होल्डिङ सेन्टरका बालबालिका भन्छन्, ‘हाम्रो त स्कुल पनि छुट्यो, साथी पनि छुटे’

होल्डिङ सेन्टरमा राखिएका सुकुमवासी परिवारका बालबालिका आफ्नो पढाइ छुटेपछि चिन्तित छन् ।

वैशाख २७, २०८३

ज्योती श्रेष्ठ

Children at the holding center say, ”We missed school, we missed friends too.”

What you should know

काभ्रे — काठमाडौं उपत्यकाबाहेक काभ्रेको बनेपास्थित नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रलाई पनि होल्डिङ सेन्टर बनाएर सुकुमवासी राखिएको छ । अहिले यहाँ झन्डै १ सय सुकुमवासी राखिएका छन् । जसमा १३ दिने शिशुदेखि ९० वर्षीयासम्मका छन् । २८ जना स्कुले विद्यार्थी छन् ।

सरकारले काठमाडौंका सुकुमवासी बस्तीमा डोजर चलाएपछि ती बस्तीमा रहेका सुकुमवासीलाई विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरमा राखिएको छ । होल्डिङ सेन्टरमा राखिएका सुकुमवासी परिवारका बालबालिका आफ्नो पढाइ छुटेपछि चिन्तित छन् । काठमाडौं उपत्यकाबाहेक काभ्रेको बनेपास्थित नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रलाई पनि होल्डिङ सेन्टर बनाएर सुकुमवासी राखिएको छ ।

अहिले यहाँ झन्डै १ सय सुकुमवासी राखिएका छन् । जसमा १३ दिने शिशुदेखि ९० वर्षीयासम्मका छन् । २८ जना स्कुले  विद्यार्थी छन् । उनीहरूको एउटै चिन्ता छ, ‘स्कुल पनि छुट्यो, साथी पनि छुटे ।’

अपराह्न ४ बजेपछि विद्यालय छुट्टी भएर घर फर्किरहेका विद्यार्थीलाई रोश्नी निरौलाले नियालिरहेकी थिइन् । ‘म पनि स्कुल जान पाएको भए यतिबेला स्कुलबाट घर फर्कंदै गरेको हुन्थें,’ उनले भावुक हुँदै भनिन् ।

आफू बसेकै होल्डिङ सेन्टर बनाइएको बनेपाको बुडोलस्थित रेडक्रसको प्रशिक्षण केन्द्रकै सामुन्नेबाट विद्यार्थीहरू दैनिक ओहोरदोहोर गरेको देख्दा रोश्नीलाई लाग्छ, ‘मचाहिँ अब कहिलेबाट स्कुल जान पाउँला ? पहिलेकै जसरी पढ्न पाइएला कि नपाइएला ?’ उनमा यो अन्यौलता छाएको दुई साता भइसक्यो ।

दुई साताअघि काठमाडौंस्थित मनोहरामा रहेको सुकुमवासी बस्तीमा डोजर चल्यो । डोजरले घर भत्काएपछि बासस्थानसँगै उनको पढाइको अन्यौल छ । ‘घरमा डोजर चलेपछि पहिले हामीलाई बालाजु लगियो, अहिले यहाँ ल्याएको छ,’ नरेफाँटमा रहेको माउन्ट सेभ स्कुलमा कक्षा ५ सम्म पढेकी ९ वर्षीया रोश्नीले थपिन्, ‘नयाँ सेसन सुरू भएदेखि स्कुल पनि जान पाएका छैन, पढाइ छुटेको पनि धेरै दिन भइसक्यो ।’ 

पढाइ मात्र हैन, स्कुले साथीहरूसँगको साथ छुटेकोमा पनि रोश्नीलाई चिन्ता छ । मनोहरा छोडेदेखि त सँगै खेल्ने साथीहरू पनि नभएको उनले बताइन् । रुही गिरी उनको मिल्ने साथी हुन् । रुहीलाई सम्झदै उनी भन्छिन्, ‘हाम्रो बस्तीमा डोजर चलेपछि हामी अहिले टाढा टाढा भएका छौं, अब कहिल्यै भेट्न पाउँदैनौ होला ।’

