इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलायन्सको विमानमा अवतरणका क्रममा टायर विस्फोट भएपछि यात्रुहरूको आकस्मिक उद्धार गरिएको छ।
काठमाडौँ — इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलायन्सको विमानमा अवतरणका क्रममा टायर विस्फोट भएपछि यात्रुहरूको आकस्मिक उद्धार गरिएको छ।
प्रारम्भिक जानकारीअनुसार विमानको एउटा टायर अवतरणका क्रममा वा अवतरणलगत्तै विस्फोट भई आगो लागेको थियो। टायर फुटेपछि पांग्राको भागमा, इन्जिन नजिकै आगो र धुवाँ देखिएको विमानस्थल नजिकै रहेका पाइलट बेद उप्रेतीले बताए।
त्यसपछि चालक दल र विमानस्थल प्रशासनले सुरक्षा सतर्कतास्वरूप यात्रुहरूलाई ढोकाबाट नभई आकस्मिक उद्धार (स्लाइड) मार्फत बाहिर निकालेका हुन्।
यात्रुहरूलाई इमर्जेन्सी स्लाइडमार्फत सुरक्षित रूपमा बाहिर निकालिएको थियो। हालसम्म कुनै गम्भीर मानवीय क्षतिको खबर प्राप्त भएको छैन।
विमानस्थलमा रहेका आपत्कालीन उद्धार टोलीले तत्काल घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप प्राविधिक अनुसन्धान सुरु गरिएको छ। टायर किन फुट्यो र आगो कसरी लाग्यो भन्ने विषयमा छानबिन भइरहेको विमानस्थल स्रोतले जनाएको छ।
यस घटनाबारे थप विवरण आउन बाँकी छ।