाटो अवरुद्ध भएको उनले बताए । सबैभन्दा ठूलो पहिरो असोज ३ र ७ गते आएको थियो ।
असोज ३ को पहिरोले लगातार ४६ घण्टा र ७ गतेको पहिरोले लागातर ५८ घण्टा बाटो अवरुद्ध भएको इन्जिनियर घिमिरेले बताए । सानाठूला गाडी, बस र सामान ढुवानी गर्ने ट्रकहरु ओहोरदोहोर गर्ने यो सडक राजधानीको जीवन रेखा हो । यस्तो सडक लामो समय बन्द हुँदा यात्रुलाई हैरानी त हुन्छ नै राजधानीको आपुर्ती व्यवस्थामासमेत असर पर्छ ।
