पछिलो समय बसाइँ सरेर आउने चराको बासस्थान भने खुम्चिँदै गएको छ। सीमसार क्षेत्र अतिक्रमण, कृषिमा रासायनिक मलको प्रयोग र वन डढेलोलगायतले पन्छी मर्कामा परेका छन् ।
What you should know
कपिलवस्तु — मुलुकका वन क्षेत्र गृष्मकालीन चराका कोकिलकण्ठे बोली र चिरबिराहटले मनोरम बनेका छन् । पन्छीका सुरिला आवाजले वनपाखा गुन्जायमान बनिरहेका छन् । यतिबेला कतिपय चरा वन, घाँसे मैदान र कृषि भूमिमा ओथारो बसेका छन् । कतिलाई बचेरा हुर्काउन भ्याइनभ्याइ छ । यी चरा अनुकूल ठाउँ खोज्दै सयौं माइल पार गरेर यहाँ आइपुगेका हुन् ।
पछिलो समय बसाइँ सरेर यहाँसम्म आउने चराको बासस्थान भने खुम्चिँदै गएका छन् । सीमसार क्षेत्र अतिक्रमण, कृषिमा रासायनिक मलको प्रयोग र वन डढेलोले पन्छी मर्कामा परेका हुन् । यसले चराको दैनिकी, प्रजनन् र जीवनयापनमा चुनौती थपिएको छ । जसले चराको बसाइँसराइ पनि प्रभावित भएको छ ।
चराको सुरक्षित बसाइँसराइबारे सचेतना जगाउन अन्तर्राष्ट्रिय ‘वर्ल्ड माइग्रेट्री बर्ड डे’ मनाउने गरिन्छ । प्रत्येक वर्ष मे र अक्टुबरको दोस्रो शनिबार विश्वभर यो दिवस मनाइन्छ । यस पटक वैशाख २६ मा बसाइँसराइ दिवस परेको हो ।
चरा पर्यटनकालागि उत्कृष्ट गन्तव्य भए पनि पछिल्लो समय जलवायु परिवर्तनले चराको बसाइँसराइ चक्र प्रभावित बनाएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । ‘आहारविहारका लागि एक ठाउँ जानुपर्ने चरा अर्को ठाउँमा पुगिरहेका छन्,’ उनले भने, ‘नयाँ गन्तव्यमा जाँदा चुनौती थपिएको छ । आगन्तुक चरा रैथाने बन्न पुगेका छन् ।’ राम्रो आहारविहार नपाउँदा बचेरा हुर्काउन समस्या भएर चरा संकटमा पर्न थालेको उनले बताए ।
नदी–ताल प्रदूषित हुनु, जलस्रोतमा विषादी प्रयोग, वातावरण प्रदूषण र चोरी सिकारले बसाइँसराइ गरेर आउने चरा प्रभावित बनेका छन् । निर्वाध रूपमा आवागमन गर्ने वातावरण बनाउन आहारविहार, बासस्थान र उडान मार्गको सुरक्षाका लागि विश्वव्यापी रूपमा हातेमालो गर्दै सचेतना अभिवृद्धि गर्न विश्व बसाइँसराइ दिवस मनाइन थालेको चराविद् कृष्णप्रसाद भुषालले बताए । ‘यसले थोरै भए पनि सचेतना गरेको छ,’ उनले भने, ‘त्यसलाई अझ प्रभावकारी बनाउनेतिर लाग्नु पर्छ ।’
नेपालमा वर्षको दुईपटक चरा बसाइँ सरेर आउँछन् । हिउँदमा सिमसार क्षेत्र पानी हाँस र अन्य जलपन्छीले भरिभराउ देखिन्छन् । गर्मीयाममा आफ्नै थातथालोमा फर्किन्छन् । हिउँदे चरा फर्किएपछि वन, बुटयान घासेमैदान र कृषिभूमि मन पराउने चरा आउँछन् । चराले प्रजनन् क्षेत्रबाट चरन क्षेत्रसम्म हरेक वर्ष मौसम अनुसार नियमितरुपमा यात्रा गर्छन् । जसलाई चराको बसाइँसराइ भनिन्छ ।
अनकुल मौसम, सुरक्षित बासस्थान, अहारविहार र प्रजनन्कालागि चरा एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँसरी आउनेजाने गर्छन् । हिउँदमा चखेवाचखेवी, खोया, नकटा, खडखडे, फुर्के, सिन्दुरे, नादुन, सुनजुरे र बेल्चाठुडेलगायत १ सय ५० बढी प्रजातिका चरा बसाइँसराइ गरेर नेपालमा आउँछन् ।
रुस, चीन, मङ्गोलिया, किर्गिस्तानका साथै युरोप, कोरिया र तिब्बतबाट जाडो छल्न नेपालमा हिउँदे आगन्तुक चरा आउँछन् । गृष्ममा स्वर्गचरी, राजचरी, निलपुछ्रे र कटुसटाउके मुरलीचरा, जुरे कोइली, चित्रक र गाजले पिट्टा, रानी चरी र लालचुच्चे ठेउवालगायत ६२ बढी प्रजातिका चरा आउँछन् । वसन्त ऋतुसँगै भारत, श्रीलंका, दक्षिण–पूर्वी एसियाका थाईल्यान्ड, म्यानमार, मलेसिया र ईण्डोनेशियासम्मबाट चरा यहाँ आई पुग्छन् । हिउदे आगन्तुक चरा गर्मीयामको सुरुवातसँगै आफ्नो बासस्थान फर्किसक्दा गृष्म आगन्तुक चरा बसाइँसराइ गर्दै यहाँ आउँछन् ।
सयौं माइल जोखिमपूर्ण यात्रा गर्दै आएका चरा नांगो बिजुलीका तारमा छोइएर मर्ने, उडान मार्गमा हुने अवरोधले समस्यामा पर्ने र जलवायु परिवर्तनले दिशा पछिल्याउन नसकेर गन्तब्यमा पुग्न नसक्दा अहिलेको जल्दोबल्दो चुनौती बनेको डब्लुडब्लुएफ नेपालका देशीय प्रतिनिधि डा. घनश्याम गुरुङले बताए । ‘जलवायु परिर्वतनले बचेरालाई आहाराको समस्या भइरहेको छ,’ उनले भने, ‘यसले गर्दा बचेरा हुकाउन गाहैं भएको छ । जलवायुले प्रजनन् समयनै परिवर्तन हुन थाले पछि अर्को समस्या थपिएको छ ।’
विश्वमा पाइने ११ हजार भन्दा बढी चरा प्रजातिमध्ये करिब ४० प्रतिशत नियमित रुपमा ऋतु अनुसार एक ठाउँबाट अर्को ठाउँ बसाइँसराइ गरिरहन्छन् । बसाइँसराइ गर्ने चरा आफ्नो गन्तव्यसम्म पुग्ने दिशा र बाटो पहिचानकालागि सूर्य तथा ताराहरुको अवस्थिती, नदीलगायतको सहयोग लिएर उड्छन् । चराले बसाइँसराइका बेला प्रयोग गर्ने बाटोलाई उडान मार्ग (फ्लाई वे) भनिन्छ । अहिलेसम्म बिश्वमा नौ वटा यस्ता उडान मार्ग पहिचान गरिएका छन् । नेपाल मध्य एशियाली उडान मार्गमा पर्छ । चराले बसाइँसराइ गर्ने बेला यिनै निश्चित उडानमार्ग हुँदै आवतजावत गर्छन् । नेपालमा बसाइँसराइ गरी आउने चरा भने पछिल्लो समय घट्दै गएका छन् ।
गृष्मयाममा आउने चरा गणना नगरिए पनि हिउँदेयामका चरा घट्दै गएको पाइएको नेपाल पन्छीविद् संघका कार्यकारी निर्देशक तथा राष्ट्रिय चरा गणना संयोजक लक्ष्मण पौड्यालले बताए । सन् २०२५ मा ९४ प्रजातिका ९९ हजार ५६५ पानी चरा गणना भएको र २०२६ मा ८९ प्रजातिका ९० हजार ६८८ चरा गणना भएको उनले बताए ।
मुलुकभरका १८ प्रमुख सिमसार क्षेत्र र त्यस अन्तर्गत पर्ने ७८ साना सिमसार, खोला, नाला र पोखरीमा गणना गरिएको थियो । पानी चरा पाइने मुलुकका प्रमुख ठाउँ जगदीशपुर ताल, कोशी टप्पु, बर्जुताल, चितवन, बाँके र बर्दिया निकुञ्ज र वरपर क्षेत्रमा पनि पानी चराको बसाइँसराइ घटेको छ ।
गृष्म आगन्तुक चरा भने नेपाल आउन निकै मन पराउँछन् । विदेशमा अहिले दिन र रात बराबरी हुने तर नेपालमा अहिले रात भन्दा दिन लामो हुने भएकाले बढी समय आहारविहार गर्न पाउने हुँदा चरा यता आकर्षित हुने चराविद् डीबी चौधरीले बताए । ‘बच्चा कोरलेर हुर्काउन सुरक्षित ठाउँ रोजीरोजी पाउँछन्,’ उनले भने, ‘आहारविहारमा गर्न पनि प्रतिस्पर्धा हुँदैन् ।’ त्यही भएर यहाँ आकर्षित हुने उनले बताए । तर, पछिल्लो समय बासस्थान विनास, वनजंगल अतिक्रमण र प्रदुषणले चराको दैनिकी गाहैं बनाउँदै लगेको छ ।
बसाइँसराइ गर्ने चराका यात्रा निकै रोचक र साहसिक हुन्छन् । कतिपय अवस्थामा चमत्कारिक पनि हुन्छ । परेवा जत्रो शरीर हुने आर्कटिक टर्न चरा संसारकै सबैभन्दा लामो दुरीको यात्रा तय गर्ने प्राणी भएको चराविद् कृष्णप्रसाद भुषालले बताए । यसले हरेक वर्ष करिब ९० हजार किलोमिटर दुरी पार गर्दै उत्तरी ध्रुवबाट दक्षिण धु्रवसम्म बसाइँसराइ गर्ने गरेको उनले बताए । त्यस्तै ग्रेट स्नाइप भनिने चाहा प्रजातिको चरा ९७ किलोमिटर प्रतिघण्टाको गतिमा निरन्तर उड्दै ६ हजार ८ सय किलोमिटर दुरी पार गर्ने उनले बताए । करिब १० दिनसम्म खाना र आराम नगरी उडेर बार टेल गुडवीट १३ हजार किलोमिटर दुरी पार गरी अलास्काबाट न्युजील्याण्डसम्म पुग्ने उनले बताए ।
त्यसैगरी सर्वोच्च शिखर सगरमाथा भन्दामाथि ९ हजार ३७५ मिटरबाट खोया हाँस उडेर नेपालमा हिउँद बिताउन बसाइँ सरेर आउने गरेको अभिलेख गरिएको छ । धेरै उचाइँमा अक्सिजन र तापक्रम अत्यन्त न्यून हुन्छ । अझ जीवजन्तु उड्न निक्कै गाहैं हुन्छ । बढी उचाइँमा श्वासप्रश्वासको समस्या बल्झिन्छ । तर खोया हाँस कसरी त्यत्रो उचाइँमा सजिलै उडेर आउजाउ गर्छन् सबैलाई आश्चर्य र कौतुहल बनाएको डब्लुडब्लुएफ नेपाल प्रोग्राम पाटनरसिप डिपाटमेण्ट हेड राजेन्द्र सुवालले बताए । नेपालमा हिउँदमा उत्तरबाट चराहरु हिमालका बीचमा पर्ने होचा खोचबाट उड्दै नेपालमा बसाइँसराइ गर्छन् ।
गृष्मकालीन आगन्तुक चरा पनि हजारौं किलोमिटर दुरी पार गरी नेपाल भित्रिन्छन् । अफ्रिकी महादेशबाट प्रिमनसुनको हावाको बहाबसगसँगै जुरे कोइली करिब ५ हजार किलोमिटर लामो दुरी पार गर्दै नेपाल भित्रिन्छन् । मानवसँग नजिकको सम्बन्ध राख्ने प्राणीमध्ये एक महत्वपूर्ण प्राणी चरा हुन् । चराहरू मानव जीवन, कृषि र पारिस्थितिक प्रणाली सन्तुलन राख्न निकै महत्वपूर्ण मानिन्छन् । यिनले परागसेचन र बालीनाली हानी नोक्सानी गर्ने कीरा फट्यांग्रा मुसा खाएर नियन्त्रण कृषकको साथीका रुपमा रहेको जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल कार्यालयका देशीय प्रतिनिधि डा. भगवान दाहालले बताए ।
चराले फलफुलका बीउ एक ठाउँबाट अर्को पुर्याएर बनस्पतिको बृद्धि र विकासमा सहयोग गर्छन् । चराले प्रकृतिको सुन्दरता र सन्तुलन कायम राख्न उत्तिकै मद्दत गरेका छन् । चरा पर्यटनको महत्वपूर्ण गन्तब्यका रुपमा रहेको नेपालमा अहिलेसम्म ९ सय ३ प्रजातिका चरा पाइएको अभिलेख छ ।