न किताब/कपी, न झोला, न त स्कुल ड्रेस । स्कुल जाने पनि टुङ्गो छैन । यतिबेला १३ वर्षीय रोहन परियारलाई यही अभावले खाइरहेको छ । नयाँ शैक्षिक सत्र सुरू भएको २ साता हुनै लाग्दासम्म अझै भर्ना हुने टुंगो छैन उनको । कुपन्डोलमा कक्षा ६ सम्म पढेका उनलाई अबको पढाइ कहाँ र कसरी पढ्ने भन्ने चिन्ता छ ।

‘घर भत्काइदिएपछि हामीलाई काठमाडौंको बालाजु लगियो, त्यसपछि बनेपा ल्याइएको छ,’ उनले भने, ‘हामीलाई कहिले कहाँ, कहिले कहाँ लिएर जाँदा हाम्रो पढाइ झन् बिग्रने भयो । जहाँ लगेपनि हामीले पढ्न पाउनुपर्छ, हाम्रो पढाइ छुट्नु भएन ।’ उनले नियमित पढ्न पाउने दिनको आशामा रहेको बताए ।

विद्यालयको गृहकार्य साँझ नपर्दै सक्ने बानी थियो, बन्दिका राइगाईको । त्यसपछि खेल्न निस्किन्थिन् । २ सातायता भने न त उनी विद्यालय जान पाएकी छन्, न साथीहरूसँगै खेल्न । सुकुमवासी बस्तीमा डोजर चलेपछि उनको पढाइसँगै साथी पनि छुटेको छ ।

थापाथलीको सुकुमवासी क्षेत्रमा डोजर चलेपछि स्कुल जान नपाएकोमा राइगाईले चिन्ता व्यक्त गरिन् । ‘स्कुल गएको भए त यतिबेला म ३ क्लासमा हुन्थें,’ उनले भनिन्, ‘नयाँ बुक, कपी हुन्थ्यो । अहिले त स्कुल नै जान पाएको छैन, बुक, कपी कहिले किन्ने ?, कहिलेबाट स्कुल जाने होला ?’

८ वर्षीया बन्दिकालाई स्कुल छुटेको चिन्तासँगै साथीसंगी छुटेकोमा पनि चिन्ता लागेको छ । ‘पहिला त स्कुलमा साथी, घरतिर पनि साथीहरू थिए, यहाँ त भर्खर आको, सबै नयाँ छ, साथीहरू पनि कोही छैनन्,’ उनले भनिन्, ‘स्कुल जान पाएको भए त साथी बनाउन पाइन्थ्यो होला !’

कक्षा २ सम्म काठमाडौंको थापाथलीमा अध्ययन गरेकी मनिका यादवलाई अब कक्षा ३ को पढाई कहाँ पढ्ने भन्ने चिन्ता छ । साथीहरू स्कुल गएको देख्दा आफूले कहिलेदेखि स्कुल जान पाइला भन्ने लागेको छ । उनले बेला–बेलामा आफ्नी आमालाई सोध्ने गर्छिन्, ‘मम्मी म कहिलेदेखि स्कुल जाने ?’

उनको उमेर ९ वर्ष भए पनि उनलाई आफू किन स्कुल जान नपाएको भन्ने थाहा छ । ‘हाम्रो घर सुकुमवासी बस्तीमा थियो, सुकुमवासी हटाउन बिहीबार र शुक्रबार माइकिङ गरेको थियो,’ यादवले भनिन्, ‘अनि शनिबार डोजर ल्याएर हाम्रो घर भत्काइदियो, काठमाडौंमा हामीलाई बस्न नदिएको भएर अहिले यहाँ बसेका छौं ।’

सुकुमवासी बस्तीकै उनको साथी ह्युबरानी कार्की भने परिवारसहित र्कीतिपुरमा गएको उनले बताइन् । ‘ह्युबरानी त स्कुल पनि जान थालिसक्यो रे,’ उनले भनिन्, ‘मेरो त कहाँको स्कुल जाने ? कहिलेबाट जाने ? केही पनि थाहा छैन ।’

स्कुल, साथीभाइ छुट्दा उनलाई जति नरमाइलो लागेको छ, त्यो भन्दा धेरै सुकुमवासी बच्चा भनेर बोलाउँदा लाग्ने रहेछ । ‘हामीलाई धेरैले सुकुमवासी बच्चा भनेर बोलाउनुहुन्छ,’ उनले भनिन्, ‘सुकुमवासी भनेर बोलाउँदाचाहिँ नरमाइलो लाग्छ ।’

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully