सरकारले पूर्वसूचना र कुनै जानकारीबिना विस्थापितलाई एकपछि अर्को गर्दै विभिन्न स्थान सारिरहेको छ ।
What you should know
काठमाडौँ — शान्तिनगर गैरीगाउँस्थित सुकुमवासी बस्तीमा गत १२ वैशाखमा सरकारले डोजर चलायो । घर भत्किएपछि २४ वर्षीया युवती बाआमासँगै माछापोखरीस्थित ‘होल्डिङ सेन्टर’ मा बस्न थालिन् । उनी आफ्नो नियमित काममा पनि गइरहेकी थिइन् । सरकारले ‘होल्डिङ सेन्टर’ का रूपमा तोकेको होटलका सञ्चालकले मंगलबार साँझ अचानक उनीहरूलाई भने, ‘भोलिबाट तपाईंहरूलाई अर्को ठाउँमा सार्ने भनिएको छ । बिहानै तयार भएर बस्नू ।’
यो उर्दी सुन्नासाथ उनीहरू चकित परे । ‘हामीलाई कहाँ लैजाने, किन लैजाने, केही पनि थाहा थिएन । कुनै प्रक्रियाबारे जानकारी नै नदिई सिधै उठ भनेपछि त फेरि अर्को बस्ती उठाए जस्तो महसुस भयो,’ ती युवतीले भनिन् ।
होटल सञ्चालकलाई ‘कहाँ लैजाने ?’ भनेर उनीहरूले सोधे । सञ्चालकले पनि आफूलाई थाहा नभएको बताए । उनीहरूले नजाने अडान लिएपछि प्रहरीले धम्कीको स्वरमा भने, ‘अरू केही थाहा छैन, भोलि ४० वटा टाउको तयार हुनुपर्छ ।’
होटल सञ्चालकलाई ‘कहाँ लैजाने ?’ भनेर उनीहरूले सोधे । सञ्चालकले पनि आफूलाई थाहा नभएको बताए । उनीहरूले नजाने अडान लिएपछि प्रहरीले धम्कीको स्वरमा भने, ‘अरू केही थाहा छैन, भोलि ४० वटा टाउको तयार हुनुपर्छ ।’ती युवतीले कान्तिपुरसँग भनिन्, ‘यो सुनेर हामीलाई झनै डर लाग्यो । मान्छेलाई मान्छे जस्तो होइन, वस्तु जस्तो गन्ती गरेर जहाँ पायो त्यहीँ लैजाने कुराले त्रसित बनायो ।’ बुधबार बिहान साढे ७ बजे सरकारको गाडी आउने भनिएको थियो । तर लैजाने टोली २ बजे मात्र आयो । टोलीमा साधा पोसाकका प्रहरी र सरकारी कर्मचारी थिए । दुई घण्टाजति विवाद भयो । होटलमा बसेका विस्थापितहरूले सोधे, ‘सुरुमा त सबै सुकुमवासीलाई लजमा राख्ने कुरा थियो, अहिले किन हटाउन खोजिएको ?’ कति त रुन नै थाले । केहीले भने, ‘हामी टाढा कसरी जाने ? नानीबाबुहरूको कलेज छ, स्कुल छ, हाम्रो काम छ ।’
बस चढ्ने बेला उनीहरूलाई भक्तपुर लैजाने भनियो । पुगेपछि मात्र थाहा भयो कि उनीहरूलाई नगरकोटस्थित ‘राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान अभिवृद्धि केन्द्र’ लगिएको रहेछ । ‘नगरकोट पुग्दा बेलुकाको ५ बजिसकेको थियो । त्यो दिन हामीले दिउँसोको खाजा पनि खान पाएनौं । बेलुका साढे ८ बजेतिर मात्र त्यहाँका कर्मचारीहरूले खाना बनाइदिनुभयो । बिहान साढे ८ बजे खाएको खानाले राति साढे ८ बजेसम्म धान्नुपर्यो,’ ती युवतीले सुनाइन् ।
अहिले बसिरहेको ठाउँमा सुविधा भए पनि आफूहरूको जीवन बस्ने कोठाले मात्र नचल्ने उनको गुनासो छ । ‘नगरकोटको यस ठाउँबाट मूल सडकमा आउन मात्र एक घण्टा हिँड्नुपर्छ । त्यहाँबाट गाडी पाउन पनि गाह्रो छ । यसले गर्दा दैनिक काममा जानेहरूका लागि त यहाँ बस्नु असम्भव जस्तै भएको छ,’ उनले भनिन् ।
त्यहाँ भएका बालबालिकाको स्कुलको पनि कुनै टुंगो नभएको चिन्ता गर्छिन् उनी । ‘माछापोखरीमा हुँदा पनि कसैले सोध्न आएन, यहाँ त झन् कसले सोध्ने ? अरू ठाउँमा त स्कुल पठाउन थाले भन्छन् । हाम्रा नानीबाबुहरूको भविष्यचाहिँ अन्धकार पार्न खोजिएको हो कि !’ उनको चिन्ता छ । नगरकोट पुर्याइएकाहरूलाई फेरि कहाँ सारिने हो भन्ने चिन्ताले सताइरहेको छ । ‘सरकारले हामीलाई यसरी नै ठाउँ–ठाउँमा झुलाएर, दिक्क बनाएर आफैं छोडेर जाऊन् भन्ने चाहेको हो कि ? काम छुट्यो, पढाइ छुट्यो, हाम्रो सामान्य जीवन पूरै अस्तव्यस्त भयो,’ ती युवतीले भनिन् ।
सरकारले पूर्वसूचना र कुनै जानकारीबिना विस्थापितलाई एकपछि अर्को गर्दै विभिन्न स्थान सारिरहेको छ । थापाथलीबाट विस्थापित भएकी ४९ वर्षीया कुमारी लामाको परिवार पनि बिहीबार काभ्रेको बनेपास्थित रेडक्रस भवन पुग्यो । थापाथलीबाट पहिलो दिन उनीहरूलाई बालाजुको ‘टोकियो टाउन’ होटलमा लगिएको थियो । ‘त्यहाँ राम्रै थियो । समयमा चिया, नास्ता र खाना थियो । तर अचानक हिजो बेलुका हामीलाई त्यहाँबाट सारिने कुरा आयो,’ कुमारीले सुनाइन् ।
सुरुमा त उनलाई ‘तपाईंहरूलाई होइन, अर्को होटलका मान्छेले खानपिनको गुनासो गरेकाले उनीहरूलाई मात्र सार्ने हो’ भनियो तर भोलिपल्टै उनीहरूलाई पनि जान बाध्य पारियो । ‘हामीलाई किन यसरी लान खोजेको ? मेरो बच्चाको पढाइ के हुन्छ ? श्रीमान्को ड्युटी धोबीघाटमा छ । त्यहाँबाट झन् टाढा हुन्छ, हामी जाँदैनौं,’ उनले प्रतिवाद गरिन् । तर होटलमा राख्दा छानबिन गर्न मिल्दैन, उता खुला ठाउँ छ, केटाकेटी खेल्ने ठाउँ छ, सुविधा छ भनियो ।
कहाँ लैजाने भन्ने जानकारी उनीहरूलाई जाने दिनसम्म पनि दिइएको थिएन । अन्ततः बिहीबार बनेपाको रेडक्रस भवन पुर्याइयो । ‘हामीलाई गाडीले ठाउँसम्म पनि पुर्याएन, मेन रोडमै झारिदियो । त्यहाँबाट कैदीलाई जस्तै लाइन लगाएर हिँडाउँदै यहाँ ल्याइयो,’ उनले सुनाइन् ।
कुमारीका अनुसार अहिले त्यहाँ विभिन्न ठाउँबाट ल्याइएका १०४ जना छन् । ‘यहाँको अवस्था देख्दा रुन मन लाग्छ । खाना खानका लागि फेरि डाँडाबाट तल होटल (चण्डी/उग्रचण्डी) तिर झर्नुपर्छ । खाना खान जाँदा र फर्कंदा हामीलाई पूरै भेडा बाख्रालाई जस्तै गरी लस्कर लगाएर लगिन्छ । दिउँसो खाजाको केही व्यवस्था छैन,’ उनले भनिन् । त्यहाँको चिसो वातावरणले कुमारीको सानो नाति बिरामी परेका छन् ।
खाना खान जाँदा र फर्कंदा हामीलाई पूरै भेडा बाख्रालाई जस्तै गरी लस्कर लगाएर लगिन्छ । दिउँसो खाजाको केही व्यवस्था छैन,’ उनले भनिन् । त्यहाँको चिसो वातावरणले कुमारीको सानो नाति बिरामी परेका छन् ।आफूहरूलाई एकपछि अर्को गर्दै ठाउँ सार्दा पीडा भइरहेको कुमारीले सुनाइन् । ‘हाम्रो त रोजगार नै छुट्ने डर भइसक्यो । यहाँबाट काममा जान पनि भ्याइँदैन,’ उनले भनिन्, ‘त्यसैले आज बिहानै पनि ७–८ जना मान्छे त दिक्क भएर यहाँबाट फर्किए ।’
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जन आफूहरूले विस्थापितहरूलाई जहाँ लगे पनि पूर्वजानकारी दिने गरेको बताउँछन् । ‘हामीले सबैलाई जानकारी गराएरै लैजाऔं भन्ने योजना बनाएका थियौं । कहाँ लैजान लागिएको हो भनेर सोधेको भए हामीले तत्कालै भनिदिने थियौं,’ उनले भने । विस्थापितहरूले पटकपटक जानकारी लिन खोज्दा पनि नभनेको गुनासो गरेको सुनाएपछि उनले जवाफ दिए, ‘त्यसो भए मिसकम्युनिकेसन भयो । अबदेखि जानकारी गराउन लगाउँला ।’
क्वार्टर तयार गर्न समय लागेकाले सुरुमा विस्थापितलाई होटलमा व्यवस्थापन गरिएको महर्जनको भनाइ छ । ‘क्वार्टरहरू तयार भइसकेपछि उहाँहरूलाई होटलबाट त्यहाँ सार्न खोजिएको हो । हामीले इचंगुमा घरहरू बनाएका छौं र त्यहाँ जति अट्छन्, त्यहीं लगेर राख्ने हाम्रो योजना छ,’ उनले भने, ‘माथिबाट जुन–जुन ठाउँमा लैजान निर्देशन आउँछ, हामीले त्यतै व्यवस्थापन गर्ने हो ।’
उनी विस्थापितहरूलाई कुनै अप्ठ्यारो ठाउँमा लगेर राखिएको नभई होटलभन्दा पनि राम्रो र व्यवस्थित ठाउँमा सारिएको दाबी गर्छन् । विस्थापितहरू भने आफूहरूले पर्याप्त खाना पनि नपाएको गुनासो गर्छन् । महर्जन थप्छन्, ‘सुकुमवासी भनेर हेप्ने वा झर्को मान्ने अवस्था नहोस् भनेर पनि उहाँहरूलाई एकदमै सौहार्दपूर्ण र सम्मानजनक रूपमा बस्न मिल्ने ठाउँमा लगेर राखेका छौं ।’ कतिपयको रोजगारी र बालबालिकाको शिक्षाको विषयमा पनि कान्तिपुरले जिज्ञासा राख्दा उनले यसबारे बुझ्न विशेष टोली परिचालन गरिएको बताए ।
