दायाँतर्फको मुख्य ल्यान्डिङ गियरमा आगो लागेकाे टर्किसको वाइडबडी जहाज ग्राउन्डेड, यात्रु होटलमा
What you should know
काठमाडौँ — टर्किस एयरलायन्सको घटनापछि सोमबार बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा करिब डेढ घन्टापछि सञ्चालनमा आएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार टर्किसको जहाजको दायाँतर्फको मुख्य ल्यान्डिङ गियरमा आगो लागेपछि विमानस्थल बिहान ६ :३४ बजे बन्द गरिएको थियो भने ८ :१२ बजे पुनः सञ्चालनमा आएको हो।
घटनाका क्रममा टर्किस एयरलायन्सको वाइडबडी विमान ट्याक्सी-वे ‘ब्राभो’ मा अड्किएको थियो। विमानको करिब ३० प्रतिशत भाग ट्याक्सी-वेमा र बाँकी ७० प्रतिशत भाग रनवेमा रहेका कारण सम्पूर्ण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र विमानस्थल सञ्चालन रोक्नुपरेको थियो।
उक्त विमानमा कुल २८८ जना सवार थिए। जसमा २७३ यात्रु, ११ चालकदलका सदस्य र ४ शिशु रहेको विमानस्थल कार्यालयले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार विमानको दायाँ मुख्य ल्यान्डिङ गियरको टायरमा आगो लागेको (टायर अन फायर) थियो। आगलागीको सम्भावित कारणमा हार्ड ल्यान्डिङ, टायर प्रेसर वा अन्य प्राविधिक कारण हुनसक्ने बताइएको छ। तर विस्तृत अनुसन्धान जारी छ।
सहप्रवक्ता भुलका अनुसार यात्रुहरूलाई आपतकालीन स्लाइडमार्फत सुरक्षित रूपमा बाहिर निकालिएको थियो। उनका अनुसार दुई यात्रुको औंलामा सामान्य चोट लागेको जानकारी एयरलायन्सले विमानस्थललाई दिएको छ।
घटनापछि विमानलाई ग्राउन्डेड गरिएको छ र काठमाडौंबाट उड्ने तयारीमा रहेका २७९ यात्रुलाई होटलमा बस्ने व्यवस्था गरिएको छ। अत्यावश्यक यात्रुलाई अन्य विमानमार्फत गन्तव्यमा पठाउने तयारी भइरहेको छ।
विमान हाल पूर्ण रूपमा ग्राउन्डेड (उडान रोकिएको) अवस्थामा छ र प्राविधिक परीक्षण भइरहेको छ। विमानको मर्मत, मर्मतसम्भार तथा ओभरहोल (एमआरओ) टोलीले त्रिभुवन विमानस्थलमै अनुसन्धान गर्नेछ। साथै प्राधिकरणको फ्लाइट सेफ्टी विभागले पनि विस्तृत जाँच गर्नेछ। ‘हामीले घटनाको विस्तृत प्राविधिक अध्ययन सुरु गरेका छौं,’ सहप्रवक्ता भुलले बताए।
