३० जिल्लाका विद्यार्थी पढिरहेको डहु माविबाट एसईईमा ११ जनाको ४ जीपीए

३० जिल्लाका ६ सय विद्यार्थी अध्धयनरत रहेको रामेछापको सामुदाियक विद्यालय डहु माविबाट एसईई दिएका ६६ मध्ये ११ जनाले ४ जीपीए प्राप्त गरेका छन् ।

वैशाख २९, २०८३

नवराज श्रेष्ठ

11 students from Dahu Secondary School, where students from 30 districts study, scored 4 GPA in SEE

What you should know

रामेछाप — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक भएसँगै रामेछापको ग्रामीण भेगमा रहेको एउटा विद्यालय फेरि राष्ट्रिय चर्चामा आएको छ । जिल्लाको सुनापाति गाउँपालिका–४ बेथानस्थित डहु माध्यमिक विद्यालयले यस वर्षको एसईईमा ११ विद्यार्थीले ४ जीपीए ल्याएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयका कुल ६६ विद्यार्थीमध्ये ११ जनाले ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयका अनुसार प्राविधिक धार कम्प्युटर इन्जिनियरिङतर्फ अध्ययनरत ९ तथा साधारण धारतर्फका २ विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । त्यस्तै, प्राविधिक धारतर्फ ३८ जनाले ३.६० देखि ३.९६ जीपीए प्राप्त गरेका छन् भने एक जनाले ३.५९ जीपीए ल्याएका छन् । साधारण धारतर्फ ९ जनाले ३.६० देखि ३.९६, ५ जनाले ३.२० देखि ३.६० र २ जनाले २.८० देखि ३.२० जीपीए ल्याएका छन् ।

एसईईको राष्ट्रिय नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको वर्षमा डहु माविले हासिल गरेको उपलब्धि सामूहिक समर्पण, अनुशासन र निरन्तर सङ्घर्षको प्रतिफल भएको विद्यालयका प्रधानाध्यापक दलबहादुर वलले बताए । उनले भने, 'व्यक्तिगत जीवनका धेरै खुसीलाई बन्धक राखेर पनि शैक्षिक क्षेत्रमा नयाँ इतिहास रच्न निरन्तर समर्पित सहकर्मी शिक्षक, मेहनती विद्यार्थी र विश्वासिला अभिभावकप्रति कृतज्ञ छु ।' उनले १६.६६ प्रतिशत विद्यार्थीले ४ जीपीए ल्याउनु ऐतिहासिक उपलब्धि भएको बताए । डहु माविको इतिहासकै यो उत्कृष्ट नतिजा भएको उनले बताए ।  

डहु मावि उत्कृष्ट व्यवस्थापन र परीक्षामा हासिल गर्दै आएको नतिजाकै कारण चर्चामा रहँदै आएको विद्यालय हो । सीमित स्रोत–साधन, ग्रामीण परिवेश र अवसरको अभावबीच पनि विद्यालयले निरन्तर उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै आएको छ । विद्यालयको सफलताप्रति स्थानीय अभिभावक उत्साहित देखिन्छन् ।

सामुदायिक विद्यालयप्रतिको विश्वास कमजोर बन्दै गएको अवस्थामा डहु माविले मेहनत, अनुशासन, सक्षम व्यवस्थापन तथा शिक्षक–अभिभावकबीचको सहकार्य भए सरकारी विद्यालयले पनि उत्कृष्ट नतिजा दिन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको अभिभावकहरूको भनाइ छ ।

विद्यालयको शैक्षिक वातावरण, अनुशासन र व्यवस्थापनबाट प्रभावित भएर मन्थली नगरपालिका–९ का प्रेमबहादुर श्रेष्ठले सदरमुकाम मन्थलीस्थित एक निजी विद्यालयमा अध्ययनरत आफ्नी छोरीलाई तीन वर्षअघि डहु माविमा भर्ना गराएको बताए । उनले भने, 'विद्यालयको पढाइ, अनुशासन र नतिजाले हामी अभिभावकको विश्वास जितेको छ ।'

विद्यालयकी शिक्षिका रिना तामाङका अनुसार हाल नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ । विद्यालयमा हरेक दिन बिहान साढे ६ बजेदेखि अपराह्न साढे ४ बजेसम्म नियमित कक्षा सञ्चालन गरिन्छ भने त्यसपछिको समय खेलकुद, नृत्य तथा अन्य अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराइँदै आएको छ । 'सबै शिक्षक, विद्यार्थी र अभिभावकको मेहनत तथा सामूहिक प्रयासकै परिणामस्वरूप विद्यालयले अहिलेसम्मकै ठूलो सफलता हासिल गरेको हो,' तामाङले भनिन्, 'यसबाट हामी खुसी छौँ । तर अझै पनि हाम्रो लक्ष्य पूरा भएको छैन । एसईई २०८२ मा २५ जना विद्यार्थीले ४ जीपीए ल्याउने अपेक्षा गरेका थियौं, तर ११ जनाले मात्रै त्यो उपलब्धि हासिल गरे । त्यसैले अझै धेरै मेहनत गर्नुपर्ने आवश्यकता छ ।'

१८ हजार ऋणबाट ८४ लाख बचतसम्म 
डहु मावि ०१८ सालमा स्थापना भएदेखि नै शैक्षिक गुणस्तरका हिसाबले स्थानीय समुदायमा चिनिँदै आएको विद्यालय हो । स्थापना कालदेखिनै पठनपाठन सशक्त भए पनि विद्यालयको आर्थिक अवस्था भने लामो समयसम्म कमजोर रहँदै आएको थियो । विसं २०६१ सालमा स्थानीय दलबहादुर वल विद्यालयको प्रअ बनेपछि विद्यालयको अवस्था बद्लिन थालेको हो । उनी स्वयं यही विद्यालयका पूर्व विद्यार्थी हुन् भने उनका हजुरबुबा र बुबा दुवैले यसै विद्यालयमा कार्यालय सहयोगीको रूपमा काम गर्दै जीवन बिताएका थिए ।

वल प्रअ बनेको समयमा विद्यालय १८ हजार रुपैयाँ ऋणमा थियो । सीमित स्रोत, कमजोर आर्थिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बीच पनि उनले विद्यालय सुधार्ने स्पष्ट योजना र दृढ अठोटसहित नेतृत्व सम्हालेका थिए । २०६२ को लेखा परीक्षणमा विद्यालय ५० हजार रुपैयाँ मौज्दात (नाफा) मा पुगेको उनी सम्झिन्छन् ।

तर प्रारम्भिक सुधारको संकेतले सबै पक्ष सन्तुष्ट भने थिएनन् । सञ्चालन समिति र अभिभावकले अपेक्षा गरेअनुसारको प्रगति नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको स्मरण गर्दै प्रअ वल भन्छन्,'विद्यालयको मौज्दात ५० हजार हुँदा पनि सबै खुसी भएनन्, उल्टै यत्रो विद्यालय भएर पनि कम भयो भनेर गुनासो आयो । त्यसपछि मैले सबैलाई नमस्कार गरेर विद्यालयलाई राम्रो बनाउँछु भनेर प्रतिबद्धता जनाएर निरन्तर काममा लागेँ ।'
त्यसपछि शिक्षक, व्यवस्थापन समिति र अभिभावकको सहकार्य क्रमशः मजबुत बन्दै गयो । समयसँगै विद्यालयको आर्थिक अवस्था मात्रै होइन, शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारसमेत उल्लेखनीय रूपमा सुधार हुँदै गएको उनको भनाइ छ ।

हाल विद्यालय आर्थिक रूपमा सबल अवस्थामा पुगेको प्रअ वल बताउँछन् । अहिले विद्यालयको खातामा ८४ लाख ४७ हजार २१५ रुपैयाँ मौज्दात रहेको उनले बताए । विद्यालयको अर्को विशेषता भनेको स्थानीय विद्यार्थीका लागि निःशुल्क पठनपाठन हो । यहाँ अध्ययन गर्ने स्थानीय विद्यार्थीलाई कुनै शुल्क लाग्दैन । तर शैक्षिक गतिविधि तथा व्यवस्थापनका लागि स्थानीय विद्यार्थीले वार्षिक रूपमा १ हजार ५ सय रुपैयाँ सहयोग स्वरूप दिने गरेका छन् ।

त्यस्तै, बाहिरबाट आउने विद्यार्थीका लागि आवासीय सुविधासहित मासिक ६ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । कक्षा ११ र १२ का विद्यार्थीलाई भने बस्ने र खाने व्यवस्था पूर्ण रूपमा निःशुल्क रहेको विद्यालयले जनाएको छ । 

३० जिल्लाका विद्यार्थी 
डहु मावि अहिले रामेछाप मात्रै होइन, देशका विभिन्न जिल्लाका विद्यार्थी र अभिभावकहरूको रोजाइको विद्यालय बन्न थालेको छ । गाउँका अधिकांश अभिभावक आफ्ना छोराछोरीलाई राम्रो शिक्षाको खोजीमा सदरमुकाम र सहरतर्फ लैजाने प्रवृत्ति बढिरहेका बेला सुनापति गाउँपालिकाको दुर्गम बस्तीमा रहेको डहु माविले भने उल्टै सहरका विद्यार्थीलाई गाउँतर्फ आकर्षित गरिरहेको छ ।

सामुदायिक विद्यालयप्रतिको घट्दो विश्वासका बीच डहु माविले शैक्षिक गुणस्तर, अनुशासन र आवासीय व्यवस्थापनमार्फत आफूलाई देशकै नमुना विद्यालयका रूपमा स्थापित गर्दै लगेको छ । पछिल्लो समय विद्यालय अवलोकन गर्न आउने अभिभावक, शिक्षक र विभिन्न स्थानीय तहका प्रतिनिधिसमेत धेरै हुने गरेका छन् ।

प्रअ वलका अनुसार अहिले विद्यालयमा कुल ६ सय विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ३६० जना विद्यार्थी ३० जिल्लाबाट आएर आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । 'टाढाबाट आएका सबै विद्यार्थीलाई पढाउने इच्छा हुँदाहुँदै पनि व्यवस्थापन गर्न कठिन छ,' प्रअ वलले भने, 'त्यसैले प्रवेश परीक्षा लिएर मात्रै विद्यार्थी छनोट गर्ने गरेका छौँ । होस्टेलमा बस्ने विद्यार्थीको कोटा निर्धारण गरेर भर्ना लिनुपरेको छ ।' 

विद्यालयका अनुसार अहिले काभ्रे, दोलखा, ओखलढुंगा, सिन्धुली, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, रौतहट, महोत्तरी र झापालगायत जिल्लाका विद्यार्थी यहाँ अध्ययनरत छन् । त्यसै गरी काठमाडौं, मकवानपुर, बझाङ, म्याग्दी, डोटी, नवलपरासी, बैतडी, सल्यान, सप्तरी, अर्घाखाँची, सिराहा, चितवन, सुर्खेत, सर्लाही र सुनसरीलगायत जिल्लाबाट आएका विद्यार्थी पनि डहु माविमा आवासीय रूपमा अध्ययन गरिरहेका छन् ।

ग्रामीण परिवेशमै अङ्ग्रेजी माध्यममा गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र व्यवहारिक सिकाइको अवसर पाइने भएपछि अभिभावकको आकर्षण बढ्दै गएको विद्यालयको भनाइ छ ।

शिक्षालाई श्रम र उत्पादनसँग जोडने प्रयत्न 
डहु मावि बेथानले शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी श्रम, उत्पादन र व्यवहारिक सीपसँग जोड्ने प्रयास स्वरूप कृषि क्षेत्रमा समेत सक्रियता बढाएको छ । विद्यालयले आधुनिक कृषि अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित पहिलो चरणमा परीक्षणात्मक रूपमा कृषि तथा पशुपालन कार्यक्रम गरेको छ ।

प्रअ वलका अनुसार शिक्षालाई व्यवहारिक जीवनसँग जोड्ने लक्ष्यका साथ विद्यालयले कृषि फार्म सञ्चालनमा ल्याएको हो । 'हामीले विद्यार्थीलाई किताबको ज्ञानसँगै श्रम र उत्पादनको महत्त्व पनि सिकाउन खोजेका छौं,' उनले भने, 'कृषिलाई आधुनिक र व्यावसायिक बनाउने उद्देश्यले विद्यालयमै अभ्यास सुरु गरेका हौं ।'

हाल विद्यालयको फार्ममा ११ वटा बंगुर पालिएका छन् भने ४०० भन्दा बढी बोइलर कुखुरा रहेका छन् । त्यससँगै विद्यालयले तरकारी खेतीसमेत सञ्चालन गरिरहेको छ । विद्यालयका अनुसार फार्मको व्यवस्थापनमा विद्यार्थी र शिक्षक दुवैको सक्रिय सहभागिता रहने गरेको छ ।

आवासीय सुविधासहित सञ्चालन भइरहेको विद्यालयमा अहिले ३०० भन्दा बढी विद्यार्थी होस्टेलमा बसेर अध्ययन गरिरहेका छन् । ती विद्यार्थीका लागि हरेक हप्ता ५० केजीभन्दा बढी मासु खपत हुने गरेको प्रअ वलले बताए । त्यसका साथै ठूलो परिमाणमा तरकारीसमेत आवश्यक पर्ने भएकाले विद्यालयले आफ्नै फार्ममार्फत त्यसको व्यवस्थापन गर्दै आएको छ ।

विद्यालयले उत्पादन गरेको मासु र तरकारी होस्टेलका विद्यार्थीको भोजनमा प्रयोग हुँदै आएको छ । यसले एकातर्फ विद्यालयलाई आत्मनिर्भर बन्न सहयोग पुगेको र अर्कोतर्फ विद्यार्थीलाई व्यवहारिक कृषि ज्ञान र श्रमप्रतिको सम्मान सिकाउन मद्दत पुगेको विद्यालयका प्रअ वल बताउँछन् । 

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully